
काठमाडौं । कांग्रेस वरिष्ठ नेता अर्जुन नरसिंह केसीले वर्तमान राजनीतिक संकट समाधान गर्न ७ बुँदे अवधारणा सार्वजनिक गरेका छन्। उनले राष्ट्रहित र लोकतान्त्रिक मूल्यको रक्षा गर्न तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
७ बुँदे अवधारणाः
१, संविधानबारे समीक्षा र संशोधन
नेपालको संविधान जनप्रतिनिधिबाट बनेको पहिलो संविधान हो। तर यसमा कमजोरी र त्रुटिहरू प्रशस्तै छन्। यसको नियमित समीक्षा गरी जनमत र संवैधानिक प्रक्रियामार्फत आवश्यक संशोधन अनिवार्य छ।
२, राष्ट्रिय सहमतिको सरकार गठन
जेञ्जि आन्दोलनलगायत वर्तमान परिस्थितिको समाधानका लागि राष्ट्रिय सहमतिको सरकार गठन संवैधानिक प्रक्रियाभित्रै हुनुपर्छ।
३, लोकतन्त्रको मूल्य र सीमारेखा
लोकतन्त्र बहस, विवाद र विचारहरूको घर्षणबाट निस्कने सुन्दर निचोड हो। तर हिंसामा रूपान्तरण हुँदा यो क्रूर फासिस्ट चरित्रमा परिणत हुन्छ।
४, २३ र २४ गतेका घटनाबारे छानबिन
२३ गते भएको क्रूर हत्या र २४ गते सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहितका सार्वजनिक तथा निजी संरचनामा भएको आगजनीरलुटपाट आन्दोलनकारी जेञ्जि पुस्ताको कार्य होइन। यी घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबिन समिति अनिवार्य छ।
५, लोकतन्त्रलाई अवरुद्ध गर्ने प्रयास अस्वीकार्य
राजनीतिक दल प्रतिबन्धित गर्ने वा संवैधानिक प्रक्रिया अवरुद्ध गर्ने कुनै पनि गैर–संवैधानिक सोच वा दुस्वप्न अस्वीकार्य छ। लोकतन्त्रको विकल्प अझ परिमार्जित लोकतन्त्र मात्र हो।
६, राष्ट्रपतिले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता
संविधान र यसको संरक्षक राष्ट्रपतिज्यूले वर्तमान परिस्थितिमा संवाद र सहमतिको पहल गर्दै जनतालाई सम्बोधन गर्नु अनिवार्य छ।
७, राष्ट्रहितलाई सर्वोपरि राख्दै अगाडि बढ्ने आह्वान
देश संकटपूर्ण अवस्थामा पुगेकाले दल, विचार र व्यक्तिगत स्वार्थभन्दा माथि उठी लोकतन्त्र, संविधान र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षलाई आह्वान गरिएको छ।