News 24 Television
जेलभित्र डरलाग्दो अवस्था ! कैदीबन्दीहरुको क्षणभरमै ज्यान जाँदै !

सुनसरी । सुनसरीको झुम्का कारागारमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणको रोगका कारण तीनजनाको मृत्यु भएको हो । कारागारमा दर्जन बढी यस्तै लक्षण भएका विरामी छन् । एकाएक एकसाथ कैदीहरु विरामी पर्ने र मृत्यु हुनुले गम्भिर प्रश्न उब्जाएको छ । 

सुनसरीको झुम्का कारागारमा रहेका तीनजना कैदीबन्दीको एकाएक मृत्युमात्रै होइन अन्य कैदीहरु पनि भटाभट् विरामी पर्न थालेपछि डरलाग्दो अवस्था सृजना भएको छ । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणदेखिएसँगै यसले प्रकोपकै रुप लिने परिदृष्य देखाएको छ । 

कारागारमा फैलिएको यो समस्याले जटिल मोड लिँदा चेकजाँचलाई उच्च बनाइएको छ । हालसम्म मृत्यु हुनेमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज ८ का ४६ वर्षीय जलेश्वर यादव, सुनसरीको गढी गाउँपालिका ६ का ४८ वर्षीय रामदेव उराँव र धरान १० का २४ वर्षीय सागर राईको मृत्यु भएको हो । 

उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका थिए भने राई लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । कारागारमा बिरामीहरुको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गरि रातीबाटै सबै कैदीबन्दीहरुको स्वास्थ्य जाँच शुरु गरिएको झुम्का कारागारका निमित्त प्रमुख राम निरौलाले बताए ।  

तीनकैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा बुधबार रातिबाट कारागारमा आकस्मिक स्वास्थ्य सञ्चालन गरिएको थियो । जसमा जिल्ला अस्पताल सुनसरी, विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान र इटहरीको बेदान्त अस्पतालको चिकित्सतहरुको टोली कारागार पुगेको थियो । अहिले सम्म ४३० कैदीको स्वास्थ्य परीक्षण भएको छ । 

चिकित्सकको टोलीले स्वास्थ्य प्रशिक्षण गरिरहेको छ । चिकित्सकका अनुसार प्राय कैदीबन्दीहरुमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षण देखिएको बताइएको छ । शुरुमा सबैको जाँच गरे पश्चात रोगको परिक्षण हुने जिल्ला अस्पताल सुनसरीकी अस्पताल म्यानेजर बालकुमारी तामाङ बताउछन् ।

कैदीहरूको स्वास्थ्य समस्याको संख्या बढ्दै जानु र छोटो अवधिमै तीन जनाको मृत्यु हुनुले कारागार भित्रको स्वास्थ्य सेवा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ । झुम्का कारागारमा १ हजार ७९४ जना कैदीबन्दी रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update