News 24 Television
अन्तिम साउनमा पर्न थाल्यो पानी, मधेसमा खुशी 

रौतहट । लामो समयको खडेरी पश्चात रौतहट लगायतमधेस प्रदेशका जिल्लाहरुमा भएको वर्षाले किसानहरुलाई ठुलो राहत भएको छ । समयमा वर्षात नहुँदा धेरै किसानहरुले धान रोप्न पाएका थिएनन् । श्रावणको मध्यसम्म पनि पानी नपरेपछि किसानहरु यस वर्ष धान रोप्न नपाइने हो कि भन्ने चिन्तामा थिए भने जेनतेन गरेर धान रोपेका किसानहरुको खेत पानी नहुँदा सुख्खा भएर धाँजा फाट्न थालिसकेका थिए । तर केहीदिन देखिको लगातारको वर्षातले किसानहरु उत्साहित भएका हुन् । यसरी नै केही समयसम्म वर्षात भइरहने हो भने खडेरीको संकट टरेर जाने किसानहरुको विश्वास छ । 

अन्नको भण्डार भनेर चिनिने तराई मधेसमा लामो समय सम्म पानी नरेपछि किसानहरुले आफ्नो खेतमा धान रोप्न पाएका थिएनन् । सिचाइको व्यवस्था भएका केही क्षेत्रहरुमा धान रोपिएपनि धेरै क्षेत्रफल बाँझै रहेका थिए । 

रोपाइ हुन नसक्दा बिउ छिप्पिएको थियो भने रोपेका धान पनि पहेंलिन थालेका थिए । पर्याप्त पानी नहुँदा रोपिएका धान खेतहरुमा झारहरु पलाउन थालेका थिए । पम्पसेट, डिप बोरिङबाट पैसा तिरेर सिंचाइ गर्नुपर्दा किसानहरुको लगानी बढिरहेको थियो । तर केहीदिन देखिको लगातारको वर्षाले किसानहरुमा खुशी छाएको छ । 

देशभर मनसुनी वायुको प्रभाव, मलखादको अभाव 

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ ।

विभागका अनुसार आगामी केहीदिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने सम्भावना रहेको छ । यसले गर्दा धान रोप्न बाँकी किसानहरुलाई पनि सहज हुने विश्वास लिइएको  छ । तर पानी परेर रोपाई गरे पनि समयमा मलखाद नपाउँदा किसानहरुको चिन्ता घटेको छैन् ।

मधेस प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार मधेस प्रदेशका आठवटा जिल्लामा कुल ५ लाख ४२ हजार ५८०.७८ हेक्टर जमिन खेतीयोग्य रहेको छ । 

जसमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धान रोपाई हुने गरेको छ । श्रावण १६ गतेसम्म २ लाख १३ हजार ४३८.९५ हेक्टर जमिनमा धान रोपाइ सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशका आठवटा जिल्लामध्ये सबैभन्दा बढी पर्सा जिल्लामा ८५ प्रतिशत रोपाई सम्पन्न भएको छ भने सबैभन्दा कम महोत्तरी जिल्लामा ३९.७३ प्रतिशतमात्रै रोपाइँ भएको छ । 

कुन जिल्लामा कति प्रतिशत रोपाइ सम्पन्न ?

बारा जिल्लामा ८३ प्रतिशत,

रौतहटमा ७३ प्रतिशत, 

सर्लाहीमा ६५ प्रतिशत,

सिराहामा ५० प्रतिशत,

धनुषामा ४०प्रतिशत

र सप्तरीमा ४० प्रतिशत 

रोपाई सम्पन्न भइसकेको छ । 

समग्रमा मधेस प्रदेशमा ५७ दशमलव २७ प्रतिशत रोपाई सम्पन्न भइसकेको छ । यो वर्षासँगै रोपाईको क्रम बढिरहेकाले अब चाँडै नै रोपाइ सकिने कार्यालयको अनुमान छ । प्रत्येक वर्ष किसानहरुले धान रोप्ने बेलादेखि फल्ने बेलासम्म समस्या भोग्नु परेकाले यसको दीर्घकालिन समाधानको लागि तीनै तहको सरकारले योजनाहरु ल्याउनुपर्ने जानकारहरुको भनाइ छ । 

अझैपनि मधेस प्रदेशको धेरै खेतीयोग्य जमिनमा खेती गर्न किसानहरु आकासे पानीको भरमा छन् । तर पछिल्ला केही दशकयता पानी पर्ने मात्रा कम हुँदै गइरहेको किसानहरुको अनुभव छ । 

नदि तथा भुमिगत सिचाइको सुविधा पनि पर्याप्त नहुँदा धानबाली मात्र होइन अन्य बालीहरुको पनि उब्जनी घट्दो क्रममा र लगानी बढ्दो क्रममा छ । यसले गर्दा किसानहरु नै कृषि पेसा छाडेर पलायन हुने क्रम बढिरहेको छ । 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update