News 24 Television
स्वेदशी कार्पेट विदेश निर्यात 

वीरगञ्ज,पर्सा । नेपालकै चर्चित व्यापारिक घराना प्रेस्टिज ग्रुप अन्तरगत प्रेस्टिज कार्पेट उद्योगले आफ्नो उत्पादन तेश्रो मुलुक निर्यात गर्न थालेको छ । 

करोडौँका लगानीमा विदेशबाट आयातित कच्चा पर्दाथ र अत्याधुनिक मेशिनको सहयोगमा पहिलोपटक व्यवसायिक रुपमा कार्पेट निर्यात गर्न थालेको हो । उद्योगले पहिलो चरणमा २ ठूला कन्टेनरको माध्यमबाट ३० हजार वर्गमिटर कार्पेट तेश्रो मुलुक निकासी शुरु गरेको छ । यसले नेपाली औद्योगिक क्षेत्रमा नयाँ आयाम थपेको छ । 

बारा–पर्सा औद्योगिक करिडरमा अवस्थित प्रेस्टिज कार्पेट उद्योगले अब विदेशमा समेत आफ्नो उत्पादन निर्यात गर्न थालेको छ । अमेरिका, स्पेन र अष्ट्रेलियाबाट करिब ३३ करोडको लगानीमा अत्याधुनिक मेशिन आयात गरी तेश्रो मुलुकमा आफ्नो उत्पादन निर्यात गर्न थालेको हो । 

कार्पेट उद्योगको क्षेत्रमा स्वदेशी उत्पादनले विदेशी उत्पादनलाई विस्थापित गरिरहेको बेला नेपालमै उत्पादित वस्तु तेश्रो मुलुकमा निर्यात हुने विषयले औद्योगिक क्षेत्र थप उत्साहित बनेको छ ।  

‘‘विदेशी भन्दा अझ राम्रो, स्वदेशी उत्पादन हो हाम्रो’’ भन्ने नाराका साथ यस उद्योगले पहिलो चरणमा वीरगञ्जको सुख्खा बन्दरगाह नाकाबाट २ ठूला कन्टेनरमा करिब १ करोड बराबरको ३० हजार वर्गमिटर कार्पेट भारतको कलकत्ता बन्दगाह हुँदै संयुक्त राज्य अमेरिका, दुबई र केन्या लगायत अन्य विकसित मुलुकहरुमा नियार्त गरेको छ ।

विगत ३ वर्षदेखी भारतमा मात्रै विक्री वितरण गर्दै आएको यस कार्पेट उद्योगले अब आफ्नो उत्पादनलाई अन्तराष्ट्रिय बजारमा समेत स्थापित गराउन लागि परेको छ ।  

उद्योगमा अस्ट्रेलिया, स्पेन र अमेरिकाबाट करिब ३० करोडको लगानीमा आयात गरिएको अत्याधुनिक मेशिनको सहयोगबाट कार्पेट उत्पादन भइरहेको छ । 

वार्षिक २० लाख वर्गमिटर उत्पादन क्षमता भएको उक्त उद्योगमा हाल भने बजारको माग अनुसार १२ लाख वर्गमिटर कार्पेट उत्पादन हुँदै आएको छ ।

कार्पेट उत्पादनका लागी आवश्यक पर्ने कच्चा पदार्थहरु अमेरिका, केन्या, साउथ अफ्रीकाबाट आयात हुने गर्दछ भने प्रत्येक वर्ष ६ सय टन धागो मात्रै आयात हुने गरेको उद्योगले जनाएको छ । हाल उक्त उद्योगमा १ सय जनाले प्रत्यक्ष रोजगारी पाई राखेका छन् । 

अत्याधुनिक मेशिनबाट उत्पदान गरिएको सबै कार्पेट गुणस्तरीय रहेको उद्योगको दाबी छ । नेपालमा डिजीटल प्रिन्ट कार्पेट उत्पादन गर्ने पहिलो उद्योग आफूहरुकै रहेको उद्योगका संचालक अमन शाह बताउछन । उनले सुरुवाती वर्षमा ५० वटा कन्टेनरबाट कार्पेटहरु विदेशमा निर्यात गर्ने लक्ष्य राखेको जानकारी दिए । 

डिजीटल प्रिन्टीङ मेशिनको सहयोगले उद्योगबाट प्राप्त क्याटलग मात्र नभई ग्राहक आफैले डिजाईन दिएर कार्पेट प्रिन्ट गर्न सकिनेछ । 

उनले विश्व बजारमा नेपाली उत्पादनलाई स्थापित गराउने आफूहरुको प्रयासका विच थुप्रै चुनौती रहेको बताए । भू–परिवेष्ठित राष्ट्र भएको कारण उत्पादित वस्तुको निर्यात महंगो पर्ने शाहको भनाई छ । 

प्रेस्टिज कार्पेट उद्योगमा ७ प्रकारका कार्पेट उत्पादन हुदै आएको छ । उद्योगले आम नेपालीको घरदेखी ठूल्ठूला होटल तथा कार्यालयहरुमा माग अनुसारको उत्पादन गर्दै आएको छ । यहाँ प्रति मिटर ४ सय देखी ४ हजार सम्मको कार्पेट उत्पादन हुने गरेको छ ।  

पछिल्लो बिबिध कारणले नेपाली उत्पादनको निर्यात तेश्रो मुलुकमा सिथिल बन्दै गएको अवस्थामा प्रेस्टिज कार्पेटको निर्यातले मुलुकको अर्थतन्त्रमा थप सहयोग पुग्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताए । 

विगतमा वर्षेनी  १० अर्बको कार्पेट आयात हुने गरेकोमा पछिल्ला वर्षहरुमा १ अर्बको हाराहारिमा मात्रै कार्पेट आयात हुने गरेको छ । अब भने विस्तारै विदेशी उत्पादनलाई पूर्ण रुपमा विस्ताथित गर्ने प्रयासमा रहेको गौतम बताउँछन् । 

करिब २५ वर्ष अगाडी संचालित वीरगञ्जको चर्चित व्यापारिक घराना प्रस्टिज ग्रुप अफ ईण्डस्ट्रिजको झनंकार चप्पल, नोबेल टेक्सटाईलस, प्रेस्टिज लुप मयाट, प्रेस्टिज कार्पेट उद्योग गरी ७ वटा उद्योगहरु संचालनमा छन् । 

कुनै बेला विदेशी कार्पेटले सज्जिने गरेको नेपालीको घर तथा होटलहरुमा अब स्वदेशी उत्पादनले आफनो स्थान बनाउन थालेको छ । पछिल्ला ७ वर्षमा अर्बौको लगानीमा नेपालमा संचालनमा आएका कार्पेट उद्योगले सस्तो मूल्यमा उत्पादन गरी विक्री गर्न थालेपछि विदेशी कार्पेटको आयातमा स्वाट्टै कमी आएको छ । 

यसरी विदेशबाट समेत नेपाली उत्पादनको माग आउनुले नेपाली वस्तु गुणस्तरीय रहेको पुष्टि समेत हुन्छ । यसले निर्यातमुुखी राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउदै, मुलुकलाई आत्मनिर्भर बनाउन तर्फ उन्मुख गर्नुका साथै रोजगारी श्रृजनाको वातावरण समेत निर्मँण गर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update