News 24 Television
विकास विरोधी भन्दै रघुवीर महासेठ र विमलेन्द्र निधिबीच बाझाबाझ

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेकै कारण राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा बाधा पुगेको आरोप लगाएको २४ घण्टा नबित्दै एमालेका केन्द्रीय सचिव रघुबीर महासेठले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि विभिन्न आरोप लगाएका छन् । 

जनकपुरधाममा आइतवार पत्रकार सम्मेलन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका महासेठले निधि विकास विरोधी मानसिकतावाट ग्रसित रहेको भन्दै उनको उछितो काढे । 

एमाले केन्द्रीय सचिव रघुवीर महासेठ कांग्रेस नेता विमलेन्द्र निधिमाथि खनिएका छन् । महासेठले दर्जन बढि आरोप लगाउँदै जनकपुरको विकासको बाधकसम्म भन्न बाँकी राखेनन् । 

आइतवार जनकपुरमा पत्रकार सम्मेलन गर्दै निधिले पटकपटक विकास विरोधी गतिविधि गर्दै अरुमाथि आरोप लगाउने गरेको बताए । जनकपुरधामको फोहर मैला व्यवस्थापन हुन नदिनेदेखि शहीद दुर्गानन्द झाको नाममा स्मृति भवन निर्माणमा समेत निधिले अवरोध गरेको महासेठको आरोप छ । 

विवादको सुरुवात 

शनिवार कांग्रेस नेता विमलेन्द्र निधिले जनकपुरमा पत्रकार सम्मेलनमार्फत् राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा रघुवीर र उनकी पत्नी जुली महतोले अवरोध गरेको आरोप लगाएका थिए ।

विश्वविद्यालय बन्न नदिन रघुवीर दम्पत्तिले निकै चलखेल गरेका आरोप निधिले लगाएका थिए । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ र ४ वाट बिजयी प्रतिनिधिसभा सदस्यहरुले विश्वविद्यालयको प्रशासनिक भवन फुलगामास्थित मनियारीवाट सारेर अन्यत्र लैजान लागेका आरोप पनि निधिले लगाएका थिए । 

सोही कुराको खण्डन गर्दै आइतवार जनकपुरबाटै रघुवीर महासेठले जवाफी फायर खोेलेका हुन् । उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जतिसक्दो निर्माण कार्य अगाडि बढाउन छलफल समेत गरेको जानकारी दिए । राजर्षि जनक विश्व विद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पार्टीको कुनै पनि आपत्ति नरहेको महासेठको जिकिर छ । 

विश्वविद्यालयको प्रशासनिक भवनबारे नेता निधिले दिएको अभिव्यक्ति उनको व्यक्तिगत रहेको नेता महासेठले टिप्पणी गरे । राजर्षि जनक विश्वविद्यालय निर्माणका लागि आफुले मात्रै भूमिका खेलेको भन्दै निधिले भ्रम फैलाउन खोजेको महासेठको आरोप छ । आफ्नो वाहवाहीका लागि झुटो नबोल्न निधिलाई उनले सुझाव दिएका छन् । 

त्यस्तै एमालेकी पोलिट्व्युरो सदस्य जुलीकुमारी महतोले नेता निधिले महिला सांसद भनेर गरेको टिप्पणी प्रति आक्रोश पोखिन् । 

उनले आफूलाई महिला सांसद भन्दै निधिले लैंिगक भेदभाव गरेको र आफूबिरुद्ध दुष्प्रचार गरेको बताइन् । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update