काठमाडौं । सरकारले काठमाडौं क्षेत्र नम्बर १ स्थित बबरमहल र मीनभवनमा लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौं क्षेत्र नं १ का सांसद एवम् उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको पहलमा ती स्थानमा सुविधासम्पन्न पुल बन्न लागेका हुन् ।
स्थानीयले सो क्षेत्रमा आवतजावत गर्न असहज भएको र दुर्घटना हुने गरेको भन्दै आकाशेपुल बनाउनका लागि उपप्रधानमन्त्री सिंहसँग माग गरेका थिए । अहिले धमाधम पुलको काम भइरहेको छ ।

स्थानीयको माग र सो क्षेत्रको आवश्यक्ता हेरेर उपप्रधानमन्त्री सिंहले पहल गरेपछि आर्थिक वर्ष २०८२\ ८३ को बजेट मार्फत भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ। बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ भने मीनभवनमा ४ करोड रुपैयाँ छुट्याइएको छ । जसले स्थानीय र सरोकारवालाहरुलाई खुशी बनाएको छ ।
आकाशे पुल नहुँदा अहिले दुवै ठाउँमा जेब्रा क्रसिङ राखिएको छ भने ट्राफिक लाइट छ । तर, ट्राफिक लाइटले काम नगर्दा पैदलयात्रु र सवारी चालकलाई समस्या पर्दै आएको छ । अब पुल बनेसँगै सो क्षेत्रमा आजतजावत गर्ने स्थानीयलाई सहज हुनेछ भने दुर्घटना रोकिनेछ ।
