
रपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो एक वर्षमा ५० हजार ४ सय ४१ वटा सवारीलाई कारवाही गरेको छ । जसमध्ये, ६ हजार १ सय १४ वटा कारवाही तिव्र गतिमा सवारी चलाउने छन् ।
२ सय ५८ वटा सवारीलाई कारवाहीका लागि यातायात कार्यालय पठाइएको छ । सवारी साधनको स्वरुप परिवर्तन गरि चलाएका ११ वटा सवारी साधनसहित चालकलाई कारवाही गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले आइतबार आर्थिक वर्ष २०८१–०८२ को वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।
एक वर्षमा नियम विपरित सवारी चलाउने सवारी चालक तथा सवारी धनीलाई गरिएको कारवाहीबाट कुल ६ करोड ८ लाख ४९ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
जसमध्ये, तिव्र गतिमा सवारी चलाउने सवारी चालकलाई गरिएको कारवाहीबाट मात्रै ३१ लाख रुपैयाँ भन्दा धेरै राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख रञ्जु केसीका अनुसार सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी कार्यालयबाट २ हजार २ सय १० वटा सचेतनाका कार्यक्रम संचालन गरिएको छ ।
दैनिक रुपमा राडर गनको प्रयोग गरि तिव्र गतिबाट हुने दुर्घटना नियन्त्रण गर्ने प्रयास गरिएको प्रहरीको भनाई छ । अपराध नियन्त्रण, अनुसन्धान तथा सवारी दुर्घटना न्यूनीकरणमा प्रयोग भइरहेका परम्परागत तरिकाहरुलाई सुधार गर्दै क्रमशः प्रविधिमैत्री बनाउनुका साथै ट्राफिक कारबाहीलाई प्रविधिमैत्री बनाउन डिजिटल भुक्तानी मार्फत ट्राफिक जरिवाना गरि सहज बनाइएको छ ।
ट्राफिक प्रहरी प्रमुख केसीका अनुसार तिब्र गतीका कारण सवैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको क्षेत्र बुटवल–भैरहवा सडक खण्डको सखुवानीमा एएनपीआर क्यामेरा सहितको राडर गन जडान गरिएको छ । जहाँबाट सडकमा ट्राफिक प्रहरी तैनाथ नभए पनि २४ सै घण्टा क्यामेरा र मोनिटरको सहयोगबाट तिब्र गतीमा चलाउने सवारी साधनको पहिचान गरि कारवाही गर्ने गरिएको छ ।
सवारी दुर्घटनामा १ सय २१ जनाको मृत्यु
एक वर्षमा रुपन्देहीमा १ सय २१ जना नागरिकले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९८ जना पुरुष र २३ जना महिला छन् ।
गत वर्ष कुल ८ सय २ वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा १ हजार १ सय ६२ वटा सवारीसाधन संलग्न रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् ।
सडक तथा राजमार्गहरु सुविधासम्पन्न र व्यवस्थित भएसँगै सवारी दुर्घटना हुनेक्रम झनै बढेको छ । चालकको लापर्वाहीकै कारण व्यवस्थित सडकमा पनि दुर्घंटना बढेको ट्राफिक प्रहरीको निश्कर्ष छ । सडक तथा राजमार्गमा तिब्रगतीका कारण नै अधिकांश दुर्घटनाहरु भएका छन् ।
ट्राफिकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७ सय ९५ वटा मोटरसाइकल, जिप, कार, भ्यान १ सय २० वटा, साइकल ६७ वटा, बस ३८ वटा, ट्रक ट्यांकर ४५ वटा, टिप्पर २८ वटा, ट्याक्टर २३, टेम्पो ३६ र ७ वटा माइक्रो दुर्घटना भएका छन् ।