News 24 Television
विद्युतीय रिक्साले विस्थापित ग¥यो पैदल रिक्सा 

रुपन्देही । कुनै समय थियो तराईका गल्लीहरुमा रिक्साका घण्टीका आवाज सुनिन्थे । तीनवटा पांग्रामा अडिएको रिक्सा दुई खुट्टाले पेल्दै पेल्दै अघि बढ्थ्यो । हजारौँ सपना बाकेको पैदल रिक्सा विहानै पसल तथा घर आगनमा दैनिक आवश्यक सामान तथा यात्रु बोकेर दौडिएको हुन्थ्यो । तर आजकल बुटवलमा रिक्साका घण्टी बज्न छाडेका छन् । अटो रिक्साले पैदल रिक्सालाई विस्थापित गरिदिएको छ ।

बुटवल बजारमा विगत २४ वर्षदेखी रिक्सा चलाउँदै आएका छन्, बोधीलाल बुढा मगर । उमेरले पचास दशक पार गरेका उनले बुटवलमा पछिल्लो समय विरलै देखिने रिक्सा चलाइरहेका छन् । 

२०५८ सालमा दाङबाट बुटवल रिक्सा चलाउनकै लागि आएका उनले बुटवलमा रिक्सा चढ्ने यात्रु पाउनै छाडेको सुनाए । पहिला ठिकै आम्दानी हुुन्थ्यो, दिनकै दुई तीन हजार कमाउन गाह्रो थिएन । 

अटो रिक्सा तथा विद्युतिय रिक्सा आएपछि रिक्सामा खुट्टाले पाइडल चलाउएर गुडाउने रिक्साले यात्रु चढ्नै छाडेका हुन् । आम्दानीको अन्य विकल्प नहुँदा र अटो रिक्सा किन्न नसक्दा बोधिलाललाई संकट छ ।

बोधीलाल बुढा मगर जस्तै कपिलवस्तु घर भएका रामनायारण कहारले पनि दुई दशक बढि समयदेखी बुुटवलमा रिक्सा चलाउँदै आएका छन् । बुटवलका कच्ची सडकदेखी अहिलेको सुविधा सम्पन्न सडकहरुमा रिक्सा चलाउँदा कहारका तिता मिठा अनुभव छन् । बुटवल बजार आधुनिक सुविधा सम्पन्न सहर बन्यो, सडक बने, नगरबाट उपमहानगर बन्यो तर राम नारायण कहारलाई रिक्साको प्रेमले छाडेन ।

उनीहरु प्रतिनिधी पात्र मात्रै हुन् । उनीहरु जस्तै बुटवलमा अब केही दर्जन मात्रै रिक्सा कताकती रुपमा देखिन्छ । भएका रिक्साहरुले पनि विरलै यात्रु पाउँछन् । आधुनिकताको मारमा परेको रिक्साले बुटवलको सब्जि मण्डीबाट तरकारी तथा अन्य सामानहरु ढुवानी गर्ने गरेको छ । कुनै समय बुटवलको सडकको धडकन बनेका यी रिक्साहरू अब लोप हुँदै छन् । 

बुटवलमा सबैभन्दा धेरै रिक्सा भएको प्रख्यात कम्पनी थियो, कपिलवस्तु रिक्सा । कपिलवस्तु रिक्साका ५१ वटा रिक्साले बुटवलमा सेवा दिँदै आएको थियो । तर अहिले ती पुराना रिक्साहरुको डम्पीङ् साइटजस्तै बनेको छ, बुटवल पाखापानीस्थित कपिलवस्तु रिक्साको प्राङ्गण ।

तिन दशक भन्दा बढि समयदेखी बुटवलमा फैलिँदै गएको कपिलवस्तु रिक्साको सेवा पछिल्लो आठ÷दश वर्षदेखी कमी आउन थालेको कपिलवस्तु रिक्साकी सञ्चालक निता गुप्ताले बताइन् । विद्युतिय अटो रिक्सा आएपछि रिक्साको माग बुटवलबाट घट्दै गएको र अहिले लोपहुने अवस्थामा रहेको उनी बताउँछिन् ।  

कपिलवस्तु रिक्साले अहिले रिक्सालाई थन्काएर पाँचवटा अटो ई–रिक्सा सञ्चालनमा ल्याएको छ । रिक्सा चालकबाट ई रिक्साको लाइसेन्स निकाल्न सक्नेहरुले ई रिक्सामा रोजगार पाएका छन् । 

बुटवलको पुरानो बसपार्क(नेपालगञ्ज रोड)मा चन्द्र सुवेदीको सिएस् साइकल नामको व्यवसाय छ । सुवेदीले बुटवलको मुख्य व्यवसायी क्षेत्र रहेको सडकमै साइकल खोलेका छन् । तर विगतमा सुवेदीले रिक्सा बनाउने र रिक्सा विक्रि गर्ने गर्दथे तर अहिले रिक्साको माग घटेपछि व्यवसायलाई चलायमान बनाउन उनले साइकलमा रुपान्तरण गरेका छन् । 

बुटवलको सडकमा पछिल्लो समय चौविसै घण्टा ई–रिक्सा गुड्ने गरेको छ । हिजो बयलगाडालाई विस्तापित गर्दै आधुनिक प्रविधियुक्ति सवारी साधन बनेको रिक्सा प्रविधिको गतिमा पछाडी छुटेपछि प्रविधि र मानव परिश्रम रहित स्वचालित ई–रिक्साले बजार लिएको हो । अहिले बुटवलमा मात्रै दुई हजार बढि ई–रिक्सा गुड्ने गरेका छन् ।

विगतमा बुटवलमा मात्रै बिस हजार रिक्सा हुने गरेको जनकारहरु बताउँछन् । बुटवलका बजारको रौनक नै रिक्साले बनाएको थियो । त्यतिबेला रिक्सा नै यहाँको मुख्य सवारी थियो । स्ट्याण्डमा लाम लाग्थ्यो, र चालकहरूले राम्रै कमाउँथे । 

अब त केही मात्र बाँकी छन् । बयलगाडा चडेर ओहोर दोहोर गर्ने तराईको समाजमा रिक्सा अधुनिकताको प्रतिक बनेर अगाडी बढेको थियो । दशकौंसम्म बुटवलको यातायातको धड्कन थिए यी रिक्साहरू । 

सस्तो र पर्यावरणमैत्री, यी रिक्साहरूले मानिसहरू, सामान, र यहाँसम्म आफन्तहरूलाई विवाहमा पनि बोक्थे । तर समय क्रम र प्रविधिको विकासँगै यसलाई विलुप्तिको कगारमा पुर्याएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update