News 24 Television
गौतमबुद्धमा छुट्टै आगमन कक्ष, विकासका अन्य योजना तयार

रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक हवाई यात्रुलाई लक्षित गरि छुट्टै आगमन कक्ष बनाइएको छ । 

विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यसअघि आगमन–प्रस्थान कक्ष एकै ठाउँमा थियो । अत्याधिक हवाई यात्रुको चाप हुने गरेकोले सोमबारदेखि आगमन र प्रस्थान सेवा छुट्टाछुट्टै भवनबाट दिन थालिएको हो । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै आगमन कक्ष बनाइएको छ ।  अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनको एक भागलाई आन्तरिक यात्रु लक्षित गरी आगमन कक्ष बनाइएको हो । 

यसअघि आन्तरिक टर्मिनलको भवन साँगुरो हुँदा यात्रुलाई समस्या हुने गरेको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीका अनुसार सोमबारबाट यात्रुलाई थप सुविधा हुने गरी आगमन कक्ष छुट्टै भवनबाट सुरु गरिएको हो ।
सोमबार काठमाडौंबाट आएका गुल्मीका ७५ वर्षीय गणपति भण्डारीलाई पुष्पगुच्छा दिएर आगमन कक्षको सुरुवात गरिएको हो । 

यसले यात्रुलाई निकै सहजता प्रदान गर्नुका साथै कार्गोका सामानहरु लिन आउनेहरुलाई पनि सुविधा मिलेको छ । ५० वर्षअघि निर्माण गरिएको आन्तरिक टर्मिनलको आगमन कक्ष साँघुरो भएकाले यात्रुले कष्ट व्यहोरिरहेका थिए । त्यही असुविधा अन्त्य गर्न यसअघि कार्गो र स्टोर रहेको भवनमा फराकिलो र सुविधा सम्पन्न आगमन कक्ष सञ्चालनमा ल्याइएको हो ।

नयाँ आगमन कक्ष सञ्चालनपछि साँघुरो कक्षमा यात्रु कोचाकोच हुने र उनीहरुलाई लिन आएका आफन्त लामो समय घाममा पर्खिनुपर्ने बाध्यता अन्त्य भएको छ । विमानस्थलमा रहेको अस्थायी कार्गो भवन मर्मत र सुविधा थपेर नयाँ कक्ष निर्माण गरिएको हो ।

यसअघि विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीको निवासका रुपमा भवन प्रयोग गरिएको थियो । नयाँ आगमन कक्षमा आफन्तलाई लिन आउने व्यक्तिलाई बस्नका लागि बेन्चको व्यवस्था गरिएको छ । कार्गो लगायत कामका लागि छुट्टै काउन्टर निर्माण गरिएको छ । 

यसअघि जहाजबाट आएको सामान लिन जाँदा पास लिनुपर्ने र सुरक्षा जाँच पूरा गर्नुपथ्र्यो । अब त्यस्तो झण्झट हटेको छ । अब बाहिरैबाट आफ्नो सामान बुझ्न सकिने बनाइएको छ । २–३ महिनाभित्र यात्रुका सामान ओसार्नकालागि स्वचालित कन्भेयर बेल्ट जडान गर्ने तयारी गरेको छ । 

विमानस्थलको आन्तरिक टर्मिनल भवन बिस्तारकालागि डिजाइन तयार भइसकेको र छिट्टै ठेक्का प्रक्रिया खोल्ने तयारी छ । यो विमानस्थलबाट आन्तरिकतर्फ दैनिक १८ देखि २० वटा उडान हुँदै आएका छन् । बुद्ध एयरले पोखरा पनि उडान भर्दै आएको छ । 

बाँकी सबै उडान काठमाडौं केन्द्रित छन् । आन्तरिकतर्फ सन् २०२४ मा ८ लाख यात्रुले सेवा लिएका थिए । सन् २०२५ मा हालसम्म ६ लाख बढी यात्रुले सेवा लिइसकेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update