
झापा । झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको आतंक दिनदिनै बढ्दो छ । मानवीय क्षति, खेतीबालीको विनाश र त्रासदीपूर्ण जीवनका बीच यहाँका बासिन्दा बाँचिरहेका छन् । तर, नेताहरूका लागि यो समस्या वर्षौदेखि चुनावी भाषणको आकर्षक मुद्दा मात्र बन्ने गरेको छ ।
“झापा–भारत सीमामा रहेको बाहुनडाँगी गाउँ । हरियो खेत, आशाका किरण झल्काउने धपक्क भरिएका बाली तर रात परेपछि सुरु हुन्छ – हात्तीको आतंक । प्रत्येक रात हात्ती बस्तीमा पसेर घर तोड्छ, बाली नष्ट गर्छ, कहिलेकाहीँ मानिसको ज्यान समेत लिन्छ । बर्षौदेखिको यो अवस्था दिनदिनै भयावह बन्दै गएको छ ।
यति हुँदा समेत राज्यबाट कहिकतै दिर्घकालिन सुनुवाई नभएको पीडितहरु बताउँछन् । अन्नबाली, पशु चौपाया, घर त के यहाँ मान्छे नै सुरक्षित नरहेको उनीहरूको दुखेसो छ ।
भारतबाट मेचीखोला हुँदै दैनिक दर्जनौं जंगली हात्ती नेपाल प्रवेश गर्ने गर्छन् । बिशेष गरि मकै लगायतको सिजन बैशाख, जेठ, असार तथा धानको सिजन असोज, कात्तिक र मंसिरमा सयौंको संख्यामा हात्ती नेपाल प्रवेश गर्ने गर्छन् ।
जसका कारण अन्नबाली सखाप पार्नुका साथै धनजनको पनि क्षति हुने गरेको छ । दैनिकजसो साझ, बिहान हात्ती आइरहदा अति आवश्यक कामका लागि बाहिर जान समेत समस्या छ । कोही बिरामी भएर औंषधिउपचार गराउन लान तथा विद्यार्थीहरू पढ्न जान समेत हात्तीको कारण समस्या रहेको स्थानीय बताउँछन् ।
“नेपाल–भारत सीमामा लगाइएको तारबारको स्थिति जिर्ण छ । हात्ती सजिलै बस्तीमा पस्छन्। स्थानीयवासी रातभर पालो गरेर टर्च र ढोलसँग हात्ती तर्साउन बाध्य छन्।“ तर, यसरी बर्षौदेखि हात्ती आतंकको समस्या नागरिकले व्यहोर्दा समेत सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीय हात्ती पीडित नागरिक एक भएर स्थानीयतहको ध्यानाकर्षण गराएका छन् ।
सधै नेताहरूले चुनावी मञ्चमा हात्तीको आतंकलाई प्राथमिकता दिने घोषणा गरिन्छ । तर, चुनाव सकिएपछि उनीहरू कहिल्यै फर्केर नआएको भन्दै पिडितहरूले नगरपालिकामार्फत हात्ती समस्या यथाशीघ्र समाधानका लागि तीनै तहका जनप्रतिनिधि र सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
स्थानीय जनप्रतिनिधिले पनि मेचीनगर हात्ती प्रभावित क्षेत्र रहेको स्विकार्दै आवश्यक समन्वय गरिरहेको बताउँछन् । भारतबाट सयौंको संख्यामा हात्ती नेपाल प्रवेश गरि धन जनको क्षति पुर्याइरहेको भएता पनि स्थानीय तहले सिमित स्रोत साधानको कारण उल्लेख्य सुधार गर्न नसकिरहेको छ । स्थानीय जनप्रतिनिधिले हात्ती समस्या समाधान गर्न राज्यस्तरबाट नै समाधान गर्नुपर्ने उनीहरूको भनाइ छ ।
दैनिक जसोको हात्ती आतंक अहिले मानव अधिकार, जनजीविकाको सवाल बनेको छ। जब जनताले बाँच्न पाउने अधिकार समेत चुनावी मुद्दाको सौदा बन्छ, त्यसले नेताहरूको संवेदनशीलता र सरकारको जवाबदेहीतामा गम्भीर प्रश्न उठाउँछ नै । हात्तीको आतंक हटाउने सपना अब भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ।