News 24 Television
वैदेशिक लगानी : कुन देशबाट कस्तो ?

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी क्रमशः बढ्दै गएको छ । आर्थिक वर्ष २०८०\८१ मा आठ अर्ब ५० करोड रूपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ । 

नेपालमा क्रमश वैदेशिक लगानी बढ्न थालेको छ । लगानीले लय लिन लागेको अवस्था नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदनले देखाएको हो । 

आर्थिक वर्ष २०८०\८१ मा आठ अर्ब ५० करोड रूपैयाँ वैदेशिक लगानी भित्रिएको छ । आर्थिक वर्ष २०७९\८० को तुलनामा ८०\८१ मा ३६.१ प्रतिशतले वैदेशिक लगानी वृद्धि भएको हो । सो वर्ष वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०७९\८० मा वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । 

त्यसअघिको वर्ष हेर्ने हो भने आर्थिक वर्ष २०७८\७९ मा १८ अर्ब ६० करोड रूपैयाँसम्म वैदेशिक लगानी भित्रिएको थियो । नेपालले हालसम्म ६० भन्दा बढी मुलुकबाट वैदेशिक लगानी आकर्षित गर्दै आएको छ । सर्वेक्षण अनुसार तीन देशले मात्रै कुल विदेशी लगानीको कुल ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको देखिन्छ ।

कुन देशबाट कति बढ्यो लगानी ? 

विदेशी लगानीमध्ये सबैभन्दा धेरै आउने देश भारत रहेको छ । हाल भारतको मात्रै १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी रहेको छ, जुन ३२.२ प्रतिशत बराबर हो ।

त्यस्तै चीनबाट ३३ अर्ब ८२ करोड रुपैयाँ अर्थात १०.२ प्रतिशत, सिंगापुरबाट २७ अर्ब ६६ करोड अर्थात् ८.३ प्रतिशत, आयरल्याण्डबाट २३ अर्ब १४ करोड अर्थात् ७ प्रतिशत, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड अर्थात ६.१ प्रतिशत तथा अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड अर्थात ५.९ प्रतिशत लगानी प्राप्त भएको छ । क्षेत्रगत रुपमा वैदेशिक लगानी सबैभन्दा बढी उद्योग क्षेत्रमा भएको छ । 

यो क्षेत्रको हिस्सा सबैभन्दा धेरै ५९.४ प्रतिशत छ भने सेवा क्षेत्रमा ४०.५ प्रतिशत लगानी पुगेको छ । सर्वेक्षण अवधिसम्म देशमा कुल ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको कुल विदेशी लगानी कायम छ । राष्ट्र बैंकले २०१२\१३ देखि नियमित रूपमा वैदेशिक लगानीको सर्वेक्षण गर्दै आएको छ । 

दक्षिण एशियाको अवस्था के छ ?

दक्षिण एशियामा गएको वर्षको तुलनामा वैदेशिक प्रत्यक्ष लगानी ठूलो मात्रामा घटेको छ । सन् २०२४ मा दक्षिण एशियामा कुल वैदेशिक लगानी ३४.६ अर्ब अमेरिकी डलर मात्र भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८.८ प्रतिशत कम हो । 

सबैभन्दा ठूलो गिरावट भारतमा देखिएको छ । भारतमा वैदेशिक लगानी २०२३ मा २८.१ अर्ब डलरबाट घटेर २७.६ अर्ब डलरमा झरेको छ, जुन ४३.१ प्रतिशत कमी हो । तर नेपालले भने लगानी आकर्षणमा सुधार देखाएको छ । 

नेपालमा सन् २०२४ मा  ६० करोड डलर वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.८ प्रतिशत वृद्धि हो । यसैगरी पाकिस्तानमा त्यस्तो लगानी ४०.१ प्रतिशतले बढेर २.६ अर्ब डलर पुगेको छ भने माल्दिभ्समा पनि ४.८ प्रतिशत वृद्धि भएको छ । यस्तै, बंगलादेश, भूटान र श्रीलंकामा लगानी घटेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update