
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै बुधबार विहान विभत्स हत्याको घटनाले स्तब्ध बनायो । एकाविहानै ४ बजेको समयमा आमासहित २ छोरीको हत्या भएको थियो । हत्याका अभियुक्त हुन्, बुटवलका सुजन कोइराला । सुजनले आफ्नो पूर्व पत्नी र दुई छोरीको विभत्स हत्याको घटनाले सन्नाटा छाएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन स्कूलनजिकै मिलिजुली पथ छ । सधैँ व्यस्त रहने होराइजन चोकको उत्तरतर्फ पर्छ, मिलिजुली पथ । त्यहाँबाट सय मिटरअघि बढेपछि नीलो टिनको छानोसहितको एक तले ‘सुजन निवास’ देखिन्छ ।घरमा बाहिरै देखिने गरी हस्तकलामा सामग्री बिक्रीमा राखिएका छन् ।
घरमा एक वर्षदेखि सुजन कोइराला बस्दै आएका थिए । बुधबार बिहानसम्म मिलिजुली टोल शान्त थियो । घाम चर्कँदै जाँदा माहोल एकाएक अशान्त भयो । साढे ७ बजेतिर घरमा प्रहरी पुगेपछि स्थानीय चकित परे । अनि केही छिनमै सुजनले पूर्व पत्नी र उनका २ छोरीको हत्या गरेको सार्वजनिक भयो, त्यो पनि आफ्नै घरमा बोलाएर ।
यो घटनाले टोलमा सन्नाटा छायो । पाल्पाको तानसेनमा स्वास्थ्यकर्मीको रूपमा कार्यरत पूर्वी नवलपरासीको कावासोती घर भएकी सुजनकी पूर्व पत्नी ३३ वर्षीया दीपा बस्याल तथा बस्यालका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीलाई सुजनले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
अभियुक्तसुजनको विगत पनि आपराधिक
सुजनको विगत पनि आपराधिक छ । उनी आफ्नै दाजुको हत्या गरी जेलसमेत बसेकाथिए । पाल्पाको तानसेन न.पा.११, बाघखोरमा २०६९ पौष १३ गते आफ्नै दाजु सुदिपको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका थिए । आफ्नै दाइको हत्या गरेका उनले २०७८ असोज ३ गते संविधान दिवसमा आममाफी पाएर कारागारबाट छुटेका थिए ।
ब्यक्ति हत्या दोषी ठहर गर्दै सर्वोच्च अदातले सुजनलाई १६ वर्ष कैदको सजायको फैसला सुनाएको थियो । आम माफी पाएर नछुटेको भए उनी २०८५ पौष २६ गते सम्म कैद सजाए भोग्नु पर्दथ्यो ।
आममाफी पाएर छुटेका सुजनले फेरि तीन जनाको विभत्स हत्या गरेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । दीपा र उनका छोरीहरूको हत्यापछि सुजनले बिहान घरबाहिर छिमेकीसँग गफगाफ पनि गरेका थिए । सरकारले आम माफी दिएर उन्मुक्ति दिएका कैदीले पुन उस्तै घटना दोहोराएको भन्दै स्थानियहरु चिन्तित बनेका छन् ।
१० वर्षअघि प्रेम विवाह र डिभोर्स, जेलबाट छुटेपछि पुनः सम्बन्ध र हत्या
सुजन र दीपाको १०वर्षअघि प्रेम विवाह भएको थियो । विवाह गरेको ४ महिनामै सुजन आफ्नै सहोदर दाइ सुधीरको हत्या गरी जेल चलान भएपछि दीपा टाढिइन् । दीपाले सुजनसँग सम्बन्धविच्छेद नै गरेर कावासोतीका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन् ।हत्या गरिएका दुई छोरी हाल यूएईमा कार्यरत ढकाल र दीपा दम्पतीका हुन् । सुजनले जेलमा बसेर हस्तकलाका सामग्री बनाउने गरेका थिए ।
राम्रो आचरण देखाएको भनेर गणतन्त्र दिवसमा उनी राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए । प्रहरीका अनुसार जेलबाट छुटेपछि उनले आफूले बनाएका हस्तकलाका सामग्री घरमै बिक्री गर्न थालेका थिए । टोलछिमेकमा पनि राम्रो व्यवहार देखाउँथे। डिभोर्स गरेर अर्कैसँग बिहेसमेत गरिसकेकी दीपा फेरि किन सुजनको घर गइन् भन्ने खुलेको छैन ।उनीहरू फेरि कसरी नजिकिए र सुजनले दीपालाई कसरी आफ्नो घरमा बोलाए भन्नेबारे अनुसन्धान भैरहेकोे छ ।
हत्याको अघिल्लो दिन गजेडी ताल र रेष्टुरेण्टमा गएको भेटियो
अभियुक्तसँगको बयान अनुसार दिपा दुई छोरी लिएर मंगलबार बेलुका सुजनको घरमा आएको खुलेको छ । सुजन जेलबाट निस्किएपछि विगत १ वर्ष लामो समयदेखि सम्बन्धमा रहेको बयान दिएका छन् । मँगलबार दिउँसो पनि दिपा र सुजन रुपन्देहीकै दानापुर तालमा घुम्न गएर आएका थिए । मँगलबार साँझ आफ्नै घरमा राखेका सुजनले बुधबार विहान दिपा घरबाट निस्किन नमानेपछि हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा दिपाको टाउकोमा गहिरो चोट हुनुका साथै घाटी रेटिएको अवस्थामा भेटिएकाले पहिले ह्याम्मरले टाउकामा हानेपछि घाटी रेटिे हत्या गरिएको प्रहरीको अनुमान छ । यसैगरी घटना सार्वजनिक हुने भएपछि अभियुक्तले दुई छोरीहरुको पनि पालैपालो घाँटीमा छुरा रेटेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।सुजन र दीपा विच पछिल्लो एक वर्षदेखी हिमचिम बढ्दै गएको थियो ।
दिपाकाश्रीमान शंकर ढकाल विगत केही वर्षदेखि बैदेशिक रोजगारीका लागि दुवईमा छन् । पछिल्लो श्रीमान् विदेश हुँदा सुजन र दिपाबीच पुनः सम्बन्ध जोडिएको प्रहरीको आशंका छ । दीपा केही समयदेखी बारम्बार सुजनको घरमा आउने गरेकी थिइन् । दिपा आफ्नो भान्जीको विवाहका लागि एक दिन अगाडिनै बुटवल आएकी थिइन । तर, केही समय अघिदेखि बेलाबेला एकजना महिला मास्क लगाएर सुजनको घरमा आउने गरेको छिमेकीहरूले बताएका छन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।