News 24 Television
रौतहटमा आन्दोलनको प्रभाव, पुरानै लयतर्फ फर्किने प्रयास

रौतहट । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा रौतहटमा ४६ करोड ५२ लाख १० हजार ४ सय ६५ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । आन्दोलनको क्रममा सबैभन्दा बढि क्षति रौतहट जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकामा भएको छ । 

जेनजी आन्दोलनपश्चात भदौ २४ गते उग्र बनेको विद्रोहका कारण रौतहट जिल्लामा पनि करोडौंको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको जानकारी अनुसार अन्दोलनले रौतहटमा ४६ करोड ५२ लाख १० हजार ४ सय ६५ रुपैयाँ बराबरको संरचनामा क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । 

गएको २४ गते बिहान देखिनै जेन–जी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका प्रदर्शनकारीहरुको मृत्युको विरोधमा चन्द्रनिगाहपुरमा विद्यार्थी तथा स्थानियहरुले विरोध प्रदर्शन गरिरहेका थिए । बिस्तारै विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रदर्शनकारीहरुले चन्द्रपुर नगरपालिकाकाको कार्यालय तोडफोड तथा आगजनी गरे । 

नगरपालिका आगजनी पश्चात बिहान करिब १०ः३० बजेदेखि उनीहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आक्रमण सुरु गरेका थिए । ठुलो संख्यामा रहेका प्रदर्शनकारीले सो कार्यालयमा ढुङ्गामुढा गरेका थिए । सोही क्रममा उनीहरुले प्रहरीको महेन्द्रा स्कार्पियो सहित कार्यालय परिसरमा रहेका मोटरसाइकलहरुमा आगजनी गरेका थिए । 

प्रदर्शनकारीलाई नियन्त्रण लिनको लागि प्रहरीले ७१ राउण्ड हवाइफायर र ४३राउण्ड अश्रुग्यास प्रहार गरेतापनि भिड नियन्त्रणमा आएन र अन्ततःप्रहरी कार्यालय छाडेर पछि हट्न वाध्य भयो । प्रहरी पछि हटेपछि प्रदर्शनकारीहरुले कार्यालय भित्र पसेर तोडफोड तथा आगजनी गरेका हुन् । आगजनीबाट ध्वस्त कार्यालय पुर्ननिमार्णको लागि २५ गतेदेखि नै स्थानियले सक्रियता देखाएका थिए । प्रहरी बीनाको समाज कल्पना पनि गर्न नसकिने भन्दै आफुहरु पुर्ननिर्माणमा लागेको स्थानीय अगुवा बताउँछन् ।

कार्यालय पुर्ननिमार्णको लागि स्थानीयले आर्थिक सहयोग पनि उठाइरहेका छन् । सो क्रममा हालसम्म साढे सातलाख भन्दा बढि नगद सहयोग उठिसकेको छ । आर्थिक सहयोग बाहेक पनि दाताहरुले इट्टा, काठ, सिमेन्ट, बालुवा, सिसा लगायतका जिन्सी सामाग्रीहरु पनि सहयोग गरिरहेका छन् । 

देश, विदेशमा रहेका नेपालीहरुले यो अभियानमा सहयोग गरिरहेका छन् । आगलागीबाट क्षति पुगेको कार्यालयको सरसफाई गर्न स्थानीय तथा नेपाली सेनाले पनि श्रमदान गरे । 

उनीहरुले ३ दिन लगाएर सरसफाइ गरेका थिए । सरसफाइ लगतै पुर्ननिमार्णको काम सुरु भएको थियो । निमार्णको क्रममा केही समस्या आएपनि काम तिब्र गतिमा अघि बढिरहेको र अब चाँडैनै प्रहरीलाई हस्तान्तरण गरिने अभियान्ता बताउँछन् ।

आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक रुपाला बुङ सहित १९ जना प्रहरी घाइते भएका थिए । आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले रौतहटमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, रौतहट क्षेत्र नम्बर ४ का सासंद देव प्रसाद तिमल्सिना लगाएतका व्यक्तिगत घरमा पनि आजगनी, तोडफोड तथा लुटपाट गरेका थिए । यसैगरि, चन्द्रपुरस्थित सडक डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट , चन्द्रपुर, गरुडा, कटहरिया, मौलापुर र फतुवा बिजयपुर नगरपालिकामा पनि तोडफोड, आगजनी र लुटपाट भएका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाहेक जिल्लाप्रहरी कार्यालय, गौरसहित आठ वटा प्रहरी युनिटमा आगजनी र तोडफोड भएको छ । हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी कर्मचारीहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा शरण लिएर बसेका छन् । सो कार्यालयको प्राङ्गणमा टेन्ट गाँडेर सेवा सुचारु गरिरहेका छन् । 

प्रहरी दुःख सुखको साथी हुन् । प्रहरी बीनाको समाज अराजकता र अपराधले भरिएको हुन्छ भन्ने कुरा २४ गतेको घटनाले देखाएको छ । समाज व्यवस्थापनका प्रहरीको भूमिका अहम छ । सबैले यसपक्षलाई ध्यान दिनैपर्छ । 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update