
मकवानपुर । बागमती प्रदेशसभाको अस्थायी भवन सञ्चालनमा ल्याइने भएको छ । करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको प्रि–फ्याब भवनको बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले एक समारोहबीच उद्घाटन गरेका हुन् ।
राज्यकोषको १२ करोड भन्दा बढी रकम खर्च गरेर बागमती प्रदेशसभाको अस्थायी भवन सञ्चालनमा ल्याइने भएको छ । ५ वर्ष लगाएर बल्लबल्ल निर्माण गरिएको अस्थायी भवनको उद्घाटन बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गरे । बागमती प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री मुख्यमन्त्री डोरमणि पौडेलले ५ वर्षअघि यस भवनको शिलान्याश गरेका थिए ।
११० सदस्यीय बागमती प्रदेश सभामा बैठक बस्नका लागि राखिएको कुर्सीले सांसदहरुलाई उठेर रोस्टमसम्म पुग्न समेत सकस भएपछि तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलले अस्थायी भवन निर्माणको सुरुवात गरेका थिए । तर एउटा अस्थायी भवन निर्माणका लागि नै प्रदेश सरकारले ५ वर्ष समय र १२ करोड भन्दा बढी रकम खर्चियो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण जिम्मा सम्पन्न गरि भवन प्रदेशसभालाई हस्तान्तरण गरेको हो ।
प्रदेश स्थापना भएसँगै वि.सं. २०७४ फागुन १४ गतेको बैठकबाट आफ्नो कार्य सञ्चालन गर्न थालेको बागमती प्रदेशसभाले २०७७ मंसिर १० गते मात्रै अस्थायी प्रदेश सभा भवनको शिलान्याश गरेको थियो । अब सञ्चालनमा आउने प्रदेशसभा हल प्रतिनिधिसभा हलकै झल्को दिनेगरी निर्माण गरिएको छ । बस्ने कुर्सीदेखि बोल्ने माइकसम्म उच्च स्तरको प्रयोगबाट तयारी हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यो भवन सम्पन्न हुँदासम्म धेरै अवरोधहरु एवम् प्राविधिक त्रुटी रहेका थिए । त्यसैले नै एकपटक सम्पन्न भवन लगत्तै पुनःनिर्माण गर्नुसम्म परेको थियो ।
स्थायी संरचना निर्माण गर्न नसकेको प्रदेश सरकारले अस्थायी संरचनामा यत्तिका रकम खर्चिनुले प्रदेश सरकारप्रति प्रश्न उठाएको छ । तथापि, अस्थायी संरचनालाई स्थायी बनाउन प्रदेश सरकारले पहल गर्ने प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयको दाबी छ ।
५ वर्षसम्म पनि यो भवन तयार नभएकाले यसअघि क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो । हालसम्म निर्देशनालय रहेकै भवनबाट प्रदेशसभाको काम कारबाही सञ्चालन भइरहेको छ ।