News 24 Television
शान्ति भूमि लुम्बिनी अशान्त यात्रामा, समाधानमा खेलाँची किन ?

रुपन्देही । शान्ति, करुणा, अध्यात्म र बुद्ध जीवनीबारे जान्न, बुझ्न र घुम्न विश्वभरका पर्यटक लुम्बिनी आउँछन् । तर, पछिल्ला केही दिनयता लुम्बिनीमा भइरहेको विरोध र धर्ना कार्यक्रमले शान्ति भूमि अस्तव्यस्त बनेको छ । विभिन्न माग राखेर लुम्बिनी विकास कोषका कर्मचारीले विरोधका कार्यक्रम गरेपछि शान्ति भूमि अशान्त बनेको हो । 

चार बुँदे माग राखेर लुम्बिनी विकास कोषका कर्मचारीहरु विरोध र धर्नामा उत्रिएपछि शान्ति भूमि लुम्बिनी अशान्त बन्दै गएको छ । ९ दिनदेखिको जारी धर्ना र प्रदर्शनले लुम्बिनीमा अशान्ति छाएको मात्रै छैन, प्रशासनिक कामकाज समेत ठप्प छन् । कोषका कर्मचारीले साउन १३ गतेबाट कामकाज ठप्प गरेर आन्दोलनमा उत्रिएका हुन् । 

कर्मचारी युनियनको आह्वानमा भएको विरोध र धर्नाबारे कोषका पदाधिकारी र जिम्मेवार अधिकारीले वेवास्ता गर्दै आएका छन् । बरु कोषका जिम्मेवार पदाधिकारी सबै राजधानीमा आनन्दले बसिरहेका छन् । उपाध्यक्ष ल्याहारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई र योजना प्रमुख स्मिता भट्ट सबै काठमाडौंमा छन् । 

कोषाध्यक्ष भट्टराई विरामी भई उपचार गराइरहेका छन्, भने सदस्य सचिव शाक्यले साउन ५ गते राजीनामा दिए पनि अझै स्विकृत भएको छैन् । लुम्बिनी आन्दोलनले अशान्त बनिरहँदा पदाधिकारीको खेलाँचीप्रति कर्मचारी झनपछि झन आक्रोसित हुँदै गएका छन् ।

कर्मचारी युनियनले संचित बिदा, कोष भत्ता र मंहगी भत्ता पाउनु पर्ने, २०७९ कर्मचारी विनियमावली संशोधन गरेर उमेर हद लागु नहुने गरि सिमित प्रतियोगितात्मक परीक्षाबाट हाल सेवा करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग गरेका छन् । यस्तै दरबन्दी चाँडै स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गरिनु पर्ने र कोष कर्मचारी विनियमावली २०७९ अनुसार स्थायी कर्मचारीलाई पद बढुवा गर्नु पर्ने माग राखेका छन् । 

विरोध कहिले के भयो ?

-   साउन ५ नै ज्ञापनपत्र बुझाएर विरोधका कार्यक्रम सार्वजनिक 

-   गत साउन ८ र ९ मा हातमा कालो पट्टी बाँधेर कर्मचारीले आफ्ना माग पूरा गर्न दबाब दिँदै काम गरेका 

-    मागबारे कुनै सुनुवाइ नभएपछि साउन १३ देखि कामकाज ठप्प पारी कार्यालयमा तालाबन्दी 

-   कोषमा ४० स्थायी र १ सय ७७ सेवा करारका कर्मचारी छन् । 

अझै थप सशक्त आन्दोलनको चेतावनी, के छन् त अबका आन्दोलनका योजना ?

-   अब कोष गुरुयोजना भित्र प्रवेश गर्ने गेट, टिकट काउन्टर र संग्राहलयमा समेत तालाबन्दी गर्ने चेतावनी 

-    तरपनि, कोषका पदाधिकारी भने काठमाडौंबाट लुम्बिनी फर्किएका छैनन् । 

-   तल्लो तहका कर्मचारीलाई आन्दोलन मत्थर पार्न हम्मेहम्मे 

लुम्बिनीमा अहिले पनि दर्जनौं मुलुकका पर्यटकहरु आइरहेका छन् । तर, कोषका कर्मचारीहरुको आन्दोलनले शान्ति खोज्दै आएका पर्यटकहरु विक्षिप्त छन् । राजनीतिक भागबण्डामा नियुक्त हुने पदाधिकारीका कारण लुम्बिनीमा सधैंजसो विमती, धर्ना, प्रदर्शन र गैरजिम्मेवार काम हुँदै आएको आरोपहरु सतहमा छन् । 

यसपटक लामो समय आन्दोलन जारी रहँदा शान्ति भूमि अशान्त मात्रै बनेको छैन, कोषको दैनिक कामकाजसँगै योजना तर्जुमा ठप्प भइरहेको छ भने अन्तर्राष्ट्रिय जगतमा समेत लुम्बिनीको बद्नामी हुने जोखिम बढेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update