
ओखलढुङ्गा । ओखलढुंगाका धेरैजसो ग्रामिण भेगका नागरिक पानीको अभावले पिरोलिएका छन् । पिउन योग्य पानीको पहुँच निकै सीमित छ, र नयाँ स्रोतको खोजी निरन्तर जारी छ ।
यही क्रममा मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा जिल्लामै पहिलो पटक डिप बोरिङ मार्फत पानी निकाल्ने परीक्षण सफल भएको छ । जसले गर्दा स्थानीयमा उत्साहको लहरसँगै जनजीवनमा नयाँ आशा र सम्भावनाको ढोका खोलेको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलका स्थानीयको अनुहारमा अहिले उत्साह झल्किएको छ । कारण हो, गाउँमै पहिलो पटक डिप बोरिङमार्फत खानेपानी निकाल्न सफल हुनु ।
झण्डै २६ लाख लागतमा गाउँपालिका र वडाले मिलेर सुरु गरेको यो योजना टोक्सेलका लागि नयाँ आशा बनेको छ । आसपासमा प्राकृतिक धारा वा अन्य स्रोत नहुँदा यहाँका स्थानीय वषौँ देखिभरपर्दो खानेपानीको अभाव झेल्दै आएका थिए । तर अहिले जमिनमुनिबाटै डिप बोरिङ गरेर पानी निकाल्न सफल भएपछि स्थानीयवासीले सहज जीवनयापन गर्ने सम्भावना देखेका छन् ।
समुद्री सतहबाट १ हजार ७ सय भन्दा माथिको उचाईमा पर्ने टोक्सेलमा बोरिङको क्रममा ढुंगामाटो पार गर्न करिब दुई साता निरन्तर प्रयास गरिएको थियो । अनुभवी प्राविधिक टोलीले कठिन भू–गर्भीय अवस्थासँग जुध्दै निरन्तर काम ग¥यो । जसमा माटो, ढुंगा र पानीको सतहमा आउन नसक्ने चुनौतीहरू थिए । लगातारको मेहनत र अनुभवजन्य योजना अनुसार १४० फिटभन्दा तल पुग्दा पानीको स्थायी धार फेला परेको हो ।
टोक्सेल जस्तो भौगोलिक हिसाबले चुनौतीपुर्ण क्षेत्रमा डिप बोरिङ मार्फत पानी निकाल्ने काम ओखलढुंगाभरकै लागि पहिलो र परीक्षण चरणमै सफल भएको हो । हाल पानी निकाल्ने काम सफल भए पनि वितरण प्रणाली विस्तार गर्न भने केही समय लाग्नेछ ।
प्रारम्भिक परीक्षण रअन्य प्राविधिक काम सम्पन्न भएपछिटोक्सेलका ८० र आसपासका अन्य ३ सय भन्दा बढी घरधुरीमा पाइपलाइनमार्फत खानेपानी पु¥याउने योजना गाउँपालिकाको छ ।
टोक्सेलमा जमिनमुनीबाट पानी निकाल्ने प्रारम्भिक सफलता स्थानीय बासिन्दाका लागि मात्र होइन, ओखलढुंगाका अन्य ग्रामीण क्षेत्रमा पनि उदाहरणीय बनेको छ । कठिन भौगोलिक परिस्थिति र वषौँदेखि खानेपानीको अभाव झेल्दै आएका नागरिकका लागि यो परियोजनाले नयाँ आशा र जीवनस्तर सुधार्ने सम्भावना प्रस्तुत गरेको छ ।