News 24 Television
निर्माण कम्पनीसँगको मिलेमतोमा कमसल सामग्रीको प्रयोग

झापा । झापाको बिर्तामोड नगरपालिका ४ स्थित मेघाबारीमा निर्माणाधीन पेवर्स सडक गुणस्तरीय नभएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । 

८० लाख बढीको लागतमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ठेकेदार कम्पनी र पेवर्स उत्पादकबीच मिलेमतो भएको उनीहरूले शंका गरेका हुन् । 

झापाको मेघाबारीमा ठेक्का सम्झौता अनुसार १८ फिट चौडाइको पेवर्स सडकमा एम ४० को पेवर्स हुनुपर्नेमा एम ३५÷३६ मात्रै पाइएको स्थानीयवासीको दाबी छ । परीक्षण गर्दा भारबहन क्षमता कम देखिएपछि निर्माण प्रक्रियामै अनियमितता भएको उनीहरुको भनाई छ । 

प्राविधिक कुरा हामी बुझ्दैनौं तर गुणस्तर कम भएको बुझिएको छ । जनताको करबाट बन्ने सार्वजनिक सरोकारको सडक मापदण्ड अनुसार नै बन्नुपर्ने स्थानीयको भनाइ छ ।

बर्षौ हिलो र धुलोमा आवतजावत गर्नु परिरहेको बाध्यकारी अवस्थामा पेवर्स सडक बन्ने भएपछि उत्साहित भएका मेघाबारीका स्थानीयबासी अहिले भने निर्माण भएको पेवर्स सडक गुणस्तरीय नभएपछि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ठेकेदार कम्पनी क्यापिटल टेक्नोलोजी मल्टी प्रपोज कन्स्ट्रक्सन याङबरक–१ पाँचथर र बिल्डकन इन्डस्ट्रिज अर्जुनधारा–०७ पेवर्स उत्पादकबीच मिलेमतो भएको शंका गर्न थालिएको हो । 

के हो पेवर्स ? कसरी बन्छ यस्तो सडक ? 

पेवर्स भनेको प्लाष्टिक जन्य फोहरबाट तयार पारिने एक किसिमको ब्लक हो । बालुवा र प्लाष्टिकको मिश्रणबाट यस्तो किसिमको ब्लक तयार हुन्छ । 

प्लाष्टिक जन्य फोहरबाट यस्तो किसिमको ब्लक तयार हुने भएकाले पछिल्लो समय विभिन्न नगरपालिकाहरुले पेवर्स उत्पादनमा जोड दिन थालेका छन् । यस्तो किसिमको ब्लक सडकमा बिछ्याएर सडक निर्माण गरिने भएकाले यसलाई पेवर्स सडक भनिएको हो । 

सघन सहरी तथा भवन निर्माण आयोजना झापा मार्फत लागेको यो पेवर्स सडकको ठेक्का क्यापिटल टेक्नोलोजी मल्टी प्रपोज कन्स्ट्रक्सन याङबरक–१ पाँचथरले पाएको हो । 

ठेकेदार कम्पनीले मापदण्ड अनुसार एम ४० एनएस चिन्ह प्राप्त पेवर्स प्रयोग गर्नुपर्ने सम्झौता छ । तर, सडकमा बिछाइएको पेवर्स मध्ये केही नमुना लगेर ल्याबमा परीक्षण गर्दा एम ३५–३६ मात्र रहेको पाइएका छ । कमसल सामान प्रयोग भएको आशंकामा स्थानीय अगुवाले सम्बन्धित ल्याब टेक्निसियन र इन्जिनियर सहितको टोली बोलाइ नमुना परीक्षण गराएका थिए । स्थानीयले निर्माणाधीन पेवर्स सडक गुणस्तरीय नभएको जानकारी सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भद्रपुरलाई असार तेस्रो साता नै जानकारी गराएका थिए । 

क्यापिटल टेक्नोलोजीले २०८२ वैशाख ४ गतेदेखि निर्माण सम्झौता गरी २०८२ असार २० गते निर्माण सम्पन्न गर्नुपर्ने यो सडकको दुवैतिर नालासहित १८ फुटको पेवर्स सडकको लागत भ्याट र पिएसबाहेक ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा रहेको छ । कार्यालयले भने स्थानीयको गुनासो बेवास्ता गर्दै कार्यालयले ठेकेदार कम्पनीलाई यो सडक निर्माणको भुक्तानी असार मसान्त अघि नै दिइसकेको छ । 

सार्वजनिक खरिद ऐनले पनि गुणस्तरको स्पष्ट मापदण्ड तोकेको छ । सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद–२ को खरिद कार्यको जिम्मेवारी र खरिद विधि सम्बन्धी व्यवस्थामा नेपाल गुणस्तर चिन्ह (एनएस) प्राप्त वा सो सरह निर्माण सामग्री प्रयोग गर्नुपर्ने उल्लेख छ । तर, सघन सहरी आयोजना, ठेकेदार कम्पनी र पेवर्स कम्पनीबीच मिलेमतो हुँदा एनएस प्राप्त नै उल्लेख गरी एकाधिकार हुने गरी पेवर्सको प्रयोग हुने गरेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update