मकवानपुर । जेन–जी प्रर्दशनका नाममा देशभरका सरकारी संरचनाहरु ध्वस्त भए । भष्ट्रचार विरुद्ध सडकमा उत्रिएका जेनजी पुस्ताले अर्बौंको संरचना ध्वस्त बनाएपछि यतिबेला बागमती प्रदेशको राजधानी हेटौंडा भग्नावशेषमा पणिरत भएको छ ।
गत मंगलबार भएको जेन जी को प्रदर्शनले उग्ररुप लिँदा हेटौंडाका अधिकांश सरकारी संरचनाहरु खरानीमा परिणत भए । १४ वटा मन्त्रालय रहेको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयमात्रै जोगिएको छ भने त्यसबाहेक वन तथा वातावरण मन्त्रालयमा आंशिक क्षति पुगेको छ ।
बाँकी सबै मन्त्रालयको भवन खरानीमा परिणत हुन पुग्यो । यो सँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा उपमहानरपालिकाको कार्यालय, प्रदेश सभा भवन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, यातायात सेवा कार्यालय हेटौंडा, प्रदेश आपतकालिक आपूर्ति केन्द्र, मालपोत कार्यालय, नापी कार्यालय, मकवानपुर जिल्ला अदालत देखि वडा कार्यालयहरु समेतमा जेन–जी समूहले आगो लगाए ।
यसरी एकैदिनको उग्रताले सरकारी संरचनाहरु ध्वस्त हुँदा अर्बौंको सम्पति खरानी बन्यो । यसअघि यस्ता धेरै आन्दोलनहरु भोगेर यहाँसम्म आइपुगेका पुराना पुस्ताहरुको लागि जेन जीको प्रदर्शन सपना जस्तै बन्यो । दिनभर प्रदर्शनलाई नजिकबाट नियालेका पुराना पुस्ताहरु यस्तो विध्वशकारी प्रदर्शन कहिल्यै नदेखेको बताउँछन् ।
यता, जेन जी पुस्ताहरु भने भौतिक संरचनामा आगो लगाउने आफूहरुको कुनै उदेश्य नरहेको दाबी गरिरहेको छ । भष्ट्रचार विरुद्धको आवाज लिएर सडकमा पुगेका उनीहरुको समूहमा राजनीति दलका मानिसहरु घुसेको उनीहरुको आरोप छ ।
त्यसोत, जेन जी समूहको आन्दोलनले भौतिक संरचनामा क्षति पुगेको र नेपालको संविधान नै मास्ने प्रवृत्तिहरु बढेको भन्दै राजनीतिक दलका युवाहरु सडकमा उत्रिएका छन् । विहीबार दिनभरको अवस्था हेर्दा स्थिती जटिल देखिएपछि मकवानपुरका नेपाली कांग्रेस र नेकपा एमाले र माओवादी केन्द्रका युवा नेताहरु सडकमा उत्रिए । संसद् विघटन रोक्न र संविधानलाई सुरक्षित गर्न भोलिका दिनमा आफूहरुले अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जेन–जी प्रदर्शनमा युवा पुस्ताको आक्रोश प्रस्ट देखाए पनि, विध्वंसले मुलुकको राजनीतिक स्थिरता र संविधानको भविष्यप्रति गम्भीर प्रश्न उठाएको छ ।
