News 24 Television
बागमतीमा सहकारीका फाइल जोगिए, पीडितलाई राहत

मकवानपुर । गत मंगलबार भएको जेन–जीको प्रदर्शनका क्रममा जलेका सरकारी संरचनाहरु अझै पनि उस्तै अवस्थामा रहेका छन् । आगलागीले चर्काएर थिलोथिलो बनाएका भवनहरु ढलेका त छैनन्, तर भित्र पसेर सरकारी कागजातहरुको खोजी गर्न कठिनाइ छ । आगजनीबाट बागमती प्रदेशका सहकारीसम्बन्धि फाइलहरु सुरक्षित छन् वा छैनन् भन्ने चिन्ता बढिरहेका बेला मन्त्रालयले सहकारी सम्बन्धि फाइल खोजीकार्य र सरसफाईलाई तीव्रता दिन थालिएको छ ।

बागमती प्रदेशमा रहेका १४ वटा मन्त्रालयहरु मध्येको एक मन्त्रालय हो, सहकारी तथा गरिबी निवारण मन्त्रालय । पछिल्लो समय आम नागरिकको समस्याको जडको रुपमा रहेको सहकारी सम्बन्धि समस्या हल गर्ने प्रमुख थलो बनेको थियो यो मन्त्रालय । जेन–जी को प्रदर्शनको आक्रोशबाट यस मन्त्रालय पनि अछुतो रहन सकेन । 

१४ मन्त्रालयमध्ये जलेका ११ मन्त्रालयको सूचिमा सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि पर्यो । हजारौं सहकारी पीडितहरुको आशाको केन्द्र बनेको यस मन्त्रालयमा आगलागी हुँदा प्रदेशको १३ वटा जिल्लामा रहेका ३२ सय सहकारीको ढड्ढाहरु जलेर खरानी बन्यो । यस बाहेक मन्त्रालयको संरचना कार्यालय प्रयोगका अधिकांश सामाग्रीहरुमा क्षति पुग्यो । 

दिनभर प्रदर्शन हुँदा मन्त्रालय वरपर कोही नआएको तर साँझपख आएका केही व्यक्तिहरुले आगजनी गरेर तोडफोड गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।

१३ जिल्लाका ३२ सय भन्दा बढी सहकारीको ढड्डा दुईवटा कोठामा स्टोर गरिएको थियो । ती सहकारीको फाइलहरु पूर्ण रुपमै खरानी भए पनि उजुरी परेका सहकारीका फाइलहरु भने सुरक्षित छन् । 

उजुरी परेका सहकारीको ढड्डा राखिएको कोठा आजगनीबाट बचेका कारण ती फाइलहरु जोगिएका हुन् ।  त्यति मात्रै नभएर प्रदेशमा दर्ता भएका सहकारीहरुको कोमोमिसमा अभिलेखिकरण रहेका कारण २७ सय हाराहारीका सहकारी सम्बन्धि तथ्यांक र त्यसबाहेक पनि मन्त्रालयले अभिलेख राखेका केही सहकारीका तथ्यांक सुरक्षित रहेको मन्त्रालयको दाबी छ । 

यसरी जल्नबाट बचेका केही कागजातहरु सुरक्षित स्थानमा सार्न तथा महत्वपूर्ण फाइलहरुको खोजीकार्यमा आजबाट मन्त्रालयका टीम नै लागि परेका छन् । 

सहकारी सञ्चालकहरुले बचतकर्ताको रकम हिनामिना गरी बचत फिर्ता नगर्ने प्रवृत्ति बढेसँगै सहकारी व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको अवस्था छ । 

यस्तो अवस्थामा सहकारी सम्बन्धि काम गर्ने मन्त्रालय नै खरानी हुनुले सहकारी पीडितहरुमा नैराश्यता थपिएको थियो । तर, सबै तथ्यांकहरु अनलाईन अभिलेख रहेका कारण मन्त्रालयको संरचनामा क्षति भएपनि सहकारी सम्बन्धि फाइलहरु भने नष्ट नभएको बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update