
रुपन्देही । भौगोलिक हिसावले सानो तर विकासका हिसावले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका मुलुकमै अग्रणी छ । २०७९ को निर्वाचनपछि पालिकामा जनप्रतिनिधि आइसकेपछि प्रविधिमैत्री, हरियाली नगर, छाडा चौपाया व्यवस्थापन, पूर्वाधार विकास लगायतका क्षेत्रमा केही सकारात्मक काम भइरहेका छन् ।
न्यूज २४ टेलिभिजनले भैरहवामा आयोजना गरेको सिधाकुरा मेयरसंगको बहस कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले दीर्घकालीन योजना बनाएर नगरपालिकाले काम गरिरहेको जिकिर गरेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले नगरबासीको भावना अनुसार पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सुशासनका क्षेत्रमा काम भइरहेको जनाएका छन् । न्यूज २४ टेलिभिजनले भैरहवामा आयोजना गरेको सिधाकुरा मेयरसंगको बहस कार्यक्रममा उनीहरुले दीर्घकालीन योजना बनाएर नगरपालिकाले काम गरिरहेको बताए ।
नगर प्रमुख इश्तियाक अहमद खाँले नगरलाई अधिकतम प्रबिधिमैत्री बनाउने प्रयास भएको बताए । त्यस्तै राजश्व भुत्तानी अनलाइनमार्फत गराइएको छ भने नगरका मुख्य चोकहरुमा फ्रि वाईफाई जडान, मोबाइल एप निर्माण गरी फोहोर संकलन, नगरको सुरक्षा एवं दुर्घटना न्युनीकरणका लागि अटोमेटिक नम्वर प्लेट रेकर्डर सिस्टम तथा नगरका बिभिन्न भागहरुमा सिसिटीभी क्यामरा जडान गरिएको जानकारी पनि नगरप्रमुख अहमद खाँले दिए ।
उज्यालो सहरका लागि स्मार्ट लाइट तथा सडक बत्ती जडान, नगरको नियमित सरसफाई र बृक्षरोपण, विद्यालयमा डिजिटल कक्षा निर्माणका कामहरु पनि भएको उनले बताए । सिद्धार्थनगरको दीर्घकालीन योजना अनुसार डण्डा र घाघरा कोरिडोरलाई मूर्तरुप दिने गरी काम भइरहेको उल्लेख गर्दै उनले सिद्धार्थनगर पर्यटकीय सहर भएकाले लुम्बिनीलाई केन्द्रमा राखेर संघ र प्रदेश सरकारलाई प्रबद्र्धनात्मक कार्यक्रम गर्न सुझाव दिए ।
नगर उपप्रमुख उमा अधिकारीले बिपत व्यवस्थापनतर्फ खानेपानीका पाइपहरु भएका स्थानमा आवश्यकता अनुसार फायर हाइड्रेन्टहरु जडान, मेयर आवास कार्यक्रम चलाई विपन्नलाई घर बनाइएको, छाडा चौपाया व्यवस्थापन, बेलहियामा रहेको अन्तर्राष्ट्रिय नाकामा आकर्षक गेट निर्माण भएको बताइन् ।
यही कारण पनि सिद्धार्थ नगरपालिकाले नेपाल नगरपालिका संघले तयार गरेको ५० वटा सूचकांकहरुमा नेपालकै सबैभन्दा धेरै अंक प्राप्त गरी प्रथम स्थान हासिल गरी सम्मानित भएको उपप्रमुख अधिकारीको भनाइ छ । फोहोर व्यवस्थापनमा दण्ड जरिवाना, फराकिला सडक, पूर्वाधारमा विकास, अटो–टेम्पो व्यवस्थापन, बजार अनुगमन प्रभावकारी गराइएको उनले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत जनक थापाले अटोभिलेज व्यवस्थापन, फुटपाथ र पार्किङ व्यवस्थापन गर्न लागिएको बताए । जनप्रतिनिबीच सन्तुलन कायम गरी न्युन आम्दानीबीच विकास र सुशासन अगाडि बढाइएको, नगरलाई शान्त, सभ्य, सुन्दर, स्वच्छ, र समृद्ध पर्यटकीय बुद्ध नगरीका रूपमा विकसित गर्न लागि परेको उनले बताए ।
यस्तै, फोहोर व्यवस्थापन, शहरी सुद्धिकरण तथा सबै वडाहरूमा समानुपातिक विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन क्षेत्रको समुचित विकास र बेलहिया नाका थप सुदृढ गरिएको थापाको भनाइ छ । उनले करको दर नभई दायरा बढाएको जनाउँदै सुशासन र ढिलासुस्तीलाई शून्यमा झार्ने गरी काम गरिरहेको बताए ।
भौतिक पूर्वाधार विकास, फराकिला सडक, मुख्य सडक हरियाली, मुलुककै दोस्रो ठूलो भन्सार नाका, मुलुककै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, स्तरीय होटल, निर्धाणाधीन आईसीपी, मुलुकमै सबैभन्दा बढी स्थलमार्गी पर्यटक भित्रिने बेलहिया नाका, गल्लाभण्डार, ठूला औद्योगिक घरनाका व्यवसायीको बसोबास भएकाले सिद्धार्थनगर धेरैको नजरमा पर्छ । त्यसैले पनि यहाँको समुचित र व्यवस्थित विकासमा सबैको अपेक्षा छ ।