News 24 Television
जेन–जी आन्दोलन : पर्सामा क्षतिको ग्राफ अर्बौँको

पर्सा । जेन–जी आन्दोलनमा पर्सामा मात्रै पनि अर्बाैको क्षति भएको छ । आन्दोलन हिसांत्मक बनेपछि देशभरिका सरकारी तथा निजी संरचनाहरुमा आगजनी तथा तोडफोड हुँदा एक पलमै अर्बौंको धन क्षति भयो । 

पर्सामा अहिले कस्तो छ त क्षतिको विवरण ? पुनः लयमा आउन के कति समय लाग्ला ? २०६२\६३ साल पछिको जनआन्दोलनपश्चात नेपालमा सुशासन कायम हुने र विकासले गति लिने विश्वास नेपालीहरुमा पलाएको थियो ।

परिवर्तनका लागि अन्तिम लडाई भन्दै देशमा विकास हुने परिकल्पना गर्दै हजारौँ सर्वसाधारणले ज्यान पनि गुमाए । तर आन्दोलनको दशक भएतापनि व्यवस्था परिवर्तन भए तर अवस्था परिवर्तन हुन सकेन ।

युवाहरु विदेश पलायन हुदै गए, देशमा भ्रष्टाचारी, बेथिति मनलाग्दी भयो । पटक पटकको सत्ता परिवर्तनमा पुराना अनुहार र देशको विग्रदो अवस्थाले आजित जेन–जी युवाले अन्तत चुप्पी तोड्यो, जसको परिणाम अहिलेको प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार हो । 

गत भाद्र २३ गते युवाहरुको आन्दोलनमा राज्यले बल प्रयोग गर्दा त्यसको पछिल्लो दिन मुलुकमै हंगामा भयो । प्राय सबै सरकारी क्षेत्र ध्वस्त हुन पुगे । 

पर्सा जिल्लामा समेत जेनजी आन्दोलनले अर्बाैको क्षति भयो । हालसम्म तयार गरिएको क्षतिको विवरण अुनसार पर्सामा पूर्व मन्त्रीहरु राजकुमार गुप्ता, अजयकुमार चौरसियाको घर पूर्ण रुपमा क्षति भएको छ भने  वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, पूर्व मन्त्री प्रदिप यादव, संविधान सभा सदस्य तथा व्यापारी अनिल रुंगटा, पूर्व मुख्यमन्त्री लालबाबु राउत र जिरा भवानी गाउँपालिकाका अध्यक्ष अनुप तिवारीको घरमा आंशिक क्षति भएको छ ।  

यस्तै,  कांग्रेस र एमालेको पार्टी कार्यालय समेत पूर्ण रुपमा क्षति भएको छ । यस्तै मधेश प्रदेशका कृषिमन्त्री जनाद्र्धन सिंह क्षेत्रीको घरमा समेत तोडफोड भएको छ । यस्तै जिल्लाको सरकारी भवनहरुमा आन्तरिक राजश्व कार्यालय, नेपाल टेलिकम, वीरगञ्ज महानगरपालिका कार्यालय, वडा नम्बर १०, १४, २६, वीरगञ्ज कारागार कार्यालय, बाध सुधार गृह, जिरा भवानी गाउँपालिका कार्यालय, पोखरिया नगरपालिकाको कार्यालय, उच्च अदालत अस्थाई इजलास वीरगञ्जमा क्षति पु¥याएको जनाएको छ ।  

नेपाल टेलिकम वीरगञ्जले करिब ३ करोडको क्षति भएको जनाएको छ भने वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गर्दै  कार्यालयमा मात्रै १ अर्ब ११ करोड बराबरको क्षति भएको जनाएको छ । महानगरमा भएको क्षतिप्रति भावुक हुँदै वीरगञ्जका नगर प्रमुख राजेशमान सिंहले उक्त कार्य जेन–जीको नभई अराजक समूहरुको रहेको दाबी गरेका छन् । उनले  यु्वाहरुको जायज मागप्रति आफूहरुको समर्थन रहेको तर उक्त कार्य गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्  । 

यता मंगलबार वीरगञ्ज महानगरपालिकाको नगर परिषदको बैठकले आन्दोलनमा सहादत प्राप्त गरेका प्रति शोक प्रस्ताव पारित गर्दै आर्थिक वर्ष २०८२\८३ मा विनीयोजन गरेको बजेटलाई संशोधन गरि पूनःनिर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ । यस्तै, प्रदर्शनका कारण ९ वटा प्रहरी बिटमा क्षति पुगेको छ भने करिब १५ जना सुरक्षाकर्मी घाईते भएको र सबैको अवस्था सामाान्य रहेको छ । 

पर्सामा सुरक्षाकर्मीको सक्रियताले कैदीहरु भने भाग्न असफल भए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अथक प्रयासका कारण कारगार तोडन सफल भएपनि कैदीबन्दीहरु भाग्न सकेन्न । तर बालसुधार गहृबाट फरार भएका १ सय ४६ जनामध्ये ८८ जनालाई नियन्त्रणमा लिएको अन्यको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ । यद्दपि, अझै पनि क्षतिको पूर्ण विवरण आएको छैन। संकलन कार्य जारी छ । 

पर्सामा भौतिक संरचनाहरुमा ठूलो क्षति भएतापनि मानवीय क्षति नहुनु सबैभन्दा ठूलो उपलब्धी हो । यता, पर्सामा जेन–जी भन्दापनि व्यक्तिगत रिसबीका कारण यति धेरै क्षति हुन पुगेको वीरगञ्जका अगुवाहरुको आकलन छ । 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update