News 24 Television
ठेकेदारले बाटो नबनाउँदा वडाध्यक्षहरुले लगाए यस्तो जुक्ति

कैलाली । ठेकेदारले सडक निर्माणमा ढिलासुस्ती गरेपछि कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि सडकमा उत्रेका छन् । प्रदेश सरकारले गौरवको योजनामा राखेको सडक ६ वर्षदेखि अलपत्र अवस्थामा पुगेपछि स्थानीय सँगै वडाका जनप्रतिनिधि आन्दोलित भएका हुन । सडक अलपत्र पार्ने ठेकेदार र बेवास्ता गर्ने प्रदेश सरकार प्रति कैलालीका जनप्रतिनिधिले नाराबाजी गरेर आक्रोश समेत पोखेका छन् । चौकीडाँडा–फल्टुडे सडक निर्माणमा एडभेन्चर–थेगिम–सनलाइट जेभी र तेडी निर्माण सेवाले चरम लापरवाही गरिरहेको भन्दै ठेकेदारलाई दबाब दिन उनीहरु सडकमा उत्रिएका हुन् । 

निर्माण कम्पनीलाई दबाब दिनका लागि गोदावरी नगरपालिकाका–३, १०, ११ र १२ का वडा कार्यालयले निर्माणाधीन सडकबाटै वडाको सेवा प्रदान गरिरहेका छन् । ठेकेदारलाई दबाब दिनका लागि दुई दिनदेखि सडकबाट सेवा प्रदान गरिरहेको वडा नम्बर १० का वडा अध्यक्ष रवीन्द्र शाहीले बताए । 

वडा कार्यालयबाट हुने मृत्य दर्ता, जन्मदर्ता, नागरिकता सिफारिस लगायतका सबै कार्य सडकबाटै भइरहेको छ । निर्माण कम्पनीले सुनुवाइ नगरे अत्तरिया चोकमा सडक बन्द गरेर आन्दोलन गर्ने तयारी समेत भएको छ । चार वटै वडा कार्यालयले गतवर्ष पनि निर्माण कम्पनीको ध्यानाकर्षण गराएका थिए । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेरेपछि सडकमा उत्रिनुपरेको वडा नम्बर १२ का वडाअध्यक्ष भीमबहादुर खड्का बताउछन् ।  

वैकल्पिक राजमार्गको रुपमा हेरिएको यो बाटो बनेमा अत्तरियादेखि फल्टुडेसम्मको दूरी २२ किलोमिटर छोटिन्छ । यो बाटोसँग गोदावरीका चार वटै र चुरे गाउँपालिकाका चार वटा वडा जोडिएका छन् । चौकीडाँडा–फल्टुडे जोड्ने यो सडकको सेतोपुलदेखि वडा नम्बर १० को कार्यालयसम्मको खण्डमा २.२ किलोमिटर सडक निर्माणको ठेक्का एडभेन्चर–थेगिम–सनलाइट जेभीले पाएको छ । 

२०७७ भदौ ७ मा यो सडक निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । २०७८ माघ १७ गतेसम्म ठेक्का समयावधि थियो । तर अहिलेसम्म काम सुन्य जस्तै भएको छ । यसैगरी, वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेसालसम्म तीन किलोमिटर सडक निर्माणको लागि २०७९ चैत १८ मा तेडी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । 

१८ महिनामा निर्माण कार्य सकिनुपर्ने यो खण्डको आधा पनि काम भएको छैन । स्थानीय जनप्रतिनीधिले अलपत्र पार्ने ठेकेदारसँगै प्रदेश सरकारले गम्भीर लापरबाही गरेको बताएका छन् । ६ वर्षसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने प्रदेश सरकारको काम नै नभएको स्थानीयले बताएको छन् । 

वडा नम्बर ३ का वडाध्यक्ष तेजराज अवस्थीले दुई निर्माण कम्पनीका कारण ४ वडाका जनताले दुःख खेप्नुपरिरहेको बताउदै तत्काल ठेकेदारले काम सुरु नगरे आइतबारदेखि अत्तरिया चोकका चारै सडकमा टेबल राखेर वडाको सेवा दिने बताएका छन् । 

ठेकेदारले नै नेताहरूलाई चलाएको र जसले गर्दा काम नगर्ने ठेकेदारले संरक्षण पाइरहेको स्थानीयको आरोप छ । स्थानीय रमेश ताम्राकारले काम नगर्ने ठेकेदारको पटक–पटक म्याद थपिँदै जाने हो भने अब आफुहरु चुप लागेर नबस्ने चेतावनी दिए । 

स्थानीय जनप्रतिनीधिहरुले ठेकेदारको चरम लापरबाहीको कारण जनप्रतिनिधि सडकमा आउन बाध्य भएको बताउदै पटक पटक सिडिओ कार्यालयमा पुगेर ताकेता गर्दापनि काम नभएको बताए । गोदावरी नगरपालिकाका चार वडाका वडाध्यक्षहरूले सडकमै वडा कार्यालय सञ्चालन गरेर सुरु गरेको दबाब मूलक कार्यक्रममा ऐक्यबद्धता जनाउन नगरप्रमुख वीरेन्द्र भट्ट र प्रदेश सभा सदस्य तुलसी देवकोटा पनि पुगेकी थिइन् । 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update