
झापा । नेपालको पूर्वी क्षेत्रको प्रमुख नाका काँकरभिट्टाबाट विदेशी पर्यटकहरूको आगमनमा वृद्धि हुँदै गइरहेको छ । केहीवर्ष सुस्ताएको काँकरभिट्टा नाका पछिल्लो समय भने विदेशी पर्यटकहरूको आगमनले चलायमान बन्न थालेको छ । झापाको काँकरभिट्टा नाका नेपाल र भारतको व्यापार तथा आवागमनको प्रमुख द्वार मध्येको एक हो ।
काँकरभिट्टा नाका पछिल्ला दिनहरुमा चलायमान बन्न थालेको छ । विदेशी पर्यटकहरूको आगमनमा वृद्धि हुँदै भएकाले नाका चलायमान देखिएको हो । झापाको काँकरभिट्टा नाकामा कोरोना संक्रमणकाल पछि भारतको रानीगञ्ज नाकामा कडाइ गर्दा नेपाल प्रवेश गर्ने तेस्रो मुलुकको पर्यटकमा कमि आएको थियो ।
बाह्य पर्यटकको आवतजावतमा कमि आएसंगै पर्यटन क्षेत्रमा लागेकाहरू निराश थिए । तर, अहिले नाका पूर्ण रुपमा पर्यटकका लागि खुल्ला भएसंगै यस नाका हुँदै विदेशी पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्धि हुँदै गइरहेको छ ।
नेपालको पुर्वी सीमाबाट प्रवेश गर्ने पर्यटकहरूको संख्या दिनप्रतिदिन बढ्दै जाँदा पर्यटन क्षेत्रमा थप आशा थपिदै गएको पर्यटन व्यवसायी बताउँछन् । विगत केहीबर्ष सुस्ताएको यस नाका अहिले क्रमश लयमा फर्कदै गर्दा अब थोरै भएपनि आशा पलाएको ट्राभल्स संघ झापाका अध्यक्ष निर बहादुर कार्की (नेत्र) बताउँछन् ।
विदेशी पर्यटकहरूलाई सहज वातावरणमा नेपाल प्रवेश गर्न सके सुन्दर, शान्त, हरियाली र प्रकृतिको अनुपम उपहारको रूपमा रहेको नेपालमा विश्वका जुनसुकै देशबाट पनि विदेशी पर्यटकहरू भ्रमण गर्न आतुर रहेको उनको भनाई छ ।
भारतको दार्जिलिङ, सिक्किम हुँदै सडक मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकहरू विशेषतः ट्रेकिङ,धार्मिक, प्राकृतिक मनोरम दृश्य तथा ग्रामीण पर्यटनप्रति आकर्षित छन् । तर,यसलाई अझै सहि तरिकाले परिचालन गर्न सकिएको छैन ।
झापा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरू पूर्वी नेपालका प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताबाट मोहित हुने गरेका छन् । तर, उनीहरुको उचित व्यवस्थापन र थप आकर्षित गर्न नसक्दा होटल व्यवसायी, पर्यटन क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरु चलायमान हुन समस्या भइरहेको छ ।
जनवरी २०२५ देखि पछिल्लो पाँच महिना अहिले दैनिक सरदरमा ३२ जनाको दरले विदेशी नागरिकहरू काँकरभित्ता नाका हुँदै नेपाल प्रवेश गरिरहेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार आर्थिक बर्ष २०७९\८० मा यस नाका हुँदै २३ देशका विदेशी नागरिक आउने १ हजार ५८८ जना रहेको छ, भने जानेको संख्या १ हजार ७३४ रहेको छ । आर्थिक बर्ष २०८०\८१मा यस नाका हुँदै २८ देशका ४हजार ३९०जना नेपाल आउँदा ४ हजार ८२४जनाफिर्ता भएका छन् ।
आर्थिक वर्ष २०८१\८२को जेठ महिनासम्ममा यस नाका हुँदै ८१ देशका ८ हजार नौं सयजना पर्यटकहरु नेपाल आउँदा ८ हजार ९ सय २३ जना विदेशी पर्यटकहरु काँकरभिट्टा नाकाहुँदै भारत गएका छन् ।
अध्यागमन कार्यालयका अनुसार विशेष गरी युरोप, अमेरिका र दक्षिण एसियाली मुलुकका पर्यटकहरू काँकरभिट्टा नाकालाई प्रयोग गरेर नेपाल आउने जाने गरेका छन् । यस नाका हुँदै आउने पर्यटकहरु इलाम, ताप्लेजुङ, धनकुटा, धरान, काठमाण्डौं, पोखरा, मनाङ मुस्ताङतर्फ जाने गरेका छन् । त्यस्तै केही पूर्वी नेपालको चियाबगान, मौलिक संस्कृति र प्राकृतिक दृश्यहरूको मजालिनयतै बस्ने रमाउने गरेको कार्यालयले जनाएको छ ।
पूर्वी नाकाबाट पर्यटन सम्भावना उच्च रहेकाले सरकारले यस क्षेत्रको थप उचित व्यवस्थापनतर्फ ध्यान दिने कि ?