
पर्सा । करिब २ दशकदेखि बन्द रहेको वीरगञ्जको कृषि औजार कारखाना पुनः सञ्चालनमा आएकोे करिब २८ महिनापछि व्यवसायिक उत्पादन शुरु गरेको छ । कृषिप्रधान मुलुकको एक मात्र कृषि औजार कारखानालाई नेपाल सरकारले आवश्यक नठानेर बन्द गरेको थियो ।
तर, सोहि कारखानालाई महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरेर कृषिको लागि आवश्यक औजार उत्पादन शुरु गरेको छ । खण्डहरमा परिणत भैसकेको कृषि औजार कारखानालाई आविष्कार केन्द्रले पुर्नजिवीत गर्दै राज्यलाई कर समेत तिर्न थालेको छ । नेपाल सरकारले स्वदेशी उद्योगलाई अर्थतन्त्रको मेरुदण्ड भन्ने गरेको छ । तर आर्थिक स्थितिका कारण धरासायी हुन लागेका उद्योगहरुको समस्यामाप्रति कुनै चासो नराख्दा ति उद्योगहरु बन्द हुने अवस्थामा छन् ।
आयात प्रतिस्थापन गर्न स्वदेशी उद्योगमैत्री वातावरण बनाउनमा जति ठूलो कुरा गरेपनि राज्यले अहिलेसम्म उद्योग संरक्षणमा कुनै ठोस कदम चाल्न सकेको छैन । त्यसको एक प्रमुख उदाहरण होे, पर्साको वीरगञ्जमा रहेको मुलुकको एकमात्र कृषि औजार कारखाना ।
नाफै नाफामा रहेको यो कारखाना तत्कालिन सरकारको गलत नीतिकै कारण बन्द हुन पुग्यो । कुनैबेला कृषिमा आश्रित सयौँ कृषकहरुको सहयोगी बनेको कृषिऔजार कारखाना खण्डहरमा परिवर्तन हुनुका साथै, यसले देशको अर्थतन्त्रमा समेत प्रतिकुल प्रभाब पारेको थियो ।
बेलाबखतमा निर्वाचनको मुख्य मुद्धा बनेपनि जितेर गएका नेताहरुले यो कारखाना बनाउनमा खासै चासो नदेखाउदाको कारण कारखाना दिनप्रतिदिन जिर्ण र जर्जर बन्दै गएको थियो । तर, महाविर पुनः नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले कारखानाको संचालनको जिम्मा पाएपछि अहिले कृषकहरुमा छुट्टै खुसियाली छाएको छ । केन्द्रले आफ्नो जिम्मामा लिएर कारखाना र त्यहाँ रहेको मेशिनहरुको मर्मत गरेर विभिन्न औजारहरु उत्पादन गरी विक्री वितरण शुरु गरेको छ ।
गत २०७९ सालमा अर्थमन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रवीच कारखाना संचालन सम्बन्धि सम्झौतामा पहिलो वर्ष सरकारले बजेट उपलब्ध गराउने भनेको थियो । तर शर्त बमोजिम सरकारबाट कुनै सहयोग प्राप्त नभएपछि महाविर पुनले आफ्नो जीवनमा आधारित पुस्तक विक्री गरेर भएको आम्दानीबाट कारखानामा भारत र चीनबाट लेजर वेल्डीङ, हेजर मार्किङ, फाईबर लेजर सिट कटीङ जस्ता नयाँ मेशिनहरु खरिद गरि कृषि औजारहरु उत्पादन शुरु गरेको हो ।
राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले अहिलेसम्म १६ लाख बराबरको उत्पादन विक्री गरिएको जानकारी दिएका छन् ।
हालसम्म कारखानाको मर्मत सम्भारदेखी सञ्चालनसम्म केन्द्रले आफ्नो ३ करोड ७० लाख रुपैया खर्चेको छ । अहिलेको आधुनिक युगमा प्रविधिको उच्चतम प्रयोग गरि उत्पादन लागत कम गनुपर्नेमा बजेट अभावका कारण पुरानै मेशिनहरुको मर्मत सम्भार पश्चात उपकरण प्रयोग गर्ने बाध्यता रहेको देव बताउँछन् ।
तत्कालिन राजा महेन्द्र शाहले तत्कालिन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा वि.स २०२४ साल फागुन २८ गते वीरगञ्जमा कृषि औजार कारखानाको उद्घाटन गरेका थिए । कृषि क्षेत्रमा मुलुकलाई पूर्णरुपमा आत्मनिर्भर बनाउने उदेश्यलिएर संचलानमा ल्याएको उक्त कारखानामा बढदो राजनीतिकरण र सरकारको गलत नीतिले बन्द हुन पुगेको काराखानाका सुरक्षा इन्चार्ज मनोहर गौतम बताउँछन् ।
सम्झौताअुनसार आविष्कार केन्द्रले कारखानाबाट उत्पादित उपकारणको विक्री गरे बापतको रकम ५० प्रतिशत आविष्कार केन्द्र र ५० प्रतिशत नेपाल सरकारको राजश्व खातामा पठाउनु पर्नेछ । तर, सरकारले कारखाना सञ्चालनमा खर्च नदिएको हुँदा अहिले कृषि उपकरण विक्रीको रकम केन्द्र आफैले राखेको तर कर भने तिर्ने गरेको गौतमको भनाई छ ।
देशको अधिकांश ठाउँमा प्रविधिको पहुच भएसंगै कृषिमा समेत आधुनिक उपकरणहरुको प्रयोग बढ्दै गएको छ । समय र श्रमको कम लगानीमा बढी फलदिने हुँदा अहिले आधुनिक खेतीतर्फ कृषिकहरुको आकर्षण बढ्नु स्वाभाविक हो । तर विडम्बना नेपालमा पाईने कृषि उपकरणहरु आयातित छन् , जसकारण वर्षेनी अर्वौ रुपैयाँ देशबाट बाहिरीदै छ ।
राष्ट्रिय आविष्कार केन्द्रको कारखानालाई पुर्नजिवीत बनाउने कार्य प्रशंसनीय भएपनि यद्यपि कारखानाको संचालन र उत्पादनको अवस्था यस्तै रहयो भने, केन्द्रको प्रयास औजार उत्पादनभन्दा केवल संचालनको लागि मात्रै भएको हो कि भन्ने प्रश्न उठ्न सक्छ ।