News 24 Television
अमेरिका पुगेर कुलमानले भने – ‘जहाँ बसेपनि नेपालीले नेपालमा लगानी गर्न पाउनुपर्छ’

टेक्सास । ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शको आयोजनमा टेक्सासको राजधानी शहर अस्टिनमा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङसंग अन्तरकियात्मक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

 ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शको आयोजनामा आईतबार अस्टिनको अथिति ग्रील एण्ड बारमा अन्तरकृया सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कुलमान घिसिङले आफू सरकारको प्रतिनिधित्व गर्ने कुनैपनि ठाउँमा पुगेमा विदेशमा रहेका नेपालीहरुले कमाएको पुँजी नेपालमै लगानी गर्ने वातावरण निर्माण गर्न प्रयास भरपुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । 

‘नेपालीहरुले नै लगानी गर्न नसक्ने ठाउँमा विदेशीले कसरी लगानी गर्छ ? पहिलो त नेपाल बाहिर रहेका सबै नेपाली दाजुभाई दिदी बहिनीले निःशर्त लागनी गर्न र नेपालमा बसोबार गर्न सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘म अहिले सरकारको कुनै प्रतिनिधित्व गर्ने ठाउँमा छैन । बाहिर छु । म कुनै पनि बेला त्यो ठाउँमा पुगेमा तपाईँहरुको आवाजको प्रतिनिधित्व गर्नेछु ।’

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बाहिरीएपछि कुलमान राजनीतमा आउने चर्चा चल्दै आएको छ । यद्यपि उनी कुन तवरले राजनीतमा प्रवेश गर्छन् भन्नेमा स्पष्ट भइसकेको छैन।  पछिल्लो समय उनी विदेशमा रहेका नेपालीहरुसँग संवाद गर्न विभिन्न देशको भ्रमणमा निस्किएका छन । केही साताअघि मध्यपूर्वी देशहरुको भ्रमण गरेका कुलमान अहिले अमेरिकाको भ्रमणमा छन् ।

सोही क्रममा ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्शको आयोजनामा कुलमानसँगको अन्तरकृया कार्यक्रम आयोजना भएको हो । सो अवसरमा कुलमान घिसिङलाई सम्मानसमेत गरिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update