
कैलाली । यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुनसक्ने अनुमान गरिएको छ । देशभर मनसुन शुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबान शुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा पनि बाढी, पहिरोको उच्च जोखिम छ ।
विगतका वर्षमा भन्दा यस वर्ष बाढीपहिरो र डुबानको जोखिम थप उच्च देखिएको छ । यसवर्ष विगतका तुलनामा बढी वर्षा हुने तथ्य र वर्तमान अवस्थाले पनि जोखिम बढ्ने देखिएको हो । यसको उच्च चपेटामा सुदूरपश्चिम क्षेत्र पर्न शुरु भइसकेको छ ।
सुदुरपश्चिमको डोटी, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जिल्लाका धेरै वस्ती पहिरोको जोखिममा छन् भने कैलाली कञ्चनपुरका केही भागमा डुवानको जोखिममा रहेका छन् । यही असार ४ गते मात्र कैलालीको गौरीगंगामा एक जनाको स्थानीय खोलामा बगरेर मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा विपद् पूर्व तयारीको काम शून्य भएको पाइएको छ ।
प्रदेशका ९ वटै जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, प्रदेश सरकार तथा स्थानीय तहहरूले विपद् पूर्व तयारीमा चासो दिएका छैनन् ।
पहाडी जिल्लामा पहिरो तथा सडक अवरुद्धको जोखिम सबैभन्दा बढी रहेको छ । तराइका क्षेत्रमा भने बर्षातको समयमा डुबानको समस्या बढी देखिने गरेको छ । विशेषगरी कैलाली कञ्चनपुरका विभिन्न बस्तीहरु डुबानमा पर्ने गरेका छन् ।
नदी कटान हुँदा बाढी मानवबस्तीमा पस्ने लगायतका समस्याहरु तराइका क्षेत्रमा देखिने गरेका छन । प्रदेशमा प्रकोप जोखिम क्षेत्रको पहिचान समेत गरिएको पाईएको छैन् ।
जिल्ला तथा स्थानीय विपद् समितिले प्रभावकारी विपद् प्रतिरक्षाको तयारी नगरेका बेला प्रदेश सरकारको तयारी समेत देखिएको छैन । यसबेला हुनसक्ने सम्भावित विपद्लाई लिएर कैलाली कञ्चनपुरका बिपद सम्र्पक व्यक्तीहरुलाई तालिम दिएको प्रदेश सरकारले बताएको छ ।
विशेषगरी पहाडी जिल्लामा पहिरोको जोखिम बढी हुन्छ भने तराइका क्षेत्रमा डुबानको समस्या भोग्नुपर्ने हुन्छ। प्रदेश सरकारले यस वर्ष विपद् व्यवस्थापनका लागि आवश्यक पूर्व तयारीका लागि सामग्री खरिददेखि जिल्ला स्तरबाट हुने तयारी भईरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहाल बताउछन् ।
बर्षातको समयमा सुदूरपश्चिमका अधिंकास राजमार्ग देखी जिल्लाका ग्रामीण क्षेत्रका दर्जनौं सडक अवरुद्ध हुने गरेका छन् । वर्षासँगै जयपृथ्वी राजमार्ग अवरुद्ध हुने गरेको छ ।
जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमको पहाडी जिल्लामा जाने यातायात पनि अवरुद्ध हुने गरेको छ । बर्षातको समयमा पहिरोको जोखिम बढ्दै जाने र यसले विपद्का घटना समेत निम्त्याउने भएकाले पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको भएपनि त्यसको पुर्व तयारी भने भएको देखिदैन् ।