News 24 Television
प्रविधिले फेर्न थालेको शैक्षिक माहोलः दोलखामा विद्यालय गुणस्तर वृद्धि होडमा

काठमाडौं । चक–डस्टर र कालोपाटीमा अक्षर चिन्नुपर्ने बाध्यतालाई प्रविधिले विस्तारै सहज बनाउदै लगेको छ । कुनै समय प्रशासनिक काममै सीमित कम्प्युटर अहिले कक्षा कोठामा प्रयोग हुन थालेका छन् । प्रविधिको पहुँचसँगै दोलाखाका विद्यार्थीहरूको सिकाइमा उल्लेखनीय सुधार देखिएको छ । 

दोलखाका ग्रामीण भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तारसँगै शिक्षाको गुणस्तरमा सुधारका साथै सकारात्मक प्रभाव पर्न थालेकोे छ । 

स्थानीय तह र सामाजिक संघसंस्थाको सहकार्यमा सञ्चालित डिजिटल शिक्षा कार्यक्रमले शिक्षक र विद्यार्थी दुबैलाई आधुनिक शिक्षातर्फ उन्मुख गराएको छ । 

सहरी–ग्रामिण तथा निजी–सामुदायिक विद्यालयबीचको अन्तर घटाउन दोलखाका दुई नगरपालिका र सात गाउँपालिकाले सूचना प्रविधिमा विशेष जोड दिएका छन् । सडक सञ्जाल नपुगेका गौरीशंकर र बिगु गाउँपालिकाका विद्यालयहरुसमेत प्रविधिमा जोडिएपछि की–बोर्ड र स्क्रिनमा भविष्य कोर्दैछन् विद्यार्थीहरू । 

दोलखाको भिमेश्वर नगरपालिकादेखि गौरीशंकर, बैतेश्वर, तामाकोसीसम्मका ग्रामीण विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ । कालिन्चोक, भिम, निलकण्ठेश्वर, हनुमन्तेश्वर, क्षत्रवती, जिरेश्वरी र गोल्मेश्वर माध्यमिक विद्यालयमा कम्प्युटर, इन्टरनेट र अडियो–भिडियो सामग्रीमार्फत शिक्षण हुँदै आएको छ । 

विद्यार्थीहरू अब केवल किताबमा सीमित छैनन् । उनीहरू अनलाइन कक्षा लिन्छन्, पाठसँग सम्बन्धित भिडियो हेर्छन् र शिक्षकले पढाएको विषयलाई प्रविधिमार्फत गहिरो रूपमा बुझिरहेका छन् । विज्ञान तथा प्रविधि विषयको समावेशीकरणसँगै प्रयोगात्मक शिक्षा र विद्यालयमै प्रविधिको प्रयोगले ग्रामीण शिक्षामा नयाँ आयाम थपिएको छ ।

सामुदायिक विद्यालयहरुमा कम्युटर ल्याव, स्मार्ट बोर्ड, साइन्स ल्याब, स्मार्ट टिभीको प्रयोग गरेर विद्यार्थीहरुलाई पढाउन थालेपछि पढाईको गुणस्तरीयतामा तारिफ योग्य वृद्धि भएको शिक्षकहरुको अनुभव छ । 

विद्यालयहरुले पनि सुचना प्रविधिको महत्व र प्रयोगलाई मध्यनजर गर्दै कक्षा १ देखि नै कम्प्युटर विषय पढाउन थालेका छन् । विज्ञान र प्रविधिको यो युगमा कम्प्युटर सम्बन्धि ज्ञान नहुँदा विद्यार्थीहरु पछाडि पर्ने हुनाले यहाँका सामुदायिक विद्यालयहरुले पनि सुरुवाती कक्षादेखि नै कम्प्युटर शिक्षालाई प्राथमिकतामा राखेका छन् ।

विश्व तीव्र गतिमा डिजिटल युगतर्फ उन्मुख भइरहेका बेला नेपाल पनि मध्यम गतिमा यस यात्रामा अघि बढिरहेको छ । केवल किताबी ज्ञान पर्याप्त नभएको आजको युगमा विद्यार्थीहरूलाई सानैदेखि सूचना प्रविधिमा अभ्यस्त बनाउनु आवश्यक छ । उसोतः जनशक्ति, सामग्री र भौतिक पूर्वाधारको अभावका कारण ठूला चुनौती भने कायमै छन् ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update