News 24 Television
मापसे गरेर प्याराग्लाडिङ उडाउन ठीक्क परेका पाइलट प्रहरीको फन्दामा 

कास्की । नेपालका सडकमा ट्राफिक प्रहरीले सवारी चालकहरूको मादक पदार्थ वा लागु पदार्थ सेवनको चेकिङ गर्ने दृश्य सामान्यजस्तै भइसकेको छ । तर, पोखरामा भने यसपटक केही फरक दृश्य देखियो । ट्राफिक प्रहरीकै शैलीमा प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको पनि मादक पदार्थ वा लागु पदार्थ सेवन सम्बन्धी परीक्षण गरेको छ । परीक्षणको क्रममा एक जना पाइलटले मादक पदार्थ तथा लागु पदार्थ दुवै सेवन गरेको पाइएको छ ।

पोखरामा साहसिक खेलकुद अन्तर्गत सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ सुरक्षाका लागि प्रहरीले सक्रियता  देखाएको छ । यही क्रममा प्रहरी टोली पाइलटहरूले मादक पदार्थ (मापसे) वा लागुपदार्थ (लापसे) सेवन गरेका छन् कि छैनन् भन्ने जाँच गर्न सराङकोट पुगेको हो । पर्यटक लिएर उड्न तयारी अवस्थामा रहेका पाइलटहरूलाई प्रहरीले रोकेर परीक्षण सुरु गरेको थियो । 

जाँचको क्रममा एक जना पाइलटले मापसे र लापसे दुवै सेवन गरेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीको नेतृत्वमा नेपाल हवाई खेलकुद संस्था (ना) का पदाधिकारीसहितको टोली पोखरा–१८, सराङकोटस्थित तोरीपानी पुगेको थियो । सोही स्थानमा गरिएको परीक्षणका क्रममा पोखरा–२४ निवासी विशाल बहादुर क्षेत्री मापसे र लापसे सेवन गरेको अवस्थामा उडानको तयारीमा रहेको भेटिए । परीक्षणमा पोजिटिभ देखिएपछि क्षेत्रीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।

पोखराको पर्यटनको आकर्षणको रुपमा रहेको प्याराग्लाईडिङ पाईलटहरुले मापसे तथा लापसे गरेको भन्ने गोप्य सूचनाको आधारमा सोमबार अनुगमन गरिएको हो । उडानका लागि गएका ३९ जना पाईलटहरुको मापसे र लापसे परिक्षण गरिएको थियो । ३९ जनामध्येबाट शंकास्पद १४ जनाको लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गरिएको थियो  । 

प्याराग्लाइडिङ उडान आफैँमा एक साहसिक उडान हो । यसलाई सुरक्षित र मर्यादित बनाउन नानगरिक उड्डयन प्राधिकरणले समेत बेलाबखत पाइलटको अवस्था चेक गर्ने गरेको छ । २५ वर्ष यता टेण्डम उडानमा दुइवटा दुर्घटना भएका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) ले प्याराग्लाइडिङको व्यवस्थापन र व्यवसायीक उडान संचालनका लागि नागरिक उड्डयन प्राधिकरणले जिम्मा दिएको छ । पछिल्लो समय पर्यटक र स्वयं पाइलटको समेत सुरक्षालाई ध्यान दिदै सुरक्षाका उपाय अपनाउदै आइएको नेपाल हवाई खेलकुद संस्था नाको दावी छ । 

पोखरामा लाईसेन्स लिएका चार सय बढी पाईलटहरु रहेपनि हाल दुई सय ७० जनाले नियमित उडान भर्ने गरेका छन् । मापसे र लापसे गरेर उडान गर्दा  हुन सक्ने सम्भावित दुर्घटना निकै भयावहक हुन सक्छ । पर्यटकको आकर्षण रहेको प्याराग्लाइडिङ असुरक्षित हुदाँ यसले पोखराको पर्यटकीय गतिबिधिमा समेत गम्भिर असर गर्न सक्छ । त्यसैले आफनो पेशाप्रति पाईलटहरुलाई अझ जिम्मेबार र सुरक्षित बन्न जिम्मेवार निकायले नियमनलाई कडाई गर्नु आवश्यक छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update