
बारा । मधेश प्रदेशका मुख्य राजमार्गमा जडान गरिएका सीसीटीभी क्यामेरा बिग्रदा सडक दुर्घटना र अकालमै मृत्युको दर बढ्दै गएको छ । बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिराहा र महोत्तरी लगायतका जिल्लामा राजमार्ग क्षेत्रमा सवारी साधनको गति नियन्त्रण प्रभावकारी हुन नसक्दा दुर्घटना नियन्त्रणमा चुनौती देखिएको हो ।
मधेश सरकारले केही वर्षअघि राजमार्गका पाँच स्थानमा जडान गरेको राडार गनसहितको सीसीटीभीहरुले सडक दुर्घटना घटाउन मद्दत गरेपनि अहिले फेरि समस्या बढ्न थालेको छ । सुरुवाती वर्षमा यि क्यामेरा दुर्घटना न्यूनीकरणमा प्रभावकारी साबित भए ।
उच्च गतिमा सवारी चलाउने चालकको विवरण तत्काल मोबाइलमा पठाउने सुविधा दिँदा नियम उल्लंघन गर्ने चालकलाई सजिलै कारबाही गर्न सकिने भएकाले चालक सचेत हुन्थे र दुर्घटना कम गर्न मद्दत पुगेको थियो । तर, अहिले यि सिसिटिभी मर्मत अभावमै निष्क्रिय छन् ।
घटेन सवारी दुर्घटनाबाट मृत्युको संख्या
मधेश प्रदेशका आठ जिल्लामा दुर्घटना रोकथामका लागि गत दुई वर्षमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । तरपनि दुर्घटनाको ग्राफ घटेको छैन । गतवर्ष मात्रै २० हजार ५१९ कार्यक्रम आयोजना गरिएको भएपनि दुर्घटना र अकालमा मृत्यु हुनेको संङख्या उस्तै रहयो । दुर्घटना बढ्नुको मुख्य कारण तीव्र गति, लापरबाहीपूर्ण सवारी सञ्चालन र अस्वाभाविक ओभरटेक प्रवृत्ति भएको प्रहरीको भनाई छ ।
दुर्घटनाको ग्राफ
- आर्थिक वर्ष ०८१\८२ को तथ्यांकअनुसार मधेश प्रदेशमा सात हजार ४ सय ४३ वटा सवारी दुर्घटना हुँदा ५६४ जनाको मृत्यु र १२ हजार १ सय २३ जना घाइते
- आर्थिक वर्ष ०८०\८१ मा ६ हजार ५८ दुर्घटनामा ५३० जनाको ज्यान गयो भने नौ हजार ७ सय ४५ जना घाइते
- आर्थिक वर्ष ०७९\८० मा पाँच हजार ९ सय ८८ वटा दुर्घटनामा ५ सय ४६ जनाको मृत्यु
मधेश प्रदेशका राजमार्गमा सवारीसाधनका प्रकारमा ट्रक, बस, जीप कार, ट्रयाक्टर र मोटरसाइकल छन् । दुर्घटना सर्वाधिक मोटरसाइकलमा देखिन्छ । यसमा पनि तीव्र गति मुख्य कारण रहेको ट्राफिक कार्यालयको तथ्यांकले देखाउँछ ।हाल मधेश प्रदेशमा जडान गरिएका ५८ सिसिटिभीमध्ये ३३ वटा बिग्रिएका छन ।
राडर गन सहितका सबै सिसिटिभी मर्मतको अभावमा निष्क्रिय रहेका छन । स्थानीय सरकार र संघसंस्थाले राखेका केही सिसिटिभीमा राडार गन नभएकाले गति नाप्न नमिल्ने अवस्था छ । डिएसपी सिंहका अनुसार सिसिटिभी बिग्रँदा रातमा हुने दुर्घटनाको अनुसन्धानमा समेत प्रभावित भएको छ ।
बारामा १४, पर्सामा ३, रौतहटमा १२, धनुषामा १५, सप्तरीमा ७, सिराहामा ३ र महोत्तरीमा ४ वटा सिसिटिभी जडान गरिएका छन् । यी पूर्ण रूपमा सञ्चालनमा आएमा गति नियन्त्रण र जरिवानामार्फत दुर्घटना कम गर्न सकिने ट्राफिक कार्यालयको भनाइ छ ।
यदि सिसिटिभी पूर्ण रूपमा सञ्चालनमा नआएमा मधेश प्रदेशका राजमार्गमा हुने दुर्घटना नियन्त्रण असम्भव देखिन्छ ।