काठमाडौं । सवारी साधनको प्रदर्शनीमा यसपटक सडकमा गुड्ने गाडीभन्दा पनि आकाशमा उड्ने ट्याक्सीले सबैको ध्यान तानेको छ । भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा पहिलोपटक चीनमा बनेको अत्याधुनिक ‘फ्लाइङ ट्याक्सी’ सार्वजनिक प्रदर्शन गरिएको छ । धावनमार्गबिनै सिधै आकाशतर्फ उड्न सक्ने यो ट्याक्सी भविष्यमा सहरी यातायात र आपतकालीन सेवामा गेम–चेन्जर बन्न सक्ने विश्वास गरिएको छ । तर, हाल भने नेपालमा कानुनी व्यवस्था नहुँदा यसलाई केवल प्रदर्शनीका लागि मात्र भित्र्याइएको हो ।
नेपाली अटोमोबाइल इतिहासमा पहिलोपटक ‘फ्लाइङ ट्याक्सी’ सार्वजनिक प्रदर्शन गरिएको छ । चिनियाँ अटोमोबाइल कम्पनी चांगानले अर्को चिनियाँ कम्पनी इ–हानको प्राविधिक सहयोगमा निर्माण गरेको अत्याधुनिक प्रविधियुक्त यो हवाई ट्याक्सीलाई काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) प्रदर्शनीमा राखिएको हो ।
भदौ ३ देखि ८ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा सयौं नयाँ मोडलका गाडीहरू प्रर्दशनमा राखिएका छन् । तर ‘फ्लाइङ ट्याक्सी’ सबैभन्दा ठूलो आकर्षण बनेको छ । यो हवाई ट्याक्सीलाई नेपालमा ‘एमएडब्लू वृद्धि अटोकर्प’ कम्पनीले ल्याएको हो । जसले यसअघि पनि चांगानकै लोकप्रिय ब्रान्ड ‘दिपल’ इलेक्ट्रिक कार नेपाली बजारमा भित्र्याउँदै आएको छ ।
कस्तो छ फ्लाइङ् ट्याक्सी ?
‘इलेक्ट्रिक–भर्टिकल टेक अफ एन्ड ल्यान्डिङ’ (ई–भिटिओएल) नाम दिइएको यो फ्लाइङ ट्याक्सी धावनमार्ग नचाहिने प्रविधिमा आधारित छ । हेलिकप्टरझैं जमिनबाट सिधै ९० डिग्रीमा माथि उड्छ र सोही शैलीमा अवतरण गर्छ । नेपाल ल्याइएको मोडल ‘इएच२१६–एस’ हो । छोटो दूरीको सहरी उडान र आपतकालीन सेवामा उपयोगी मानिन्छ ।
यसमा १६ वटा इलेक्ट्रिक मोटर र प्रोपेलर जडान गरिएको छ । एकपटक पूरा चार्जपछि करिब ३५ किलोमिटरसम्म उड्न सक्छ भने अधिकतम गति १३० किलोमिटर प्रतिघन्टा हो । ट्याक्सीले अधिकतम तीन हजार मिटर उचाइसम्म पुग्ने क्षमता राख्छ । अधिकतम २१ मिनेटसम्म लगातार उडान भर्न सक्ने यो ट्याक्सीले दुई यात्रु मात्र अर्थात २२० किलो तौलसहित उड्न सक्छ ।
मूल्य कति ?
चीनमा यसको मूल्य करिब ३ लाख ३३ हजार अमेरिकी डलर (४ करोड ६६ लाख रुपैयाँ) छ भने अन्तर्राष्ट्रिय बजारमा ४ लाख १० हजार डलर (५ करोड ७४ लाख रुपैयाँ) पर्छ । नेपाली बजारमा भने यसको अनुमानित मूल्य ७ देखि ८ करोड रुपैयाँ पर्न सक्ने छ । हाल नेपालमा ‘फ्लाइङ ट्याक्सी’ सञ्चालनका लागि कानुनी प्रावधान नभएकाले यो ट्याक्सी केवल प्रदर्शनीका लागि ल्याइएको हो । प्रदर्शनी सकिएपछि पुनः चीन फर्काइनेछ ।
तर नेपालजस्तो सडक सञ्जाल सीमित र भौगोलिक चुनौतीपूर्ण मुलुकका लागि भविष्यमा यस्तो प्रविधि यातायात व्यवस्थापनमा ठूलो विकल्प बन्न सक्ने देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनी उद्घाटन गर्दै फ्लाइङ ट्याक्सी नेपालमा सार्वजनिक हुनु अटोमोबाइल उद्योगलाई नयाँ युगतर्फ डो¥याउने ऐतिहासिक क्षण भएको टिप्पणी गरे ।
भविष्यमा यस्तो प्रविधिले आपतकालीन उद्धारदेखि सहरी यातायात व्यवस्थापनसम्म महत्वपूर्ण योगदान पु¥याउने प्रधानमन्त्रीको विश्वास छ ।
यस पटकको नाडा प्रदर्शनीमा १९ वटा चारपाङ्गे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे ब्रान्ड, अटो पाट्र्स, ब्याट्री, टायर, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण र वित्तीय सेवासहित ३५ कम्पनीको सहभागिता छ । एक लाखभन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शक सहभागी छन् । फ्लाइङ ट्याक्सी बाहेक युनिट्री रोबोट्सका अत्याधुनिक रोबोट र डिपलको ईभीटोल यूएभी समेत मुख्य आकर्षणमा छन् ।
साथै भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, माज्दा फेमिलिया र टोयोटा एमआर २ जस्ता पुराना ब्रान्डका सवारीसाधन पनि देख्न पाइन्छ ।