काठमाडौं । मलेशिया जाने नेपाली श्रमिकसँग गैरकानूनी रकम असुली अभियोगमा धमाधाम उच्च पदस्थ अधिकारीहरु पक्राउ परिरहेका छन् । दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिएपछि एकाएक फरार भएका पूर्व मुख्यसचिव एकनारायण अर्याल पनि पक्राउ परेका छन् । कसरी अगाडि बढ्दै छ, अनुसन्धान ?
रोजगारीका लागि मलेशिया जाने नेपाली श्रमिकहरुसँग गैरकानूनी तरिकाले रकम असुलेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान जारी राखेको छ । तत्कालिन मन्त्रीदेखि सचिवसम्म माथिल्लो निकायबाट नै गैरकानूनी रकम असुलेर ठगी गरिएको घटनाबारे सीआईबीले अनुसन्धान शुरु गरेपछि पक्राउ पर्ने डरले पूर्व मुख्यसचिव एकाएक दिल्ली पुगेका थिए । तर उनलाई पक्राउ भारतबाट नै पक्राउ गरि विहीबार काठमाडौं ल्याएको छ ।
घटनाको अनुसन्धानकै क्रममा दुई पूर्व मन्त्री शेरबहादुर कुँवर र रामेश्वरराय यादव प्रहरी थुनामै छन् । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालिसकेका पूर्वमन्त्रीद्वयसँगै मन्त्रालयका तत्कालीन सचिव विनोद केसीसहित १०जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख सहसचिव उमेश ढुङ्गाना, सोही शाखाका तत्कालीन प्रमुख राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
कसरी घुम्यो अनुसन्धानका सुई ?
मलेशिया जाने श्रमिकसँग गैरकानूनी रकम असुली गरेर ठगी गरेको उजुरी परेपछि गत असोज २९ गते सीआईबी टोलीले मलेसिया जाने नेपालीको स्वास्थ्य परीक्षण (बायोमेट्रिक) गर्ने संस्थाका सञ्चालक कैलाश खड्कासहित चारजनालाई पक्राउ गरेको थियो ।
जतिबेला काठमाडौं कागेश्वरी मनोहराका ४२ वर्षीय खड्कासहित भक्तपुर चाँगुनारायणका ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका रामपुकार तिवारी पक्राउ परे । उनीहरुले दिएको बयानका आधारमा नै सीआईबीको अनुसन्धान पूर्वमन्त्रीदेखि उच्च पदस्थ कर्मचारीसम्म पुगेको हो ।
अनुसन्धानकै क्रममा पूर्वमन्त्रीद्वय कुवँर यादवदेखि सचिवहरुसमेतलाई मंसिर २ गते पक्राउ गरिएपछि पूर्वमुख्यसचिव अर्याल भागेर दिल्ली पुगेका थिए । पक्राउ परेकाहरूविरुद्ध सीआईबीले ठगी तथा संगठित अपराधमा उजुरी दर्ता गरी अनुसन्धान गरिरहेको छ । अर्याल पक्राउ परेपछि यो प्रकरणको थप रहस्य खुल्ने अपेक्षा अनुसन्धान अधिकारीहरुको छ ।
कसरी भयो ठगी ?
मलेसिया जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षण र मेडिकल स्क्रिनिङका नाममा अतिरिक्त शुल्क तिर्न बाध्य पारिएको थियो । म्याक्रोटेक प्रालिले प्रत्येक कामदारबाट १०० मलेसियन रिङ्गिट उठाएको पाइएको छ । त्यसबेला उक्त रकम नेपाली करिब ३ हजार १६० रुपैयाँ बराबर थियो । कामदारबाट उठाइएको रकममध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउने प्रक्रियामा चारवटा मन्त्रीस्तरीय निर्णय भएको अनुसन्धानमा खुलेको छ ।
मेडिकल परीक्षणका लागि काठमाडौंका ३६ वटा स्वास्थ्य संस्थालाई समेत छनोट गरिएको थियो । उक्त निर्णय तत्कालीन श्रममन्त्री रहेका यादव र कुँवरको कार्यकालमा गरिएको भन्दै दुई पूर्व मन्त्रीलाई पक्राउ गरिएको हो । गैरकानूनी ठगी धन्दा २०७० देखिनै सूरु भई २०७५ मा दुई देशबीचको सम्झौता हुँदा पनि नरोकिएको अनुसन्धानमा देखिएको छ ।
सीआईबीको हालसम्मको अनुसन्धानका क्रममा कानुन विपरीतको नीतिगत निर्णयमार्फत एक अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ श्रमिकहरुबाट असुली गरेर रकम मलेसिया पठाएको खुलेको छ । उक्त रकम मलेशियाको बेस्टिनेट कम्पनीमा पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
को को भए मन्त्री, कसको भूमिका कस्तो ?
२०७५ कात्तिक १२ गते नेपालबाट मलेसिया जाने श्रमिकहरूलाई शून्य लागतमा पठाउने सम्झौता भएको थियो । त्यतिबेला श्रममन्त्रीमा एमाले नेता गोकर्ण विष्ट थिए । तर सम्झौताको एक महिना नहुँदै मंसिर ४ गते विष्ट मन्त्रीबाट हटे । र, उनको ठाउँमा नयाँ मन्त्री रामेश्वरराय यादव आए । यादव २०७६ मंसिर ४ देखि २०७७ पुस १० सम्म श्रममन्त्री बनेका थिए ।
यादवपछि २०७७ माघ १० देखि २०७८ वैशाख ७ गतेसम्म गौरीशंकर चौधरी मन्त्री भए । त्यसपछि २०७८ जेठदेखि असार ८ गतेसम्म विमलप्रसाद श्रीवास्तव मन्त्री भए । श्रीवास्तवपछि २०७८ असोज २२देखि २०७९ असार १३ गतेसम्म कृष्णकुमार श्रेष्ठ मन्त्री भए । श्रेष्ठपछि मन्त्री भएका शेरबहादुर कुवँरलाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कुवँरपछि हालका सभामुख डोलप्रसाद अर्याल श्रममन्त्री बनेका थिए । अर्यालपछि शरतसिंह भण्डारी मन्त्री बने । शरतसिंहपछि पुनः डोलप्रसाद नै दोस्रो कार्यकालका लागि श्रममन्त्री बनेका थिए । यो प्रकरणको अनुसन्धान सकिएको छैन ।
अनुसन्धान दुई मन्त्रीमै सीमित रहन्छ कि हालका सभामुखसम्म आइपुग्छ, त्यो भने प्रतिक्षाको विषय बनेको छ ।


