
झापा । नेपाल प्रहरीले झापाको विर्तामोड–५ बाट आइतबार साँझ भारतीय नम्बर प्लेटका तीनवटा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको खबर सार्वजनिक भएसँगै चौतर्फि चर्चा र भ्रम फैलिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कन्टेनरहरूमा बिना भन्सार अवैध रूपमा करोडौं मूल्य बराबरका सामान नेपाल भित्र्याएको आशंकामा नियन्त्रण्मा लिएको थियो, तर पछि ती कन्टेनरहरू नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया पुरा गरेर भन्सार महशुल तिरेरै नेपाल प्रवेश गरेको बुझिएको छ ।
आइतवार झापाको बिर्तामोडबाट प्रहरीले कृषि औजार बोकेका तीनवटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको थियो ।
कन्टेनरहरूमा बिना भन्सार अवैध रूपमा करोडौं मूल्य बराबरका सामान नेपाल भित्र्याइएको आशंकामा नियन्त्रणमा लिएको थियो । यद्यपी पछि अनुसन्धानको क्रममा ती कन्टेनरहरू नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया अनुसार भन्सार महशुल तिरेरै नेपाल प्रवेश गरेको पुष्टि भएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको कन्टेनरमा कन्काई नगरपालिका–५ मा रहेको नोमा कृषि फर्मले चीनको वुहान शहरबाट ट्रयाक कम्बाइन हार्भेस्टर मेसिन आयात गरेको थियो । एलसी अर्थात लेटर अफ क्रेडिट प्रणालीमार्फत लक्ष्मी सनराइज बैंक, हात्तीसार काठमाडौं शाखाबाट भुक्तानी गरिएको पत्ता लागेको छ । कोलकाताको हल्दियापोर्ट हुँदै आएको सो मेसिन शुक्रबार मेची भन्सार कार्यालयमार्फत नेपाल प्रवेश गरेको थियोे ।
अंकिता ट्रेडर्स मार्फत भित्र्याइएकाक ती कन्टेनरहरूमा हार्भेस्टर मेसिन रहेका छन् । जसमा १०२ एचपी इञ्जिन, रबर ट्रयाक, एयर कन्डिसन, क्याबिन लगायतका आधुनिक उपकरणहरू समावेश छन् ।
भन्सार प्रज्ञापनपत्र अनुसार ती मेसिनहरूको कुलमूल्य १ लाख ४२ हजार ९ सय ९२ अमेरिकी डलर, अर्थात् नेपाली मुद्रा अनुसार २ करोड ९ लाख ५९ हजार ९८२ रुपैयाँ १० पैसा बराबर पर्न आउँछ ।
नेपाल सरकारले कृषिजन्य उपकरणमा भन्सार महशुल छुट दिएको छ । जस अनुसार १% मात्र भन्सार महशुल बुझाएर कृषिजन्य सामाग्रीहरु खरिद गर्न सकिने प्रावधान रहेको छ ।
सोही अनुसार उक्त मेसिन खरिद गरेको नोमा कृषिफर्मले २ लाख १४ हजार ६६५ रुपैयाँ भन्सार बुझाइएको उल्लेख गरिएको छ । भन्सार एजेन्ट अंकिता ट्रेडर्सका सञ्चालक कृष्णकान्त खनियाले आफू २६ वर्षदेखि यो पेशामा रहेपनि यस्तो घटना पहिलो पटक भोग्नुपरेको बताउँछन् ।
मेचीभन्सार कार्यालयका सूचना अधिकारी इश्वर कुमार हुमागाईंले घटनाबारे स्पष्टीकरण दिँदै विना भन्सार सामान भित्रिन सम्भव नरहेको बताएका छन् । साथै भन्सारसँग समन्वय नगरी हतारमा प्रहरीले समाचार सार्वजनिक गरिनु भन्सार प्रणालीप्रति अविश्वास पैदा गराउने कार्य भएको टिप्पणी गरे । उनका अनुसार उक्त ट्रकहरु सम्पुर्ण प्रक्रिया पूरा गरेर मात्रै नेपाल प्रवेश गरेको हो ।
गृहमन्त्री रमेश लेखकले केही दिनअघि कोशी प्रदेशका प्रमुख सुरक्षा अधिकारीहरूलाई अवैध तस्करी रोक्न निर्देशन दिएका थिए ।
सोही सन्दर्भमा प्रहरीले ‘कम भन्सार तिरेर महँगो सामान भित्र्याइएको भन्ने सूचना पाएपछि विर्तामोडबाट ती कन्टेनरहरू नियन्त्रणमा लिएको जनाएको छ । तर, प्रारम्भिक तहमा सूचना पुष्टि नगरी गरिएको कारबाहीले प्रहरी प्रशासनकै कमजोरी उजागर भएको छ । प्रहरीले विज्ञप्ति निकालेर ती कन्टेनरहरूमा ३ करोड ६१ लाख बराबरको अवैध सामान रहेको दाबी गर्दै सञ्चारमाध्यममार्फत् समाचार समेत सार्वजनिक गरेको थियो ।
जुन पछि वास्तविकतासँग मेल नखाएपछि प्रहरीको आलोचना भएको छ भने अहिले प्रहरीले आफ्नो काम सकाएर राजस्वको जिम्मा लगाएको छ ।
प्रहरीको यो घटनाले प्रहरीको काम गराई र शैली प्रति आम सर्वसाधारणमा आशंका उत्पन्न भएको छ । त्यसैले प्रहरीले आगामी दिनमा आफ्नो सूचनाको तथ्य प्रमाणित भएपछि मात्रै एक्सनमा उत्रिनु आवश्यक छ ।