News 24 Television
बारामा बाघबाट मान्छे जोगिनै गाह्रो ! हिड्दा–हिड्दै आहार बनाउँदै !

बारा । बारामा पछिल्लो समय बाघले आतंक मच्चाएको छ । बारामा तीन महिनामा बाघको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । यसरी बढ्दो बाघ आतंकका कारण स्थानीयवासी त्रासमा छन् । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ सिमरामा आइतबार बिहान बाघको आक्रमणमा परी एक जनाको ज्यान गयो । मृत्यु हुनेमा जीतपुरसिमरा–१ का ५८ वर्षीय छेवाङ्ग लामा रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ९ः३० बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका थिए । 

च्याउ टिप्ने क्रममा अचानक बाघ आक्रमणमा परेपछि उनी गम्भीर घाइते भए र घटनास्थलमै उनको मृत्यु भयो। घटनापछि घाँस काट्न गएका अन्य स्थानीयले शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीको टोली घटनास्थल पुग्यो । मृतक लामाको शव पोस्टमार्टमका लागि पठाइयो ।

यो मात्रै होइन, बारामा अहिले बाघको आतंकले स्थानीय त्राहिमाम छन् ।  यसअघि पनि बारामा निरन्तर बाघको आक्रमणका घटनाले जनधनको क्षति र्पुयाउँदै आएको छ । तीनमहिनाभित्र मात्र नरभक्षी बाघले चार जनाको ज्यान लिइसकेको छ । 

गत असार ३ गते जीतपुरसिमरा–२१ का ५५ वर्षीय चन्द्रबहादुर व्लोन दिउँसो ११ बजे बाख्रा चराउन गएका थिए । जीतपुरसिमरा–२२ भित्र पर्ने पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा उनी बाघको आक्रमणमा परे र घटनास्थलमै मृत्यु भयो। त्यसपछि केही समय शान्त रहेको बारामा भदौ ११ गते दिउँसो करिब ३ः ३० बजे पुनःबाघले आक्रमण गर्यो । 

घाँस काट्न गएका जीतपुरसिमरा–२२ का ४७ वर्षीय कृष्णकुमार शर्माको शव पर्सा राष्ट्रिय निकुञ्ज भित्र भेटियो। त्यसको आठदिनपछि, भदौ १८ गते राति करिब ७ बजे, पुनःजीतपुर सिमरा–२२ कै रनकुमारी सामुदायिक वन क्षेत्रमा ३८ वर्षीय रमेश कार्की घाँसदाउरा गर्न गएका बेला बाघको आक्रमणमा परे। 

केही समयपछि उनको कंकालमात्र भेटिएको थियो। स्थानीयका अनुसार उनीपनि बाघको आक्रमणकै शिकार बनेका थिए। यी घटनापछि पुनःभदौ २२ गते आइतबार जीतपुरसिमरा–४ मा रहेको थानिमाई सामुदायिक वन र प्रगतिशील सामुदायिक वनको फायरलाइन क्षेत्रमा च्याउ टिप्न गएका छेवाङ्ग लामाको पनि बाघको आक्रमणमा परि घटनास्थलमै उनको ज्यान गयो। यसरी असारदेखि भदौसम्मको तीन महिनाको अवधिमा चार जनाको बाघको आक्रमणमा परी मृत्यु भएको छ ।  

पर्सा राष्ट्रिय निकुञ्जले बाघको निगरानी गर्न तीनदिनदेखि दुई हातीसहित कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेको छ। नरभक्षी बाघले आतङ्क मच्चाइरहेको स्थान राष्ट्रिय र सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले डिभिजन वन कार्यालय बाराका कर्मचारी पनि सक्रिय छन। 

यस घटनापछि नरभक्षी बाघ नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, चितवनबाट आएका राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका प्राविधिक टोली तथा विशेषज्ञ, नेपाल प्रहरी र नेपाली सेनासहितको संयुक्त टोली परिचालन गरिएको छ ।

पूर्वमा निजगढ नगरपालिकाको बकैया खोला, पश्चिममा हेटाँैडादेखि वीरगञ्जको खडकखण्डसम्म, उत्तरमा मकवानपुरको सिमाना र दक्षिणमा कोल्हवी हुँदै बडरहर्वासम्मका वन क्षेत्रमा प्रवेश निषेध गरिएको छ। साथै, बारा भित्रका लोकमार्गमा सवारी साधन रोक्न निषेध गरिएको छ । मोटरसाइकल एक्लै आवतजावत नगरी बस वा ट्रकसँगै यात्रा गर्न आग्रह गरिएको छ। जनप्रतिनिधिहरु समेत अहिले स्थिति नियन्त्रणका लागि संघीय सरकारलाई गुहारी रहेका  छन् । 

निकुञ्जको बाघ, हात्ती तथा अन्य जंगली जनावरको गतिविधिका कारण निजगढ नगरपालिका र कोल्हबी नगरपालिका पनि प्रत्यक्ष रूपमा प्रभावित भएका छन । निजगढ नगरपालिकाका ११ र १३ नम्बर वडा पूर्ण रूपमा जोखिममा छन् । 

बाघ संरक्षण आवश्यक भएपनि मानव जीवन सुरक्षा सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो । बाघ आक्रमणमा परी मृत्यु भएका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र बस्ती नजिक सुरक्षा व्यवस्था कडा गर्नुपर्ने स्थानीयको माग छ ।  

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update