
काठमाडौं । बैंक खातामा रकम छ भन्दै ढुक्कले बस्न पनि नसकिने स्थिति बन्दै गएको छ । विभिन्न खाले एप अझं एआईको निर्भरताले मानिसलाई क्षणभरमै शून्यमा झारिदिन सक्छ । खाता एक्कासी रित्तिन सक्छ । यसैको पर्याय बनेको छ, एउटा नक्कली मोबाइल एप, ‘नेप्से एआई’ । उच्च नाफाको लोभ देखाएर शेयर बजारको नाममा झूटो सपना बेच्ने यस साइबर गिरोहले हालसम्म ८० करोड रुपैयाँभन्दा बढी हत्याइसकेको छ । तर, यो प्रबिधि नयाँ भने होइन । यस्ता गिरोहले फरक–फरक नामक एपबाट पनि लुट मच्चाइरहेका छन् । एक रिपोर्ट ।।
के तपाईंले ‘नेप्से एआई’ माबाइल एप डाउनलोड गर्नुभएको छ ? वा डाउनलोड गर्ने सोचमा हुनुहुन्छ ?
एकै क्लिकले तपाईंको बैंक खाता रित्तिन सक्छ ।
फेसबुकको नीलो पर्दामा देखिएको ‘ग्यारेन्टी नाफा, कुनै जोखिम छैन’ भन्ने मोहक विज्ञापनमा एक व्यक्तिले मात्र केही सेकेन्डको भरोसा देखाए । परिणाम, उनका विभिन्न बैंक खाताबाट २८ लाख ६१ हजार रुपैयाँ पलभरमै अपरिचित खातामा बगाएजस्तो हरायो । रकमसँगै हराए उनका मोबाइलका सबै डाटा र एप्स ।
यो केवल एउटा घटना मात्र होइन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अनुसार पछिल्ला दिनमा ‘नेप्से एआई’ नामक नक्कली मोबाइल एपमार्फत लाखौं रुपैयाँ चोरी भइरहेको छ । भ्रामक विज्ञापनको लोभ देखाएर प्रयोगकर्ताको बैंक खाता रित्याउने संगठित गिरोह सक्रिय छ । बुधाबार मात्रै साइबर ब्यूरोमा ‘नेप्से एआई’ एपबाट ४० लाख हराएको उजुरी परेको छ भने यो एप मार्फत पैसा चोरी भएको भन्दै १५ उजुरी दर्ता भएका छन् ।
संगठित साइबर आपराधिक गिरोहले ‘नेप्से एआई’ नामक नक्कली मोबाइल एपमार्फत हालसम्म ८० करोड रुपैयाँभन्दा बढी रकम हत्याए प्रहरीको अनुमान छ । यो गिरोहले शेयर बजारमा कृत्रिम बौद्धिकता प्रयोग गरेर ‘उच्च नाफा कमाइदिने’ प्रलोभन देखाउँदै सर्वसाधारणलाई फसाउने गरेको छ । तर, एप इन्स्टल भएपछि पीडितको मोबाइल र बैंक खातामाथि ह्याकरहरूको पूर्ण नियन्त्रण पुग्ने र केही मिनेटमै सम्पूर्ण रकम रित्तिने गरेको पाइएको छ ।
कसरी हुन्छ यस्तो ठगी ?
सीआईबीका अनुसार यस्तो एप्सको मुख्य उद्देश्य प्रयोगकर्ताको मोबाइलमा रिमोट एक्सेस लिनु हो । एकपटक इन्स्टल भएपछि ह्याकरहरूले ब्लथमभकप, त्भबmख्ष्भधभच जस्ता सफ्टवेयर प्रयोग गरेर टाढैबाट मोबाइल नियन्त्रणमा लिन्छन् । त्यसपछिः
– मोबाइल बैंकिङ एप खोलिन्छ
– लगइन जानकारी चोरी गरिन्छ
– रकम आफ्नै खातामा सारिन्छ
– मोबाइलका सबै डाटा र एप्स मेटाएर प्रमाणसमेत नष्ट गरिन्छ
साइबर अपराधको लहर
प्रहरीका अनुसार यस्ता ठगीका उजुरीहरू विगतदेखि नै आइरहेका छन् । तर पछिल्लो समय ‘नेप्से एआई’ जस्तो एपमार्फत ठगीको दर उच्च भएको छ । ब्युरोले ‘कुनै पनि अपरिचित लिंक, एप्स वा विज्ञापन क्लिक नगर्नु’ भन्दै आपतकालीन सूचना पनि जारी गरेको छ ।
सुरक्षित रहने उपाय
यस्तो गिरोहबाट बच्न यी कुरामा ध्यान दिनु जरुरी छः
– बैंकिङ वा ट्रेडिङ एक्सेस माग्ने अपरिचित एप कहिल्यै इन्स्टल नगर्ने
– अनजान व्यक्तिलाई ब्लथमभकप वा त्भबmख्ष्भधभच मार्फत रिमोट एक्सेस नदिने
– सम्भव भएसम्म टू–फ्याक्टर अथेण्टिकेसन ९द्दँब्०क्ःक् प्रणाली सक्रिय गर्ने
– पासवर्ड नियमित रूपमा परिवर्तन गर्नु र एउटै पासवर्ड धेरै साइटमा प्रयोग नगर्ने
– बैंक स्टेटमेन्ट दैनिक हेर्ने र शंकास्पद गतिविधि तुरुन्त बैंक वा प्रहरीलाई खबर गर्ने
– सामाजिक सञ्जालमा देखिएका वित्तीय विज्ञापन आधिकारिक स्रोतबाट पुष्टि नगरी क्लिक नगर्ने
– उपकरणलाई अपडेटेड राख्ने, एन्टिभाइरस÷एन्टिमालवेयर प्रयोग गर्ने
– ठगी देख्नेबित्तिकै साइबर ब्युरोमा उजुरी दिने
– आफ्ना परिवार र साथीलाई यसबारे सचेत गराउने
अनलाइनमार्फत हुने ठगी चिन्ताजनक
पछिल्लो समय अनलाइनमार्फत हुने ठगीको अवस्था चिन्ताजनक बन्दै गएको छ । प्रविधिको तीव्र विस्तारसँगै सर्वसाधारण डिजिटल अपराधको दलदलमा फस्ने क्रम बढेको देखिन्छ ।
– नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१\०८२ मा मात्रै अनलाइन माध्यमबाट ८३ करोड ५९ लाख ९० हजार १३३ रुपैयाँ सर्वसाधारणको खाताबाट हराएको छ ।
– यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २.४ गुणा बढी हो ।
– २०८०\०८१ मा अनलाइन ठगीमार्फत ३४ करोड ७२ लाख १५ हजार ५११ रुपैयाँ मात्र चोरी भएको थियो ।
यी तथ्यांकले डिजिटल आपराधिक क्रियाकलाप भयावह गतिमा फैलिँदै गएको स्पष्ट संकेत गर्छ । प्रहरी केही समय अघि यस्ता मालवेयरले सूचना कहाँ पठाउँछ भनेर अध्ययन पनि गरेको थियो । युरोपको कुनै देशमा सरर्भर होस्ट भएको प्रहरीले फेला पारेको थियो । तर, त्यस्ता देशहरूसंग द्विपक्षीय बहुपक्षीय सम्झौता नभएका कारण अपराधिलाई कानूनी दायरामा ल्याउनु त परको कुरा प्रहरीले सूचना समेत लिन सक्दैन । तर, यसको बहस चलाउन आवश्यक रहेको अनुसन्धानका जानकारहरू बताउँछन् ।
डिजिटल प्रविधिले जीवनलाई सहज र छरितो बनाएको छ । तर, यिनै प्रविधि अपराधीहरूको हतियार पनि बनेका छन् । अनलाइन ठगीले नागरिकको आर्थिक मात्र होइन मानसिक स्वास्थ्यमा समेत गहिरो असर पार्दै गएको छ । यसले डिजिटल सेवाप्रति सर्वसाधारणको विश्वासमा ठूलो चुनौती खडा गरेको छ । अनलाइनमार्फत हुने ठगीबाट नागरिक आफै सचेत रहन आवश्यक छ ।