
काठमाडौं । सरकारले विभिन्न क्षेत्रका ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ । सम्मानीत धेरैजसो हस्तकला विधाका रहेका छन् । सरकारद्वारा सम्मानीत हस्तकला विधाहरुलाई हस्तकला उद्यमीहरुको छाता संगठन नेपाल हस्तकला महासंघले पनि सम्मान गरेको छ ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर प्रसाद भण्डारीले सम्मान प्रदान गरेका हुन् ।
सम्मानित हुनेमा हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यका साथै महासंघका सदस्यमध्ये व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फबाट नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष नरेशलाल श्रेष्ठ, हस्तकला वस्तुको निर्यातबाट सबैभन्दा बढी विदेशी मुद्रा भित्रयाउने निर्यातकर्तामध्येबाट गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रालिका सञ्चालक पद्मरत्न धाख्वा, तेस्रो मुलुकमा सबैभन्दा बढी फेल्टजन्य हस्तकला वस्तु निर्यातकर्तातर्पmबाट नेशनल एक्सपोट्र्स प्रालिका सञ्चालक चन्द्रबहादुर थापा रहेका छन् ।
त्यस्तै तेस्रो मुलुकतर्फ एक अर्बभन्दा बढीको निर्यातकर्ता एभरेष्ट फेशनका प्रमुख कार्यकारी अधिकृत महेश्वर श्रेष्ठ, चीनतर्फको निर्यातमा तेस्रो स्थान हासिल गर्ने अष्टमंगलका प्रोप्राइटर उर्गेन लामा, स्टार्टअप उद्यमी व्यवसायीतर्फबाट माइण्डफुल क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक कुवेर सापकोटा रहेका महासंघले जनाएको छ ।
सो अवसरमा मन्त्री भण्डारीले नेपालको निर्यात व्यापारमात्रै नभइ हस्तकला क्षेत्रले विश्वमा नेपाली कला,संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । कार्यक्रममा महासंघ अध्यक्ष शाक्यले हस्तकलाको प्रवद्र्धनका लागि हस्तकला नीतिमा जोड दिएका थिए।