News 24 Television
बाराको प्रसौनी गाउँपालिकामा जनप्रतिनिधिसँग स्थानीय मख्ख 

बारा । घरै अगाडिको सरकारको रुपमा रहेको स्थानीय पालिका र नागरिकबीच प्रत्यक्ष छलफल र बहस गराउने उद्देश्यले न्यूज २४ टेलिभिजनले शुरु गरेको सिधा कुरा मेयरसँगको पहिलो संस्करणको दोस्रो श्रृंखला बाराको प्रसौनी गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग स्थानीयले निर्धक्कसँग आफ्ना विचार र पालिकाभित्र भइरहेका विकास निर्माणप्रतिको असन्तुष्टि र स्याबासी एकसाथ व्यक्त गरेका छन् । 

न्युज २४ टेलिभिजनले सुरु गरेको ‘सीधा कुरा मेयरसँग’ को पहिलो संस्करणको सुरुवात आर्थिक नगरी वीरगञ्ज महानगरपालिकाबाट सुरु भएको छ । यो कार्यक्रम दोस्रो श्रृंखला बुधवार बाराको प्रसौनी गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रमको संचालन गण्डकी व्यूरो प्रमुख सुमन ढुङ्गाना र बारास्थित न्युज २४ संवाददाता इन्दिप कोइरालाले थिए ।  

प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले निर्वाचन अगावै ३१ वटा घोषणापत्र जारी गरेका थिए । अध्यक्षसँग सीधा कुरा राख्दै स्थानीयले चुनावताका जनप्रतिनीधीले गरेका बाचा अनुरुप नै विकाश निर्माणको काम भएको भन्दै प्रसंशा गरेका छन् । निर्वाचनताका गरेका बाचा र चुनावी एजेण्डामात्र नभएर स्थानीय सरकारबाट जनताले गरेका अपेक्षाका विषयमा स्थानीयले ध्यानाकर्षण गराएका छन् । 

कार्यक्रममा सहभागीहरुले ९० प्रतिशत कृषक रहेको गाउँपालिकामा अहिले किसानले पालिकाबाट पाएको सुबिधा पहिलेको भन्दा आकाश जमिनको फरक भएको बताएका छन् । तर अझैपनि गाउँपालिकामा कृषिमा बजेट कम भएको भन्दै प्रदेश र संघसग बजेटको दायरा बढाउन माग गरेका छन् । निर्वाचनताका अध्यक्ष जैसवालले पालिकाबाट एक चिकित्सक र एक इन्जिनियर पढ्न चाहने जेहेन्दार बिद्यार्थीलाई पालिकाको अनुदानमा पढाउने बाचा के भयो भनेर स्मरण गराएका थिए । 

बिगतको भन्दा हालका पालिकामा रहेका जनप्रतिनिधिहरुले जनताको मन जित्ने कार्य गरेको सहभागीहरुको भनाइ छ । स्थानीयको जवाफ दिँदै अध्यक्ष जैसवालले चुनावताका गरेका प्रतिबद्धता आफुलाइ स्मरण रहेको बताउदै आगामी बजेटमा बजेट सुनिस्चित गरी र बाँकी रहेका र अधुरा काम पुरा गर्ने प्रतिवद्धता गरेका छन् । 

आफु पालिकाको नेतृत्वमा आउने बेला धेरै बेरुजु रहेपनि अहिले आएर बेरुजु कम भएको अध्यक्ष जैसवालले जानकारी गराए । तर अहिले आएर सबैको प्रयास र सहयोगले प्रसौनी गाउँपालिका कम बेरुजुमा मधेस प्रदेशमा दोश्रो र बारामा पहिलो बनाउन सफल भएको उनले बताए । 

अध्यक्ष जैसवालले अतिक्रमणमा परेको पोखरीलाई पालिकाको स्वामित्वमा ल्याइ सौन्दर्यकरण गरि पालिकाको आर्थिकमा वृद्धि गर्ने कार्य गरेको बताए । यस्तै विभिन्न पालिकामा जनप्रतिनिधि र कर्मचारीबीच हुने विवादका कारण पालिकाको कार्यमा असर पर्ने गरेको तर प्रसौनी गाउँपालिकामा भने त्यस्तो समस्या नरहेको प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादले बताए । प्रसौनीमा हरेक काम गर्दा  जनप्रतिनिधि र कर्मचारी बसी  विस्तृत छलफल गरेर मात्रै योजना अगाडि बढाउने गरेको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update