News 24 Television
श्रष्टा पार्कको विजोगले स्थानीय चिन्तित

ओखलढुङ्गा । ओखलढुंगाको मुख्य आन्तरिक पर्यटक आकर्षण स्थल मानिने श्रष्टा पार्क पछिल्लो समय फोहोरमैला र अव्यवस्थाको डंगुरमा परिणत हुँदै गएको छ । यहाँको हरियाली र प्राकृतिक सौन्दर्यका कारण आगन्तुकको रोजाईँमा पर्ने यो पार्कमा अहिले सर्वसाधरणलाई असुविधा हुने गरि फोहोर थुप्रिएको छ । जसले गर्दा वातावरण मात्र होईन सम्पुर्ण पार्ककै छवि धमिलिँदै गएको छ । 

यो हो, ओखलढुंगाको सदरमुकाम नजिकै रहेको सिद्धिचरण नगरपालिका–१२ मा अवस्थित श्रष्टा पार्क । हरेक बिहान–साँझ स्थानीय बासिन्दादेखि आगन्तुकसम्म घुमफिर र विश्राम गर्ने प्रमुख स्थलका रूपमा चिनिँदै आएको यस पार्कको आकर्षण पछिल्ला दिनमा भने धमिलिँदो छ । 

हरियालीले मनमोहक देखिनुपर्ने पार्क अहिले प्राकृतिक सौन्दर्यभन्दा बढी फोहोरको थुप्रोका कारण चर्चामा छ । पार्कभरि अनियन्त्रित रूपमा प्लास्टिक, प्लाष्टिकका कप,बोतल,चाउचाउ विस्कुटाका खोल र जताततै छरिएका मदिराका बोतलहरूले यहाँको वातावरण प्रदूषित बनाइरहेको मात्र छैन आराम र आनन्द खोज्दै आउने आगन्तुकलाई समेत दिक्क तुल्याईरहेको छ ।

श्रष्टा पार्क जिल्लामा आउने आन्तरिक मात्र होइन, बाह्य पर्यटकका लागि पनि नजिकको प्रमुख गन्तव्यका रूपमा परिचित छ । तर सरसफाइ र संरचनागत व्यवस्थापनमा बेवास्ता बढ्दै जाँदा यहाँ आउने धेरैजसो पर्यटक निराश हुँदै फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । पार्कभित्र थुप्रिएको फोहोर मात्र समस्या होइन, वरिपरि अनियन्त्रित रूपमा बढेका झाडी–बुट्यानले विश्राम गर्ने स्थान र बस्ने बेन्चहरू समेत छोप्न थालेका छन । यसले गर्दाघुम्न र आराम लिन आउनेआगन्तुकलाई असुविधा र असुरक्षा दुवै अनुभूति हुने गरेको छ ।

सरसफाइ अभियानमा स्थानीय स्तरबाटै सहभागिता जनाउनुपर्ने बेला जिम्मेवारी नसम्हाल्दा पार्क दिन प्रतिदिन अव्यवस्थित हुँदै गएको छ । समयमै ध्यान नदिने हो भने श्रष्टा पार्कले आफ्नो मौलिकता मात्र होइनजिल्लाको प्रमुख पर्यटन आकर्षणको हैसियत समेत गुमाउने खतरा बढ्दै गएको छ । यता स्थानीय सरकारले भने अब नियमित सरसफाइ र संरक्षणमा विशेष प्राथमिकता दिने जनाएको छ । 
 
हरियाली र शान्त वातावरणसंगै विश्राम तथा  आगन्तुकलाई आकर्षित गर्न बनाइएको यो पार्क अहिले फोहोर र अव्यवस्थाको प्रतीक बन्न थालेको छ । तत्काल सरसफाइ, संरक्षण  र व्यवस्थापनमा ध्यान नदिने हो भने, ओखलढुंगाको प्रमुख आन्तरिक पर्यटक स्थलका रुपमा चिनिएको यो पार्कले आफ्नो मौलिकता मात्र होईन पहिचान र आर्कषण दुबै गुमाउने खतरा बढेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update