
रुपन्देही । जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले क्षति पुगेका रुपन्देहीका धेरै कार्यालयहरुले पाल टाँगेर, पार्किङ र बैकल्पिक उपायहरु अपनाएर कार्यालय संचालन र सेवा दिन सुरु गरेका छन् । खासगरी सेवाग्राहीको बढी भीड हुने कार्यालयहरुले आइतबारदेखि नै सेवा सुचारु गरेका हुन् ।
जेनजी आन्दोलनको क्रममा तोडफोड र क्षति पुगेको भैरहवा भन्सार कार्यालयले कार्यालय अगाडिको पार्किङमा टेन्ट टाँगेर सेवा सुरु गरेको छ । अत्यावश्यक वस्तुको सेवा बिहीबारबाटै सुरु भए पनि आइतबारबाट अधिकांश सेवा टेन्बाट सुरु गरिएको हो ।
हाललाई नेपाल भित्रिने यात्रुवाहक विदेशी सवारीलाई भन्सार सुविधा दिनबाहेक अन्य सेवा सुरु गरिएको छ । यस्तै, जिल्ला अदालतले पनि आइतबारबाटै आंशिक सेवा सुरु गरेको छ । यस्तै, क्षति पुगेको जिल्ला सरकारी वकिल कार्यालयले पनि सेवा सुरु गरेको छ ।
सिद्धार्थनगर नगरपालिका लगायत जिल्लाभरका अन्य क्षति पुगेका कार्यालयहरुले पनि सेवाप्रवाह सुरु गरेका छन् । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आगजनीबाट बचेका र कर्मचारीहरुका ल्यापटपबाट कार्यालयको पार्किङमा सामान्य टी–टेबल र कुर्सी राखेर सेवा सुरु गरेको छ ।
आजगनीबाट भन्सार र राजस्व कार्यालयको भवन, कप्युटर, महत्वपूर्ण फाइल र फर्निचरसहित अन्य भौतिक संरचनामा ठूलो क्षति भएको छ । केही कार्यालयहरुलाई व्यवासायिक संघसंस्थाहरुले समेत आवश्यक सहयोग गरिरहेका छन् ।
जेनजी प्रदर्शनका नाममा भएको आन्दोलनमा जिल्लाका धेरै महत्वपूर्ण सरकारी कार्यालय र निजी सम्पत्तिहरुमा आगजनी भएको थियो । यसबाट धेरै संरचनाहरु जलेर ध्वस्त भएका छन् । उच्च अदालत बुटवल, बुटवल उपमहानगरपालिका, राजस्व अनुसन्धान, आन्तरिक राजस्व बुटवल लगायत दर्जनौं कार्यालय र महत्वपूर्ण फाइलहरु जलेका छन् ।
जिल्ला प्रहरीले मुचुल्का उठाई क्षतिको विवरण संकलन गरिरहेको छ । यस्तै, निजी सम्पत्तिहरुको क्षतिबारे पनि निजी क्षेत्रसँग समन्वय गरेर विवरण संकलन भइरहेको प्रशासन कार्यालयहरुले जनाएको छ ।
निजी प्रतिष्ठानको क्षतिको विवरण तत्काल प्राप्त गर्न नसके पनि सरकारी र सार्वजनिक क्षेत्रमा भएको क्षतिको मुचुल्का संलकन भइरहेको छ । आइतबार मात्रै जिल्ला प्रशासनले कार्यालय प्रमुखहरुको बैठक राखेर क्षतिको विवरण उपलब्ध गराउन र बैकल्पिक माध्यमबाट भए पनि सेवा सुरु गर्न भनेको छ ।
प्रशासनले सोमबारसम्म सरकारी सम्पतिमा पुगेको क्षतिको विवरण तयार हुने जनाएको छ । आजगनीबाट सरकारी र निजी भवन तथा प्रतिष्ठानहरुका कप्युटर, दस्तावेज, फर्निचर लगायत महत्वपूर्ण सामाग्री र गाडीहरु जलेका छन् ।
विभिन्न कार्यालयका प्रमुखहरुका अनुसार जिल्लामा आगजनी र तोडफोडबाट खर्बौंको क्षति भएको छ । अहिले धमाधम क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।