News 24 Television
एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजकमा रत्ना गौतमको उम्मेदवारी घोषणा

काठमाडौं ।अस्ट्रेलिया रहेर नेपाली समुदायको सेवामा सक्रिय रत्ना गौतमले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

उम्मेदवारी घोषणा गर्दै उनले भनिन्, “मेरो अनुभवले मलाई महिलाहरूका हक, अवसर र प्रतिनिधित्वका सवालमा अझ जिम्मेवार, सक्षम र सक्रिय बनाएको छ। अब म यो सेवाभावलाई राष्ट्रिय तथा अन्तररा ष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यले उम्मेदवार बनेकी हुँ।”

हाल उप–महिला संयोजकको जिम्मेवारीमा रहेकी गौतमले विभिन्न सामाजिक, सांस्कृतिक तथा नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्दै महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा र नेतृत्वको क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्।

उनले अष्ट्रेलियास्थित नेपाली महिलाहरूलाई एकजुट गर्दै नेपालमा रहेको संस्कृति र पहिचानलाई प्रवासमा समेत जगेर्ना गर्ने कार्यमा सक्रिय भूमिका खेलेको बताएकी छन्।

उनले प्रवासी नेपाली महिलाहरूको आवाज बुलन्द बनाउने, उनीहरूलाई नेतृत्वमा लैजाने र विश्वभर छरिएका नेपाली महिलाबीच सहकार्य, सहानुभूति र सशक्तीकरणको सञ्जाल निर्माण गर्न आफू पूर्णरूपमा समर्पित रहने प्रतिबद्धता पनि जनाएकी छन्।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update