News 24 Television
पुराना दलमा नेतृत्व फेर्ने बहस– कांग्रेस एमालेदेखि माओवादीमा तनाव, रास्वपामा विद्रोह शुरु

काठमाडौं । २७ घण्टाको जेनजी आन्दोलनले राजनीतिक प्रणालीमाथि ठूलो प्रश्न उठाइदिएको छ । राजनीतिक दलहरु आगामी निर्वाचनअघिसम्म अस्थित्वबिहीनतामा पुगेका छन् । यतिमात्रै नभई अहिले दलहरुमा नेतृत्व पुस्तान्त्रणको बहस समेत पेचिलो बन्दै गइरहेको छ । पार्टी पुनर्गठनको बहस समेत चर्किन थालेको छ । 

निर्वाचन आयोगमा हेर्दा मुख्य दलहरुको नेतृत्वमा प्रायः उमेर ढल्किएका नेताहरु छन् । शीर्ष तहमा रहेका नेताहरुको बढ्दो उमेर, पार्टी र राज्य सत्ता सञ्चालन शैलीदेखि विभिन्न विषयलाई लिएर आम रुपमा आक्रोश देखिन्छ । 

भ्रष्टाचार बढ्नु र शासन सत्ता सञ्चालनमा देखिएको अकर्मण्यताले पनि प्रश्न स्वभाविक बन्न पुगेका छन् । यस्तो स्थितिमा जेनजी पुस्ताले गरेको २७ घण्टे आन्दोलनपछिको स्थिति भने फेरिएको छ । युवा पुस्ताले गरेको आन्दोलनमा घुसपैठदेखि विभिन्न विषय समावेश भइरहेको बेला अनेक प्रश्न र आयाम देखिन थालेका छन् । 

जसमा दलका नेताहरुलाई पार्टी नेतृत्व छाड्नुपर्ने आवाज उनीहरुकै पार्टीका नेताहरुले बढाउदै लगेका छन् । के अब पार्टी पुनर्गठनको बहसले सार्थकता पाउला ? नेताहरुले सहजै दोश्रो पुस्ताका नेताहरुलाई नेतृत्व हस्तान्त्रण गर्लान ? दोश्रो पुस्ता आउँदैमा समस्या समाधान भएर जालान ? प्रश्नको घेराबन्दीमा मुलुकको राजनीति फसेको छ ।

नयाँ रास्वपामै विद्रोह

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको लामो समय भएको छैन् । पुरा कार्यकालको संसद समेत नसकिदै स्थिति फेरिएपछि पार्टी नेतृत्व गरिरहेका रवि लामिछानेमाथिका प्रश्नले विद्रोहको शुरुवात भएको छ । सहमहामन्त्री हुँदै समानुपातिक सांसद बनेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले असन्तुष्टी पोख्दै विद्रोह गरेकी छन् । सुमनाले पार्टी छाडेको घोषणा गर्दै भनेकी छन्, जेनजी आन्दोलनको अवमूल्यन नगर्नू । 

रास्वपामा सुमनासहित अन्य केहि नेताहरुले समेत विद्रोह गर्ने तयारी गरेको बताइन्छ । पार्टी सभापति रवि लामिछानेले गरेका गल्तीमा कहिलेसम्म पिल्सिने भन्दै सुमनासहितका नेताहरुले प्रश्न गर्दै आएका छन् । उनीहरुको मुख्य असन्तुष्टी भनेकै रवि जेल छाडेर बाहिरिनुलाई लिएको बताइन्छ । उसोतः रवि जेल फर्किसकेका छन् । 

माओवादीमा पनि बहस छेडियो

माओवादी केन्द्रभित्र प्रचण्ड निर्विकल्प नेतृत्वको रुपमा छन् । तर, पार्टीभित्र उपमहासचिव जनार्दन शर्माले पार्टीमा नेतृत्व हस्तान्त्रणको माग गर्दै गरिरहेको विद्रोहले अब आकार लिने स्थिति बन्न थालेको छ । माओवादीभित्र अब प्रचण्डले अभिभावकको भूमिका निर्वाह गर्दै पार्टी नेतृत्व दोश्रो तहमा सुम्पिनुपर्ने आवाज उठ्न थालेको छ ।

जेनजी आन्दोलनको फाइदा माओवादी केन्द्रभित्र पनि उठाउने ्प्रयास चल्न थालेको छ । तर, माओवादी केन्द्रभित्रको नेतृत्व अब कसले गर्छ भन्ने निक्र्याैल भने हुने सहज स्थिति देखिन्न । 
 
एमालेमा पनि विद्रोहको सम्भावना

नेकपा एमालेमा केपी ओली सर्वशक्तिमान नेता थिए । उनले पार्टीमा आफूले चाहेको निर्णय सहजै गराउने गर्छन् । तर, अबको स्थिति यस्तै बन्ला ? धेरैमा चासो देखिन्छ । एमालेमा ओलीविरुद्ध प्रश्न गर्न नसक्नेहरु अहिले विस्तारै खुल्न थालेका छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि उषाकिरण तिम्सिनासम्मबाट गरिने प्रश्न थप ओजिला बन्न थालेका छन् । 

अहिले एमालेमा अष्टलक्ष्मी शाक्यलाई अघि सार्ने प्रयास एक पक्षले गरिरहेको छ भने शंकर पोखरेललाई नै नेतृत्व दिने गरि समेत तयारी चलिरहेको बताइन्छ । यद्यपी ओली सेनाको सुरक्षा घेराबाट बाहिर आएपछि कस्तो निर्णय गर्छन भन्ने चासो पनि उत्तिकै चासोमा देखिन्छ । 

कांग्रेसमा गगन–विश्वको जोड

कांग्रेसमा पनि नेतृत्व हस्तान्त्रणको बहस चर्किएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा आफै पनि अन्तिम कार्यकालका लागि सभापति पदमा छन् । 

उनले चाहेर पनि अर्को कार्यकाल लम्ब्याउन सक्ने स्थिति छैन् । तरपनि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हतारो देखाएजस्तो भने गरेका छन् । 

पार्टी महाधिवेशन समयमै गराउनेमा ध्यान केन्द्रित गर्नुपर्नेमा देउवाले छाड्नैपर्ने पदका लागि चलिरहेको बहसले पनि कांग्रेसलाई प्रश्न गरिरहेको छ । तर, जेनजी पुस्ताले चाहेको नेतृत्व गगन–विश्व हुन ? यता पनि प्रश्न उठेको छ । तर, कांग्रेसमा पनि नेतृत्व पुस्तान्त्रणको बहस भने चर्किन थालेको छ।  

मुख्य पार्टीमा नेतृत्वको सवालमा पेचिलो बहस चलिरहेको बेला नेपालको राजनीतिक प्रणाली भने कोमामा रहेको स्थितिमा छ । राजनीतिक नेताहरुले विस्तारै आफ्नो प्रभाव विस्तारको प्रयास गरिरहेका छन । 

अन्तरिम सरकार गठन भइसकेपछि यसले कस्तो कदम चाल्छ भन्ने विषय समेत चासोमा छ । तर, चुनावी म्यान्डेटको सरकारले धेरै महत्वका काम गर्न नपाइने अभ्यासका कारण पनि अर्को चुनावपछिको स्थितिबारे समेत बहस हुन थालेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update