News 24 Television
ओखलढुंगाको सानोचित्रेमा पानीको समस्या एकादेशको कथा 

ओखलढुङगा । ओखलढुंगाको सानोचित्रेमा खानेपानीकै जोहोका लागि जंगलको मुहानमा धाउन बाध्य महिलाहरू अब आफ्नै आँगनमा धारोबाट पानी भर्दैछन् । पानीकै लागि गरिएको उनीहरुको दशकौंको संर्घष अब ईतिहाँस बनेको छ । 

सिद्धिचरण नगरपालिका–५ स्थित यो बस्तीका धेरै महिलाले जीवनको ठूलो हिस्सा पानीको जोहोमै बिताए । तर अब एक घर एक धारो कार्यक्रमले उनीहरूको संघर्षको कथा अन्त्य गरेको छ । 

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५सानोचित्रे गाउँका महिलाहरूका लागि पानी केवल जीवनको आधार मात्र थिएन, संघर्षको अर्को नाम पनि थियो । सानोचित्रेकी पेमछोकी शेर्पाले आफ्नो जीवनको ५ दशक बढी समय खानेपानीको जोहोमै बिताईन । 

बस्ती नजिकै पानीको कुनै पनि स्रोत नहुँदा जंगलको बीचमा रहेको एक मात्र मुहानमा जानुको बिकल्प थिएन । बिहान झिसमिसे र साँझ अबेरको समयमा पनि पानी ओर्सानुपर्दा जंंगली जनावरको त्रास समेत उत्तिकै थियो । 

माटोको एक घैला पानीका लागि झन्डै १ घण्टा समय खर्च हुन्थ्यो । तर अहिले शेर्पाको त्यो कठिन दैनिकी फेरिएको छ । दशकौँपछि आँगनमा जडान गरिएको धाराबाट स्वच्छ खानेपानी खस्दा उनको खुसीको सिमा छैन । 

सोहि ठाउँकी पेमल्हमु शेर्पालाई पनि बाल्यकालदेखि नै पानीका घैला बोकेरै हुर्किएको सम्झना छ । १०÷१२ वर्षमै पानी बोक्न थालेकी उनलाई बाटो आफैँमा चुनौती थियो । साँघुरो, चिप्लो र कहिले घारीले गर्दा चिप्लिएर लडिने र घैला फुट्लाकी भन्ने चिन्ताले सताउने गथ्र्यो । 

पानी बोक्दा ढल्ने डर मात्र होइन, त्यो फुटेपछि घर पुगेर गाली खाने पीडाले झनै त्रसित बनाउँथ्यो । जीवनको आधा भाग यसरी बिताएकी पेमल्हमुलाई अहिले घरअगाडि धारामा पानी भर्न पाउँदा सपना जस्तो लागेको बताउछिन् ।  

पेमछोकी र पेमल्हमु जस्तै थियो सानोचित्रेका अघिकांश महिलाको साझा कथा । तर त्यो संर्घष ईतिहास बनिसकेको छ । स्थानीय सरकारको २० प्रतिशत र दातृ निकायको ८० प्रतिशत सह लगानीमा हालै सञ्चालित सानोचित्रे खानेपानीको आयोजनाले यहाँको दैनिक जीवन नै परिवर्तन गरेको छ । 

स्थानीय महिलाहरुकै अगुवाई र सक्रियतामा एक घर एक धारो अभियान कार्यक्रम अन्तर्रगत सिंगो गाउँको ७९ घरमा खानेपानीको पु¥याईएको हो । जसले गर्दा दिर्घकालिन रुपमा यहाँका नागरिकको खानेपानीको समस्या समाधान भएको छ । 

स्थानीय सरकार र समुदायकै सहभागिता र साझा प्रयासबाट भएको यो परिवर्तनले दशकौँको पीडा अन्त्य गर्नुको साथै आंगनमै बगेको पानीले आशाको नँया धार बहाईरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update