News 24 Television
जेन–जी आन्दोलनको हुण्डरी मच्चाउँदै ! नेता सबै ‘रेड जोन’ मा !

काठमाडौं । नेपालमा जेन जी आन्दोलन थप आक्रामक हुने छनक दिन थालेको छ । अब यो आन्दोलनले नेपालका राजनीतिज्ञ मात्रै होइन, कर्मचारीसम्म नै त्राहिमाम बनाउने देखिन्छ । वेथितिविरुद्धको चर्को आवाजमा जेन जीको  बुलन्दताले मुलुकमा क्रान्तिको आँधी ल्याउने त होइन ? कस्तो रहला सम्भावित परिदृष्य ? 

जेन जी पुस्ता, को हुन् जने जी पुस्ता भन्नेमा एकरुपता नदेखिए पनि सरदरमा भन्नुपर्दा सन् १९९६ देखि सन् २०१० को बीचमा जन्मेको पुस्तालाई जेन जी पुस्ताका रुपमा बुझ्ने गरिन्छ । अर्थात सहज रुपमा बुझ्दा हाल १५ वर्ष पार गरिसकेका र ३० वर्षको उमेर समूहभित्र पर्ने पुस्ता हो जेन जी पुस्ता । अब यहि पुस्ताले नेपालमा तरङग मच्चाउने देखिएको छ । 

आन्दोलनको आँधीहुरी नै ल्याउने सम्भावना छ जेन जी पुस्ताले । जेन जी पुस्ताको क्रान्तिकारी आँधीवेरी सोमबार काठमाडौंमा झिल्कोका रुपमा देखापर्दै विशाल रुप लिने त होइन ? अहिले यो चर्चा विषय चर्चामा छ । 

अहिले नेपालको राजनीतिक र आर्थिक क्षेत्रमा व्याप्त भ्रष्टाचार र वंशवादको विरुद्धमा जेन जी पुस्तासहित अन्य युवाहरुको आक्रोश चर्किँदै गएकाबेला अब यो आन्दोलन सामाजिक सञ्जालबाट अगाडि बढ्दै सडकमा उत्रने चरणमा पुगेको छ । 

जेन–जी पुस्ता विकृतिविरुद्ध क्रान्तिको मिसाल बन्ने बाटोमा !

जेन जी पुस्ताका युवाहरूले सोमबार काठमाडौंको माइतीघर मण्डला र नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भ्रष्टाचारविरुद्ध प्रदर्शनको घोषणा गरेका छन् । नेपालको राजनीतिक र आर्थिक क्षेत्रमा व्याप्त भ्रष्टाचार साथै नेताका सन्तानको विलासिताको कुण्डली खोतली विरोध घन्काइ रहेको जेन जी पुस्ताले अब आफुलाई सडकमै उतार्न लागेको छ ।  

इन्डोनेसियाबाट सुरु भएको ‘नेपो बेबी’ अभियानले नेपालका सामाजिक सञ्जाललाई तताएको छ, जसमा राजनीतिक तथा विशिष्ट व्यक्तिहरूका सन्तानहरूको आलिसान जीवनशैलीलाई एक्सपोज गर्दै जनताको असन्तुष्टि व्यक्त गरिएको छ । फेसबुक, इन्स्टाग्राम, एक्स र टिकटकजस्ता सामाजिक सञ्जालमा ह्यासट्यागनो करप्सन, ह्यासट्याग एस्पोज नेपो बेबी, ह्यासट्याग करपसन फेमलीजस्ता ह्यासट्यागहरू ट्रेन्डमा छन् । हो अब यहि पुस्ताको आन्दोलन सामाजिक सञ्जालबाट अगाडि बढ्दै सडकमा उत्रने चरणमा पुगेको   हो ।

जेन जी पुस्ताले सोमबार काठमाडौंको माइतीघर मण्डला र नयाँ बानेश्वरस्थित संसद भवन अगाडि गर्ने भनेको प्रदर्शनकै बलमा समयक्रममा नेपालमा एक नयाँ अध्यायको आरम्भ गर्ने छनक देखाउने सम्भावना छ । जने जीहरु अब देशभरका प्रमुख शहरहरूमा पनि प्रदर्शनको तयारीमा छन् । यो प्रदर्शनमा भ्रष्टाचार मात्र नभई हालै सरकारले लागू गरेको सामाजिक सञ्जाल प्रतिबन्ध पनि मुख्य मुद्दा बन्नेछ । सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युब र एक्स जस्ता २६ प्लेटफर्महरूलाई सूचिकरण नगरेको भन्दै बन्द गरेको निर्णयलाई युवाहरूले अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप ठानेका छन् । 

जेन जी पुस्ताको विद्रोहलाई लिएर सत्तारुढ दलकै नेताहरूले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । एमाले नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल एक्समा लेख्छन्– ‘जेन जी र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउँदैछ। हाहुमा हैन क्षितिज पारीसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।मौसम त दुई महिनामा हल्का रङग फेर्छ,राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो?हरेक दशकले त्यो चटक भोग्दै त आएको छ ।’

सेप्टेम्बर ८ को आन्दोलनले नेपाललाई एउटा ठूलो सन्देश दिन खोज्दै  छ, नयाँ पुस्ता अब मौन बस्दैन । सरकारले एकातिर जेन जी कार्यक्रम ल्याएर उद्यमशीलता र शिक्षा सुधारको घोषणासम्म गरेको छ, तर अर्कोतिर कार्यान्वयन अझै अस्पष्ट छ । यदि सरकारले उनीहरूको माग सुनेर पारदर्शी नीति र व्यवहारिक सुधारमा जोड दियो भने नेपालले यही पुस्ताबाट नयाँ क्रान्तिको आधार पाउनेछ। तर बेवास्ता गरियो भने अर्को बंगलादेश हुने खतरा छ । 

यदि यो आन्दोलन सफल भयो भने जेन जी पुस्ताको ’डिजिटल क्रान्ति’ को रूपमा इतिहासमा लेखिनेछ।तर, स्वघोषित यो अभियानको अगुवा कसले गरिरहेको छ भन्ने अहिलेसम्म खुलेको छैन । त्यसैले आन्दोलनमा घुसपैठ हुने र आन्दोलन भड्कने सम्भावना पनि उत्तिकै छ । यसअघि बालकुमारी घटनामा पनि केही नेतृत्व थिएन र केही उच्छृंखलहरूले गरेर अवस्था के भएको थियो र नतिजा के आयो भन्ने देखिसकेका छौँ । त्यसैले सेप्टेम्बर ८ को आन्दोलनमा पनि जेन जी पुस्ताले जोशमा होस् पु¥याउन जरुरी छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update