News 24 Television
हेटौंडा उपमहानगरबारे नगरवासीका प्रश्न, मेयरले दिइन् जवाफ

मकवानपुर । स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले ‘सीधा कुरा मेयरसँग’ कार्यक्रमको पहिलो संस्करणको पाँचौ श्रंखला बुधबार हेटौंडामा सम्पन्न गरेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको कार्यक्रममा स्थानीयहरुले नगरको समृद्धिको आधारमाथि प्रश्न गरेका छन् । 

न्यूज २४ टेलिभिजनले स्थानीय सरकारलाई थप जिम्मेवार र जवाफदेही बनाउने अभियान जारी राखेको छ । यसका लागि सीधा कुरा मेयरसँग कार्यक्रम सञ्चाल गरिदै आएको छ । यसैक्रममा बुधबार हेटौंडा उपमहानगरपालिकामा समेत सीधा कुरा मेयरसँग कार्यक्रम सम्पन्न गरिएको छ । मकवानपुर जिल्लामा रहेका १० वटा स्थानीय सरकारमध्ये हेटौंडा एकमात्रै उपमहानगरपालिका हो । संघीय राजधानी काठमाडौंको पनि राजधानी रहेको बागमती प्रदेशको राजधानी अवस्थित हेटौंडा उपमहानगरपालिकामा संघीयता पछि के कस्ता विकास निर्माणका कार्य सम्पन्न भए ? 

आफूहरु निर्वाचनमा होमिदा अहिलेका जनप्रतिनिधिले गरेका प्रतिवद्धताहरु कति पूरा भए ? कति अधुरा छन् ? लगाएतका बिषयमा स्थानीयले आवाज उठाएका छन् । कार्यक्रममा स्थानीयहरुले यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायको हितका लागि के गरे ? बालमैत्री घोषणा भएको स्थानीय तहमा बालमैत्री वातावरण किन बन्न सकेन ? लगाएतका विषयमा मेयरसंग सिधा प्रश्न गरेका छन् । 

त्यसोत, उपमहानगरबाट हालसम्म भएका कार्यहरु प्रति नागरिकहरु सन्तुष्ट रहेको आवाजहरु पनि राम्रै सुनिएका छन् । नगरभित्र लघु उद्यमी, किसान तथा पशुपालक किसानहरुलाई नगरले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा प्रांगारिक मल उत्पादनमा सघाउ पुर्याउन पर्ने, कोल्डस्टोर तथा बजारीकरणमा सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।  

नगरवासीका गुनासो र सुझाव ग्रहण गर्दै हेटौंडाकी मेयर मीना कुमारी लामाले नगरको समग्र विकासको लागि हेटौंडा उपमहानगरपालिकाले सबै क्षेत्रमा समान ढंगबाट काम गरिएको दाबी गरिन् । 

यता, नगरका उपमेयर राजेश बानियाले न्यायीक समितिबाट निष्पक्ष ढंगबाट न्याय दिइने कार्य गरिदैं आएको बताए । आफूहरु निर्वाचित भएर आएको तीन बर्षको अवधिमा रहेक समय नागरिकको हितमा खर्च गरिएको उनको भनाइ  छ ।  

नगरका प्रमुख प्रशाशकीय अधिकृत भरत गौतमले नगरपालिकामा रहेका नगर प्रमुख, उपप्रमुख देखि सबै कर्मचारीहरुमा एकरुपता रहेका कारण कार्यसम्पादनमा कुनै असहजता खेप्न नपरेको बताए । जसले नगरको कार्यसम्पादनमा ढिलासुस्तीको सामना गर्न नपरेको दाबी गरे । 

कार्यक्रममा विभिन्न पेशा तथा व्यवसामा संलग्न व्यक्तिहरुले नगरपालिका भित्र भइरहेको विविध गतिविधिप्रति चासो राख्दै जिज्ञासा राखेका थिए भने, ति जिज्ञासाको जनप्रतिनिधिले जवाफ दिएका  छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update