
काठमाडौं । शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अब मन्त्रालयबाटै दैनिक अनुगमन हुने भएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज मन्त्रालयमा अनलाइन अनुगमन कक्षको शुभारम्भ गरेका छन्। सो क्रममा उपप्रधानमन्त्री सिंहले अनलाइन अनुगमन कक्षले आयोजनाहरुको कार्यगति बढाउन र आइपर्ने समस्या हल गर्न सहज हुने बताए।
‘शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अनलाइन अनुगमन कक्ष आजबाट सञ्चालनमा आएको छ । यसले अनुगमनका क्रममा हुने खर्च र समय बचत हुने र आवश्यक समन्वयमा सहज हुँदा आयोजनाहरु समयमा सम्पन्न गर्न मद्धत पुग्ने विश्वास लिएको छु ,’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले अनुगमनका लागि फिल्डमा जाने पुरानो शैलीसँगै कामलाई सहज बनाउन र समस्यहाहरु तत्कालै हल गर्न प्रविधिको प्रयोग गरिने बताए । उनले अहिलेको समस्या आयोजनाहरु समयमा नसकिनु रहेको भन्दै शुरुबाटनै गम्भीर रुपमा अनुगमन गरे समयमा काम सक्न मद्धत गर्ने विश्वास व्यक्त गरे । अनुगमन कक्ष औपचारिकता मात्र नभएर समयमा काम सम्पन्न गराउन यसको अधिकतम उपयोग गरिनुपर्नेमा पनि उपप्रधानमन्त्री सिंहले जोड दिए ।
शहरी विकास मन्त्रालयअन्तर्गत काम भइरहेका त्रिवि क्रिकेट स्टेडियम, सिंहदबारभित्रै बनिरहेको संघीय संसद भवन, नवलपूर नमूना सदरमुकाम, कोशी अस्पताललगायतका आयोजनाहरुको आजबाट अनलाइन अनुगमन शुरु भएको र आगामी दिनमा थप अरु आयोजनाहरु पनि अनुगमन हुने मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए ।