
वीरगञ्ज । वीरगञ्जमा पनि भव्यताका साथ भीमसेन जात्रा मनाइएको छ । शक्ति, समृद्धि र आस्थाको प्रतिक मानिने भमिसेन जात्रा आर्थिक नगरी वीरगञ्जमा धुमधमाका साथ मनाइएको हो ।
हुन त यो पर्व विषेश गरी नेवार समुदायले मनाउने गर्छन् तर आर्थिक समृद्धि , व्यवसाय फस्टयाउन आशीर्वाद माग्दै वीरगञ्जका व्यापारीहरुले पनि भीमसेन देवतालाई पूज्ने गर्दछन् ।
प्रत्येक वर्ष झैँ यसवर्ष पनि वीरगञ्जको विर्तामाई मन्दिरमा विषेश पूजाआजा गरी रथ यात्रा निकालिएको थियो । नेवार समुदायले तान्त्रिक विधीबाट भीमसेन देवताको पूजाआजा गरी वीरगञ्जको ऐतिहासिक शक्तिपिठ विर्तामाईको मन्दिरमा रहेको भीमसेन मूर्तिको स्थानमा लैजाने गर्दछन् ।
मन्दिरको प्रांगणमा पुनः पूजाआज गरी भीमसेन देवतालाई रथमा राखेर नगर परिक्रमा गराउने गरिन्छ । नेवारी बाजागाजा सहित निकालिएको रथ यात्रा वीरगञ्जको मुख्य सडक अलख्यामठ, आदर्शनगर, माईस्थान हुँदै पुन मन्दिर प्रगंणमा आएर सम्पन्न भएको थियो । सो अवसरमा नेवारी महिलाहरुले आफ्नो सांस्कृतिक पोशाक सहित धिमे बाजाको तालमा नाचगान गरेका थिए ।
विगतमा वीरगञ्जमा डर र त्रासका वातावरणमा भीमसेज जात्रा मनाउने गरिन्थ्यो । कडा सुरक्षा व्यवस्थाका बाबजुत जात्रामा झडप, तोडफोड जस्ता अप्रिय घटना हुने गर्दथ्यो, यतिमात्र नभई केहीदिन वीरगञ्जमा कर्फ्यू लगाउने स्थिति पनि सृजना भएको नेवा समुदायका अगुवाहरु बताउँछन् ।
तर वीरगञ्जका बुद्धिजिवी तथा अगुवाहरुले जात्रालाई व्यवस्थित बनाउन विषेश भूमिका निर्वाह गरेपछि पछिल्ला वर्षहरुमा शान्तिपूर्ण वातावरणमा जात्रा सम्पन्न हुँदै आएको छ । जसकारण जात्रामा महिलाहरुको पनि सहभागिता बढ्दै गएको छ ।
वीरगञ्जमा भीमसेन जात्राको १ सय वर्षको इतिहास छ । वीरगञ्जमा सबैभन्दा पुरानो एकमात्र भीमसेन थान वीरगञ्जको विर्ता मन्दिरको प्रांगणमा अवस्थित छ । तर पछिल्ला वर्षहरुमा विभिन्न स्थानमा भीमसेन देवताको मन्दिर निर्माण भएपछि आ–आफ्नो स्थानमा सबै समुदाय मिलेर यो जात्रा मनाउँदै आएको नेवा देय दबू वीरगञ्ज महानगर समितिका अध्यक्ष सत्यम खड्गीले बताए ।
जात्रालाई सभ्य रुपमा सम्पन्न बनाउन पर्साका प्रहरी प्रशासनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विगतको घटनालाई मध्यनजर गर्दै पर्साका प्रहरी नायब उपरीक्षक किशोर लाम्सालको कमाण्डमा करिब ३ दर्शन भन्दा बढी सुरक्षाकर्मी खटाइएको थियो ।
खासगरी नेवार समुदायले मनाउने यो जात्रामा अन्य समुदायको पनि उत्साहजनक सहभागिता रहेको गरेको छ । जसले वीरगञ्जमा सबै समुदायविच एकता, एकापसमा भाईचारा, सदभाव रहेको भन्ने सन्देश प्रवाह गरेको छ ।