News 24 Television
आधारभूत सुविधाबाटै बञ्चित मोहन्याल, पालिका केन्द्रमै बल्ल पुग्यो विद्युत

कैलाली । स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने अभिप्रायले न्यूज २४ टेलिभिजनले देशभरका स्थानीय पालिकामा शुरु गरेको ‘सीधा कुरा मेयरसँग’ कार्यक्रम जारी छ । सो कार्यक्रम सुदुरपश्चिम प्रदेशको सुगम जिल्ला कैलालीकोे दुर्गम गाउँपालिका मोहन्यालका स्थानीयले जनप्रतिनिधि र सरोकारवालासंग गुनासो प्रत्यक्ष राखेका छन् । 

मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत दुर्गम गाउँपालिका भन्दा फरक पर्दैन । कैलालीलाई सुविधा सम्पन्न जिल्लाको रुपमा चिनिए पनि मोहन्याल गाउँपालिका एउटा यस्तो गाउपलिका हो जो अति विकट स्थानमा रहेको दुर्गम गाउँपालिका पनि हो ।

यो गाउँपालिकाको सिमाना पूर्वमा सुर्खेत, पश्चिममा चुरे गाउँपालिका, उत्तरमा डोटीसंग जोडिएको छ । शिक्षा, स्वास्थ्य, यातायात लगायत विकासका पूर्वाधारहरुको पर्याप्त संरचना नभई सकेको यस पालिकामा २०८२ साल जेष्ठ महिना २३ गते मात्रै कार्यालयमा विद्युत पुगेको छ । दुर्गम गाउँ बस्तीलाई सुगम बनाउने भनेकै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हुन् । यी तीन वटै सुविधाबाट बञ्चित मोहन्यालबासीले वर्षौँदेखि कष्टकर जीवन विताइरहेका छन् ।  

तराईँदेखि गाउँपालिकाको सदरमुकाम खिमडी जोड्ने सडक त वर्षमा ७ महिना मात्रै चल्छ, झन् भित्री सडक त वर्षमा ४ महिना मात्रै सञ्चालन हुने गरेको छ । 

सडक नहुँदा बिरामीलाई सहजै अस्पताल लैजान तथा गाउँमा दैनिक उपभोग्य सामान खरिद गरी ल्याउन कठिन हुने गरेको छ । गतिला सडक नहुँदा गाउँमा नियमित सवारी साधन चल्न सकेका छैनन्, जसले गर्दा गाउँमा सामान ल्याउनका लागि पनि गाडी तथा ट्याक्टर नै बुकिङ गर्नुपर्ने अवस्था छ । 

मोहन्याल गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत रुपेश कुमार शर्मा बरालले पालिकाको बिकासका लागि सबै जनप्रतिनीधी, कर्मचारीहरुसंग मिलेर सहमति सहकार्यका आधारमा काम गरिरहेको बताएका छन् । 

मोहन्याल गाउँपालिकामा सडकको ट्र्याक त खोलियो, तर स्तरोन्नति नहुदा सहजै यात्रा गर्न असहज छ । नेपाल टेलिकमको मात्रै सञ्चार सेवा रहेको मोहन्याल गाउँपालिकाका सबै बस्तीमा फोनै लाग्दैन । गाउँपालिकाको सदरमुकाम खिमडी नै सञ्चारको पहुँचबाट बाहिर छ ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update