News 24 Television
छात्रालाई विद्यालयमा आकर्षण गर्न साइकल अभियान  

सर्लाही । गत वर्ष मधेस प्रदेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानका लागि खरिद भएको साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको थियो । साइकलको विषयले मधेस प्रदेश पटक पटक विवादित छ ।

खास गरी छात्राहरुलाई प्रोत्साहन गर्न भन्दै मधेस प्रदेशदेखि पालिकासमेतले साइकल वितरण अभियान सञ्चालन गर्ने गरेको छ । यसै शिलशिलामा सर्लाहीको बलरा नगरपालिकाले कक्षा ११ मा पढ्ने छात्राहरुका लागि साइकल वितरण गरेको छ । 

सर्लाहीको बलरा नगरपालिकाले दिएको साइकल पाएपछि कक्षा ११ मा पढने छात्राहरु मख्ख परेका छन् । बलरा नगरपालिकाले कक्ष ११ मा अध्ययरत छात्राहरुलाई ५३ थान साइकल वितरण गरेको छ । नगरपालिकाको वडा नं ८ गडहिया विद्यलयमा शनिवार एक कार्यक्रम आयोजना विभिन्न विद्यालयका छात्राहरुलाई साइकल वितरण गरिएको हो । 

नगरपालिकाले वडा नं ११ स्थित सुधा राजेश्वर मा.वि छतौनाका १८ र वडा नं ८ जनता नमुना मावि गडहियाका ३९ जना छात्रालाई साइकल बितरण गरेको हो । अत्याधिक गर्मीको समयमा दैनिक ३० देखि ४० मिनेट पैदल हिड्नुपर्ने बाध्यता हटेको भन्दै विद्यार्थी छात्राहरु निकै खुशी देखिएका छन् । 

एसईई उत्तीर्णपछि विद्यालय नजाने छात्राहरुलाई प्रोत्साहनका लागि यस्तो अभियन ल्याएको नगरपालिकाले जनाएको छ । साईकल वितरण कार्यक्रमले छात्राहरुको आत्मबल र शिक्षा प्रतिको उत्साहमा थप बृद्धिहुने विश्वासका साथ नगरपालिकाले साईकल बितरण कार्यक्रम ल्याएको नगरपालिकाका शिक्षा शाखा अधिकृत धनिराम कुशवाहा बताउँछन् । 

बलरा नगरपालिकाले ल्याएको साइकल बितरण जस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने अभिभावकहरुको भनाई छ । यस्तो अभियानले किशोरीहरुलाई विद्यालय जान प्रोस्साहन मिल्ने अभिभावकहरु बताउँछन् । 

संविधानमा लागु गरिएका लैंगिक समानतालाई समेत मध्य नजर गर्दै साईकल वितरण कार्यक्रम प्रारम्भ गरिएको बलरा नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत सुनिल साहले बताए । मधेश प्रदेशमा लैंगिक हिंसा र बाल बिवाह जस्तो कुरितीलाई पनि निरुत्साहित पार्न उदेश्य राख्दै नगरपालिका जनाएको छ । यस्तै, २० वर्ष पुरा गरि प्लस २ र स्नातक तह पास गरि बिहे गर्ने छोरीहरुलाई नगरपालिकाबाट प्रोत्साहन स्वरुप नगद रकम समेत प्रदान गर्ने योजना ल्याइएको छ ।

सुगम क्षेत्र मानिने मधेस प्रदेश शिक्षा क्षेत्रमा निकै पछाडि छ । अहिले पनि मधेसका जिल्लाहरुमा छोरीप्रतिको विभेद पूर्ण रुपमा हटिसकेको छैन । त्यसैले छोरीहरुलाई शिक्षाप्रति आकर्षण बढाउनका लागि पनि बलरा नगरपालिकाले जस्ता अन्य पालिकाहरुले पनि यस्ता अभियानहरु सञ्चालन गर्न आवश्यक छ ।  

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update