News 24 Television
सार्वजनिक जग्गामा बनेका संरचनामा चल्यो डोजर 

काठमाडौं । मेयर बालेन शाह काठमाडौं महानगरपालिकामा फुटपाथ हटाउनेदेखि अतिक्रमित घर टहराहरु भत्काएर शुरुवाती समयदेखि नै चर्चा बटुलेका थिए । 

बालेनको पदचाप पछ्याउँदै अन्य स्थानीय तहहरुले अतिक्रमित सरकारी जग्गा खोज्ने क्रम जारी राखेका छन् । काठमाडौं महानगरकै छिमेकी टोखा नगरपालिकाले पनि अतिक्रमित सरकारी जग्गाहरूलाई पनि खाली गराई संरक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ । 

देशकै संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएलगत्तै बालेन शाहले ‘सुन्दर र स्वच्छ काठमाडौं’ अभियान थालनी गरेका थिए । सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउनेदेखि ब्यस्थित पार्किङ अभियान सञ्चालन गर्दा बालेनले निकै सास्ती ब्यहोर्नु परेको थियो । 

ठूरा राजनीतिक दलका नेताहरुसमेत बालेनलाई घेराबन्दी गर्न कस्सिकएका थिए । तर जबर्जस्त रुपमा अघि बढेको बालेन अभियानकै कारण उनी अहिलेसम्म पनि चर्चामै छन् । स्थानीय सरकारको शक्ति कति हुन्छ भन्ने कुरा पनि बालेनले देखाइदिए । त्यसैको पदचाप गर्दै अन्य स्थानीय तह पनि अघि बढिरहेका छन् । 

काठमाडौं महानगरकै छिमेकी टोखा नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र रहेका अन्य अतिक्रमित सरकारी जग्गाहरूलाई पनि खाली गराई संरक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसैक्रममा आइतबार मात्रै वर्षौदेखि अटेर गरी सार्वजनिक जग्गा अधिग्रहण गरी गरी बस्दै आएको टोखा नगरपालिका ५ स्थित घर टहरा नगरपालिकाले भत्काइदिएको छ । 

स्थानीयवासीको दबाबमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा इसान हस्पिटल अगाडिको साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका संरचना हटाइएको हो । 

यसअघि गत माघमा यहि प्लट अन्तर्गतका अन्य संरचनाहरु हटाइए पनि केहीले अटेर गरी बस्दै आएका थिए । अटेर गरी बस्दै आएकी पवित्रा लिम्बुले अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाले अवैध संरचना हटाउने काम रोकेको थियो । अदालतको फैसलाले सार्वजनिक पुष्टि गरेपछि पनि नहटेपछि डोजर लगाउनुपरेको नगरपालिकाको भनाई छ । 

यो मात्र नभई टोखा नगरपालिका सबै वडामा अतिक्रमित जग्गाहरु खाली गर्ने अभियान जारी राख्ने नगरपालिकाले जनाएको छ । स्थानीय जनप्रतिनिधिहरु तथा स्थानीय जनताकै सहयोगमा नगरपालिकाले सरकारी जग्गा खोजी अभियान चलाएको विसीले बताएका छन् । 

सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार अभियान सञ्चालन गरिएको उनले बताएका छन् । 

५ नम्बर वडा कार्यालय नजिकै वर्षौंदेखि अधिग्रहण गरिएको क्षेत्र खाली गरिएपछि यो ठाउँमा खेल मैदान बनाउने आफ्नो लक्ष्य रहेको र त्यो आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता वडाअध्यक्ष मदन गुरुङको छ ।  

टोखा नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा हटाउन गत माघ २४ गतेसम्म समय दिएको थियो । उक्त समयमा पनि घर घहरा नहटाएको भन्दै नगरपालिकाले पहिलो पटक डोजर चलाएको थियो । र, तारबार लगाउन पोलसमेत गाडेको थियो । त्यसपछि पनि बाँकी संरचना नहटाइएपछि आइतबार पुनः डोजर चलाएर संरचनाहरु हटाएको हो । 

टोखा नगरपालिकाले यसअघि विष्णुमती नदीको आसपासमा खोला मिचेर निर्माण गरिएका संरचना हटाएर विष्णुमती ‘करिडोर’ निर्माणको कामलाई अगाडि बढाएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update