News 24 Television
२० वर्षको वारेन्टीका युपीभीसी झ्याल–ढोका, गुणस्तरमा अब्बल ‘पञ्चकन्या डिमेक्स’

रुपन्देही । अहिले मुलुकमा ९० प्रतिशत युपीभीसीका झ्याल–ढोकाका प्रोफाइल (फ्रेम)हरु भारत र चीनबाट आयात हुन्छ । यसरी आयात हुने युपीभीसीको गुणस्तरीयताबारे कहिकतै मापदण्ड छैन । आयातित यस्ता फ्रेमको वारेन्टी जम्मा पाँच–सात वर्ष छ । 

यस्तो अवस्थामा गुणस्तरहीन युपीभीसी आयात रोकी नेपाली बजारको ठूलो हिस्सा ओगट्ने उद्देश्यसहित रुपन्देहीमा पञ्चकन्या डिमेक्स उद्योग सञ्चालनमा ल्याइएको छ । नेपालकै ठूलो उद्योग समेत रहेको पञ्चकन्या डिमेक्सले २० वर्षको वारेन्टीसहित आफ्ना उत्पादनको बजारीकरण समेत शुरु गरेको छ । 

रुपन्देहीको सियारी गाउँपालिका–२, भग्दरीमा ‘पञ्चकन्या डिमेक्स’ युपीभीसी झ्याल–ढोका उद्योग सञ्चालनमा आएको छ । करिब एक वर्षसम्म उत्पादन परीक्षण, बजार बृद्धि गरेपछि उद्योगले आधिकारिक रुपमा आफ्ना उत्पादन सार्वजनिक गरेको हो । 

उद्योगले पञ्चकन्या डिमेक्स, नियोप्लाष्ट, टोनिस युपीभीसी र साल ब्राण्डका उत्पादन सार्वजनिक गरेको हो । उद्योगमा नेपालकै प्रतिष्ठित औद्योगिक घरना पञ्चकन्या समूहका उज्वलकुमार श्रेष्ठसँगै रितेश सिलवाल, नारायण केसी र आशिस श्रेष्ठले ८० करोड लगानी गरेका छन् ।

उद्योगले आफ्ना उत्पादनहरु दिगो, वाटरप्रुफ, अग्नी प्रतिरोधी, मर्मतमा कम खर्च लाग्ने, नखुइलिने, साउण्ड प्रुफ, आफ्नो इच्छा अनुसार डिजाइन र पुनः प्रयोग गर्न सकिने, सफाइका लागि सहज र पर्यावरणमैत्री भएको दावी गरेको छ । 

विश्वस्तरीय गुणस्तर, भरपर्दो र दीर्घकालीन रहेको दावी गरिएको यो उद्योग नेपालमा युपीभीसी झ्यालढोकाका फ्रेम बनाउने सबैभन्दा ठूलो उद्योग समेत हो । उद्योगले जर्मन र युरोपियन मुलुकको प्रविधि र मापदण्ड प्रयोग गरेर उत्पादन सुरु गरेको समेत जनाएको छ ।

युपीभीसीका प्रोफाइलभित्र ग्याल्बोनाइज्ड फलाम प्रयोगपछि यसले फ्रेम भाँचिने, कुचिने समस्या हुँदैन । उद्योगको प्रतिवर्ष ६ हजार मेट्रिक टन उत्पादन क्षमता छ । अहिले उद्योगमा ६ वटा आधुनिक मेसिन जडान गरिएका छन् । 

यी मध्ये पाँचवटाले सेतो युपीभीसी प्रोफाइल  निर्माण गर्छन् भने एउटा मेसिनले लेमिनेटेड प्रोफाइल तयार गर्छ । अहिले मुलुकभर वार्षिक १३ हजार मेट्रिक टन युपीभीसी प्रोफाइलका झ्याल–ढोका खपत भइरहेका छन् । 

खपतमध्ये करिब ९० प्रतिशतभन्दा धेरै चीन र भारतबाट आयात हुन्छ । ती युपीभीसीको गुणस्तर कहीकतै जाँच हुँदैन र वारेन्टी पनि पाँच–सात वर्षको मात्रै छ । तर, पंचकन्या डिमेक्सले २० वर्षको वारेन्टी दिएर गुणस्तरीय उत्पादन सुरु गरेको जनाएको छ ।

उद्योगमा अहिले ६५ जनाले रोजगारी पाएका छन् । गुणस्तरहीन आयत रोक्ने, नेपालको युपीभीसी बजारको ५० प्रतिशत क्षेत्र ओगट्ने गरी उद्योगले चालु आर्थिक वर्षमा तिव्र बजारीकरण गर्ने उद्देश्यले उत्पादन सार्वजनिक गरिएको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update