
पाल्पा । हाम्रो समाजमा बाजा बजाउने महिलाहरु कमै भेटिन्छन् । भेटिइहाले पनि समाजले झट्ट स्वीकार्दैन । तर, पाल्पा तानेको तेल्घाका महिलाहरुले भने बाजा बजाउने पेशा अगालेका मात्रै छैनन्, वार्षिक लाखौं रुपैयाँ समेत आम्दानी गर्दै आएका छन् ।
पाल्पाको तानसेन नगरपालिका–१०, तेल्घाका महिलाहरुले बाजा बजाएर मात्र वार्षिक लाखौ रुपैयाँ कमाउने गरेका छन् । ३ वर्षदेखि शुरु गरेको बाजा बजाउने व्यवसायले महिलाहरुको आयआर्जन मात्रै होइन्, आत्मविश्वास, हौसल्ला र इज्जत बढाएको छ । ६० वर्ष उमेर पुगिरहेका महिलाहरु पनि युवा जस्तै जोशमा बाजा बजाउन खटिन्छन् । बाजा बजाउने टिमको नेतृत्व गरेका छन्, हजुर आमा पुस्ताका महिलाहरु ।
उनीहरुमा कुनै उमेर घर्केको महशुस छैन । युवाको जस्तै जोशजांगर, साहस र हिम्मतका साथ सामाजिक चुनौतीहरुलाई चिर्दै बाजा बजाउने काममा सक्रिय छन् । तारादेवी बस्यालको नेतृत्वमा कमला बस्याल, मञ्जु पन्थी, मनकुमारी न्यौपाने, भगवती भुसाल, तारा भट्टराई, सुष्मा बस्याल, सविता अधिकारी, खुमा पंगेनी, मञ्जु कंडेल, मिरा न्यौपाने र निरला शर्मासहित १२ जना महिलाको टोलीले बाजा बजाउँदै, कमाउँदै आएका छन् ।
पाल्पाका अधिकाश, कार्यक्रम, विवाह, महोत्सव, बार्षिक उत्सवदेखि विभिन्न मेलासमारोहमा महिला बाजाको माग हुने गरेको छ । महिलाले बजाएको धंकुरी कर्नाल, सन्हाई, मरचुङ्गा, दमाहा, ढोलक, ट्याम्को, झ्यालीले सबैलाई आकर्षित बनाउने गरेको छ । ब्राह्मण समुदायका महिलाहरु मिलेर बाजा बजाउने काम गर्दै आएका हुन् । महिला बाजा समूहले एउटा कार्यक्रमको १५ हजार देखि ६० हजारसम्म पारिश्रमिक लिने गरेका छन् । बाजा बजाउँदा बार्षिक रुपमा तीन लाख रुपैयाँसम्म आम्दानी हुने छ ।
तानसेन तेल्घाको महिला बाजा जिल्लाभित्र मात्र होइन्, छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची रुपन्देही र स्याङ्जासम्म चर्चित छ । घरधन्दाको कामले मात्र जीवन विताउन कठिन भएपछि गाउँका महिलाहरुले सरसल्लाह गरेर बाजा बजाउन सिकेका हुन् । तेल्घाका महिलाहरुको लागी बाजा बजाउने काम नै मुख्य पेशा बनेको छ ।
बाजा बजाउँदा सबैतिरबाट हौसल्ला पाएको, आम्दानी पनि राम्रो भएको, पेशाप्रति खुसी र सन्तुष्टि मिलेको समूहकी उनीहरु बताउँछन् । शुरुका दिनमा बाजा बजाउने काममा ब्राह्मण समुदायका महिलाहरु लागेको भन्दै विभिन्न ठाउँमा, कुरा काट्ने गरेको उनीहरुको अनुभव छ । यसलाई वेवास्ता गर्दै शुरु गरेको काम सफल हुँदा उनीहरु खुशी छन् ।
निरन्तर मिहिनत र संघर्षका कारण अहिले तानसेन पाल्पाको महिला बाजा भनेर चर्चा कमाएका छन् । चर्चासँगै राम्रो आम्दानी, घरपरिवारको साथ र सहयोग भएपछि महिलाहरुमा कामप्रति हौसला बढेको छ ।
आम्दानी हुने जुनसुकै काम पनि महिलाको चासो र सरोकार बढ्दै गएको छ । महिलाले गर्ने कामहरुमा परिवार, समुदाय र सरकारले पनि सहयोग र हौसल्ला बढाउने गरेको छ । परिवार, समाज र सरकारको सहयोगकै कारण तानसेनका महिलाहरुमा जोश, जागर र उस्ताह बढेको छ, जसका कारण बाजाको माध्यमबाट महिलाहरुले आयआर्जनको बलियो माध्यम बनाएका छन् ।